लागुऔषध नियन्त्रण गर्न प्रहरीको सक्रियता

जुम्ला: लागुऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले पछिल्लो एक सातामा लागूऔषध सम्बन्धी कसुरमा सात जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा एक हप्ताभित्र सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक छेदिलाल कामतिले जानकारी दिए । कार्यालयबाट खटिएको टोलीले सात जनासहित उनीहरूको साथबाट एउटा सवारी साधन, एक हजार ६ सय ८० मिलिग्राम प्रतिबन्धित लागूऔषध पक्राउ गरिएको उनले जनाए ।

पक्राउ पर्नेमा तातोपानी गाउँपालिका–५ का २९ वर्षका नन्दलाल सार्की, २० वर्षका पंकज सार्की, २० वर्षकै प्रवेश नेपाली छन् । यस्तै तातोपानी–६ का १८ वर्षका रोशन कठायत, सोही स्थानका १९ वर्षी सुरेन्द्र डाँगी पनि पक्राउ परेका छन् । सिंजा गाउँपालिका–२ का जीवन खत्री र चन्दननाथ–९ का अटो चालक सुनिल कामीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१÷०८२ मा लागु औषधसम्बन्धी १४ वटा मुद्दा दर्ता भएको र २८ जना प्रतिवादी पक्राउ परेको डिएसपि कामतिले बताए । जसमा ११ वटा ब्राउन सुगरसम्बन्धी, दुई वटा चरेस र एउटा ट्रामाडोलसम्बन्धी गरी १४ वटा मुद्दा दर्ता भएकोे उनले जानकारी दिए । गत आर्थिक वर्ष २०८०÷०८१ भित्र जुम्लामा जम्मा १६ वटा मुद्दा दर्ता भएकोमा यो वर्ष बढेको उनले बताए । लागु औषध नियन्त्रणका लागि जुम्लाका आठ वटै स्थानीय तहले किटको प्रयोगबाट लागू पदार्थ सेवनको जाँच गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मितिः   १५ पुष २०८१, सोमबार १३:०१