महायज्ञबाट साढे नौ करोड संकलन
सुर्खेत: कर्णाली प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माणका लागि सुर्खेतमा सञ्चालित महायज्ञबाट साढे नौ करोड बढी रकम संकलन भएको छ । आश्रमले गत मंसिर २१ देखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्ला मञ्चमा श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गरेको थियो । जसमा नौ करोड ७६ लाख ९२ हजार रूपैयाँ दान संकलन भएको मुल आयोजक समितिले जानकारी दिएको छ ।
महायज्ञबाट करिब पाँच करोड रकम संकलन हुने अपेक्षा गरिए पनि लक्ष्यभन्दा करिब दोब्बर बढी दान संकलन भएको महायज्ञ मुुल आयोजक समिति संयोजक डा. नवराज केसीले जानकारी दिए । ‘महायज्ञमार्फत हामीले समुदायलाई जोडेका छौँ, एक रूपैयाँदेखि एक करोडसम्म पनि दान गर्नुभएको छ,’ केसीले भने, ‘सबै मनकारीहरूको साथ पाएर होला लक्ष्यभन्दा करिब दोब्बर दान रकम संकलन भएको छ ।’
आयोजक समितिका कोषाध्यक्ष टिकाराम चपाइका अनुसार महायज्ञबाट एक करोड ९७ लाख ६६ हजार ६५ रूपैयाँ नगद, एक करोड ३३ लाख २७ हजार रूपैयाँ डिजिटल माध्यमबाट प्राप्त भएको छ । ३७ लाख ८८ हजार बराबरको चेक प्राप्त भएको छ । पाँच करोड चार लाख १६ हजार ३२ रूपैयाँ स्थानीय तह र विभिन्न संघ संस्थाहरूले प्रतिबद्धता गरेका छन् भने ५७ लाख ७९ हजार पाँच सय ८२ रूपैयाँ व्यक्तिगत प्रतिबद्धता गरेका छन् ।
महायज्ञको कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट मात्रै ४२ लाख ७४ हजार आठ सय ८२ रूपैयाँ संकलन भएको छ । दान पेटिकामा प्राप्त दान तीन लाख २६ हजार चार सय ५५ र किताब बिक्रीबाट १३ हजार तीन सय पाँच रूपैयाँ संकलन भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञको खर्च भने ५० लाख ७४ हजार ८७ रूपैयाँ भएको बताइएको छ । प्रचारप्रचार, यातायात, खाद्यान्न तथा भान्सा, विद्युत, इन्धन, अतिथि सत्कार खर्च भएको मुल आयोजक समितिले जनाएको छ ।
सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहेका थिए । उनले निःशुल्क कथा वाचन गरेका थिए । उक्त रकमबाट वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले प्रदान गरेका २९ बिघा जग्गा आश्रमको प्रदेश स्तरीय मानव स्मारक भवन निर्माण हुने छ ।
आश्रमको भवन निर्माणका लागि नौदेखि ११ करोड रूपैयाँ लाग्ने अनुमान छ । ‘सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव थिएन । अहिले समाजको पूँजी पनि जुटेको’, केसीले भने, ‘अबको दुई÷तीन महिनामै भवन निर्माण कार्य अगाडि बढ्छ ।’ भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभइ मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको समेत स्थापना गरिने केसीले बताए ।
कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा एक करोड रूपैयाँ दिने घोषणा गरेको छ । मानव सेवा आश्रमले एउटा छुट्टै विकास समिति गठन गर्ने र उक्त समितिले नै भवन निर्माण कार्य सम्पन्न गर्ने बताएको छ ।
प्रकाशित मितिः १५ पुष २०८१, सोमबार १२:५८
साझा बिसौनी ।