दलहरूको ‘टार्गेट’ वीरेन्द्रनगर

सुर्खेत, २१ वैशाख ।
स्थानीय तहको निर्वाचनका लागि मतदानको दिन नजिकिंदै गर्दा दलहरू नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । प्रदेश नम्बर ६ का १० वटै जिल्लामा चुनावको रौनकले माहोल नै तातिएको छ । तर पनि यहाँका दलहरूले वीरेन्द्रनगरको चुनावलाई मुख्य टार्गेट बनाउँदै जित्नका लागि सम्पूर्ण शक्ति लगाएका छन् ।
यो प्रदेशको सम्भावित राजधानीको रूपमा चर्चा पाएको वीरेन्द्रनगर नगरपालिको चुनावलाई दलहरूले मुख्य टार्गेट बनाएका छन् । ६ नम्बर प्रदेशको सबैभन्दा ठूलो र सम्भावित राजधानीको समेत चर्चा चलेका कारण पनि दलहरूले वीरेन्द्रनगरको चुनावलाई प्रतिष्ठाको रूपमा लिएका हुन् । वीरेन्द्रनगरको चुनाव जितेमा समग्र प्रदेशभरी नै पार्टीको शक्ति मापन हुने र सकारात्मक सन्देश प्रवाह हुने दलहरूको निश्कर्ष छ । यही कारण पनि यो प्रदेशमा दलहरूले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको चुनावलाई मुख्य टार्गेट बनाएका छन् ।
प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले वीरेन्द्रनगरको नेतृत्व हात पार्नका लागि सबै शक्ति केन्द्रित गरेका छन् । वीरेन्द्रनगरको नेतृत्व हात पारे प्रदेशभरी नै पार्टीको साख जोगिने निश्कर्षमा दलहरू पुगेका छन् । नगरको नेतृत्व हात पार्नका लागि ठूला पार्टीका केन्द्रीय नेतृत्वले नै कसरत गरिरहेका छन् । माओवादी केन्द्रले यो प्रदेशमा सबैभन्दा पहिला गत चैत ११ गते नै केन्द्रीय नेताहरूको रोहवरमा मेयर र उपमेयर घोषणा ग¥यो । माओवादीका केन्द्रीय सदस्य टोपबहादुर दर्लामी भन्छन्, ‘हामीले केन्द्रीय सदस्य रत्नबहादुर गाहालाई मेयरको उम्मेदवार बनाएका छौं, हामीले सबै तहमा जित्नेगरी कसरत गरेका छौं । तर पनि मुख्य टार्गेट वीरेन्द्रनगरमा हो, यहाँको चुनाव जिते प्रदेशभरी नै सकारात्मक सन्देश प्रवाह हुनेछ ।’
एमालेले यसअघि भएका दुवै स्थानीय चुनावमा वीरेन्द्रनगरमा जितेको थियो । तर दोस्रो संविधानसभामा दुई गुटमा चुनाव लडेपछि एमालेभित्र समस्या देखिएको थियो । त्यही समस्याका कारण एमालेले उम्मेदवार छनौटमा निकै कसरत गर्नुप¥यो । पार्टीलाई एकताबद्ध बनाएर नगरको नेतृत्व गुम्न नदिन एमालेले पूर्वमेयर बालाराम शर्मालाई नै अगाडि सारेको छ । शर्माको नाममा पार्टीका सबै नेताहरू सहमत भएकाले चुनाव जित्ने एमालेको दावी छ । वीरेन्द्रनगरमा पार्टीको साख कायमै राख्न एमालेको केन्द्रीय नेतृत्वले नै उम्मेदवार बन्न आग्रह गरेपछि शर्माले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । वीरेन्द्रनगरको चुनाव जित्न एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेलसहितका केन्द्रीय नेताहरू नै खटिएका छन् ।
नगरको चुनाव जित्नैपर्ने निश्कर्षमा पुगेको कांग्रेसले अन्तिम समयमा मात्र उम्मेदवारको टुङ्गो लगायो । पार्टीभित्र निकै विवाद भएपछि केन्द्रीय सदस्य पूर्णबहादुर खड्का र सहकारी मन्त्री हृदयराम थानीसहितको उपस्थितिमा कांग्रेसले वीरेन्द्रनगरमा उम्मेदवार छनौट गरेको थियो । कांगे्रसले नगर सभापति देवकुमार सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । दुई धारमा विभाजित कांग्रेस कार्यकता समेत नेतृत्वले वीरेन्द्रनगरको चुनाव कुनै पनि हालतमा जित्नुपर्ने बाध्यता रहेको भनेपछि सुवेदीको नाममा सहमत भएका हुन् । नगरको चुनाव जित्नका लागि कांग्रेसले पनि सबै शक्ति केन्द्रित गरेको छ । कांगे्रसका केन्द्रीय नेता र मन्त्री नै नगरको नेतृत्व हत्याउनका लागि अन्तिम कसरत गरिरहेका छन् । प्रादेशिक राजधानीको चर्चाले पनि दलहरूले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा भन्दा वीरेन्द्रनगरलाई बढी महŒव दिएका छन् ।
‘पार्टीका लागि त सबै स्थानको चुनाव उत्तिकै महŒवपूर्ण छ, जतिसक्यो धेरै स्थानमा जित्ने गरी लागेका छौं’ एमाले सुर्खेतका सचिव मोहन बडुवालले भने, ‘वीरेन्द्रनगर अब प्रदेशको राजधानी हो, यहाँको चुनाव जित्नु पार्टीका लागि प्रतिष्ठाको विषय नै हो । प्रदेशको केन्द्र भएकाले पनि पार्टीले वीरेन्द्रनगरलाई बढी महŒव दिएको हो, यहाँ विजयी हुँदा प्रदेशभरी नै उत्साह बढ्नेछ ।’ वीरेन्द्रनगरमा मेयरका लागि १३ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । राप्रपाले ईश्वर श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ । उम्मेदवारले आफ्नो मुख्य एजेण्डाको रूपमा नै वीरेन्द्रनगरलाई प्रदेशको राजधानी बनाउने विषयलाई अगाडि सारेका छन् । सम्भावित प्रादेशिक राजधानी बन्ने नगर भएकाले पनि वीरेन्द्रनगर दलहरूको मुख्य प्राथमिकतामा पर्नु स्वभाविक नै भएको सर्वसाधारणको भनाइ छ । मतदानको दिन नजिकिंदै गर्दा दलका केन्द्रीयदेखि जिल्ला नेताहरूसमेत वीरेन्द्रनगर केन्द्रित बनेका छन् ।

प्रकाशित मितिः   २२ बैशाख २०७४, शुक्रबार १६:२१