स्याउ र ओखर खेती प्राथमिकतामा
सुर्खेत: कर्णाली प्रदेश सरकारले स्याउ तथा ओखरको उत्पादन बढाउन क्षेत्र विस्तार गर्न लागेको छ । गुणस्तरीय स्याउ तथा ओखर उत्पादन र बजारीकरणका लागि क्षेत्र विस्तार गर्न लागिएको हो ।
यो वर्ष प्रदेश सरकारले फलफूल क्षेत्र विस्तार कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको हो । यो कार्यक्रम नौलो भने होइन । अघिल्ला आर्थिक वर्षहरूमा पनि सरकारले यो कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यो वर्ष सात जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । साविक कर्णालीका पाँच जिल्लासहित दैलेख र रूकुमपश्चिममा स्याउ तथा ओखर क्षेत्र विस्तार कार्यक्रम कार्यान्वयन गर्न लागिएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । जिल्ला कृषि विकास कार्यालयमार्फत् कार्यक्रम कार्यान्वयन गरिनेछ । प्रत्येक जिल्लामा करिब दश÷दश लाखका दरले बजेट विनियोजन गरिएको छ ।
साविक कर्णालीका पाँच जिल्लामा स्याउ–ओखर विकास आयोजना सञ्चालन भइरहेको छ । दैलेख र रूकुमपश्चिमलाई पनि ओखर उत्पादनका लागि क्षेत्र विस्तार गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । पछिल्ला वर्षहरूमा किसानहरू अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । बाँझो जमिनलाई उपयोग, कृषकले उत्पादन गर्ने फलफूल खेतीलाई व्यवसायीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता कठायतले बताए । यो कार्यक्रमबाट कृषकले प्रत्यक्ष लाभ लिनेछन् । आवश्यक प्राविधिकको व्यवस्था गरिएको छ । साविक कर्णालीका कालीकोट, जुम्ला, डोल्पा, हुम्ला, मुगु तथा दैलेख र रूकुमपश्चिममा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।
सम्भाव्यता अध्ययनको आधारमा परियोजनाका लागि पालिकाहरू छनोट गरिनेछन् । प्राविधिकले उक्त स्थान फलफूल उत्पादनका लागि उपयुक्त भए–नभएको अध्ययन गर्नेछन् । सोही अध्ययनका आधारमा पालिका छनोट गरिने जनाइएको छ । कार्यक्रम कार्यान्वयनका लागि गत वर्ष पाँच करोड बजेट विनियोजन गरिएको थियो । केही वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिइएको छ भने यो वर्ष प्राविधिकले छनोट गरेका स्थानमा मात्र कार्यान्वयन हुनेछ । अघिल्ला वर्षहरूमा अनुमानका आधारमा कार्यक्रम कार्यान्वयन गर्दा लक्ष्य अनुरूपको प्रतिफल आउन सकेको थिएन ।
नाफा परियोजना कार्यान्वयन गरिने
कर्णालीका हिमाली जिल्लाहरूमा स्याउ तथा पहाडी भेगमा सुन्तला खेती रुचाएको पाइएको छ । प्रदेशमा विगतको तुलनामा हाल फलफूल खेतीको क्षेत्र बढेको मन्त्रालयले जनाएको छ । बजार पाउन सजिलो, नाफामूलक र फलफूलका लागि विभिन्न सरकारी अनुदानका कार्यक्रम राखिएकाले पनि यसतर्फ किसानहरूको आकर्षण देखिएको छ । संघीय सरकार र प्रदेश सरकारको साझेदारीमा कर्णालीमा ‘नाफा परियोजना’ कार्यान्वयन गर्न लागिएको छ । स्याउ, सुन्तलाजस्ता फलफूल खेतीमा ठूलो लगानी गरेर व्यावसायिक रूपमा गर्ने प्रचलन बढाउन मन्त्रालयले कार्यक्रम अघि सारेको हो ।
नाफा परियोजनाले पनि फलफूल खेती गर्ने किसानलाई प्रेरित गर्नेछ । साझेदारीमा कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता कठायतले बताए । क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत प्रदेश सरकारले रैथाने बाली प्रवद्र्धन, व्याज अनुदानका कार्यक्रम, प्राङ्गगारिक प्रवद्र्धन कार्यक्रम राखेको छ । यो कार्यक्रम गतवर्षबाट नै कार्यान्वयन गर्ने भनिएको थियो । कार्यालय र कर्मचारी व्यवस्थापन लगायतका कारणले कार्यक्रम कार्यान्वयन हुनसकेको थिएन । यो वर्षदेखि कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।
गत वर्ष साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्न एक करोड बजेट विनियोजन गरिएको थियो । यो वर्ष पनि सोही हाराहारीमा बजेट विनियोजन गरिएको छ । बजारीकरण राम्रो भएकाले पछिल्लो समय फलफूल खेती गर्नेहरूको संख्या पनि बढेको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायत बताउँछन् । उनका अनुसार स्याउ तथा अन्य फलफूल खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेशमा नाफा परियोजना कार्यान्वयन गर्न लागिएको छ । कर्णालीका दशवटै जिल्लामा फलफूल विकास परियोजना लागू गर्ने तयारी भइरहेको उनले जनाए । सम्भाव्यता अध्ययनको आधारमा परियोजनाका लागि पालिकाहरू छनोट गरिनेछन् । गतवर्ष कार्यक्रम कार्यान्वयन गर्ने भनिए तापनि यो वर्षबाट मात्र कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।
प्रकाशित मितिः २२ पुष २०८१, सोमबार ०६:०६
साझा बिसौनी ।