एमालेको प्रतिबद्धताः दलित र भूमिहीनलाई आवास

सुर्खेत, २१ वैशाख ।
नेकपा एमाले सुर्खेतले सम्पूर्ण दलित, भूमिहीन र बाढीपीडितहरूका लागि आवासको व्यवस्था गर्ने योजनासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एमाले वीरेन्द्रनगरले बिहीवार प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
एमालेले ११ वटा शीर्षकमा विभिन्न योजनाहरू मतदातामाझ लिएर जाने भएको छ । जसलाई प्रतिबद्धतापत्रमा समेटिएको छ । ‘स्थानीय सरकार एमालेको साथमा, बजेट र विकास जनताको हातमा’ भन्ने नाराका साथ एमालेले भौतिक पूर्वाधार निर्माणलाई जोड दिएको छ । वीरेन्द्रनगरको गुरुयोजनाको पुनरावलोकन गरी निर्माण र कार्यान्वयन गर्ने, नगरका सम्पूर्ण सडकको स्तरोन्नति गर्ने, सुविधा सम्पन्न बहुउद्देश्यीय सीटी हल लगायतका पूर्वाधार निर्माण गरी वीरेन्द्रनगरलाई प्रदेश नम्बर ६ को राजधानी बनाउने एमालेको प्रमुख एजेण्डा रहेको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमालेका पोलिटब्यूरो सदस्य एवम् प्रदेश नम्बर ६ का संयोजक यामलाल कँडेलले बताए ।
त्यसैगरी सम्पूर्ण दलितहरूको एकीकृत आवास निर्माण गर्ने, नगरभित्र रहेका भूमिहीन जनताका लागि एकीकृत घर निर्माण गर्ने र बाढीपीडितहरूलाई यथाशीघ्र आवासको व्यवस्था गर्ने, अति विपन्न गन्दर्भ, वादी र हुड्के समुदायको स्वास्थ्य, शिक्षा र रोजगारीलाई विशेष जोड दिइने प्रतिबद्धता एमालेको छ ।
घरेलु, कुटिर र साना उद्योगलाई प्राथमिकता दिने, सुर्खेत औद्योगिक क्षेत्रको क्षमता विस्तार तथा प्रस्तावित जडिबुटी प्रशोधन केन्द्रलाई यथाशीघ्र कार्यान्वयन, निर्यातमुखी उत्पादनमा जोड, युवा स्वरोजगारलाई प्रोत्साहन, आयआर्जनमूलक तालिमको व्यवस्था गरिने जनाइएको छ ।
भेरीको पानी वीरेन्द्रनगर ल्याइने वीरेन्द्रनगरको खानेपानीको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि भेरीको पानी सदुपयोग गर्ने योजना एमालेले अघि सारेको छ । झुप्रा बृहत खानेपानीको क्षमता अभिवृद्धि गर्नुका साथै भेरीको पानी लिफ्टद्वारा तानेर वितरण गरी नगरलाई स्वच्छ पिउने पानीको व्यवस्था गरिने बताइएको छ । परम्परागत रूपमा प्रयोग हुँदै आएका साना–ठूला पानीका मुहानहरूको संरक्षण र संवद्र्धन गर्ने एमालेको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
कृषि र पशुपालन पनि प्राथमिकतामा
एमालेले कृषि तथा पशुपालनलाई पनि प्राथमिकतामा राखेको छ । शीतभण्डार निर्माण गर्ने, कृषि र पशुउत्पादनमा आधारित उद्योगलाई सहकारीमुखी बनाउने, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न बीऊ, बिजन, प्रविधि, सिँचाइ र मलको सुलभता गरिने, गर्पन, रतु र गढीमा उच्च मूलवस्तुको उत्पादन क्षेत्र बनाएर सहकारीकरणमा ल्याइने जनाइएको छ ।
केबुलकारको सम्भाव्यता अध्ययन
एमालेको प्रतिबद्धतापत्रमा भएको अर्को महŒवपूर्ण क्षेत्र हो, पर्यटन । पर्यटन विकासकै आधारको रूपमा केबुलकार सञ्चालनलाई पनि समेटिएको छ । गढी, रतु र गर्पनमा केबुलकार सञ्चारको सम्भाव्यता अध्ययन तथा भ्यू टावर निर्माण गर्ने जनाइएको छ । यस्तै बुलबुले उद्यानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, क्षेत्रीय संग्रहालयको क्षमता विस्तार, प्याराग्लाइडिङको विकास, काँक्रेविहारको पुनर्निर्माण गरी काँक्रेविहार जंगललाई प्राकृतिक चिडियाखाना बनाइ नगरको प्रमुख पर्यटकीय स्थल बनाउने, देउतीबज्यै, लाटीकोइली, जलेस्वर, गढी, रतु, थर्पन, सिद्धपाइला, गिरीघाट, घण्टाघर, राम्रीकाँडा, बयलकाँडा जस्ता स्थललाई पर्यटकीय स्थलको रूपमा विकास गरिने जनाइएको छ ।
माध्यमिक तहको अध्ययन निःशुल्क
नगरका सबै शैक्षिक संस्थामा ई–लाइब्रेरीको व्यवस्था, नगरलाई शैक्षिक केन्द्रको रूपमा विकास, आधारभूत तहको शिक्षालाई अनिवार्य र माध्यमिक तहलाई निःशुल्क बनाइने घोषणा एमालेले गरेको छ । मध्यपश्चिम क्षेत्रीय अस्पतालको स्तरोन्नति गर्ने, सुविधा सम्पन्न खेलकुद कभर्डहल निर्माण गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा भाग लिएर नगरको ख्याती कमाउन सहयोग गरेका खेलाडीहरूलाई सम्मान र पुरस्कार प्रदान गर्ने, उपयुक्त स्थल पहिचान गरी क्रिकेट खेल मैदान निर्माण गर्ने, सुर्खेत रंगशालाको स्तरोन्नति गर्ने र गुरुयोजना अनुसार विकास गर्ने, वडामा रहेका सहरी स्वास्थ्यचौकीलाई डक्टरसहितको सुविधायुक्त बनाइने बताइएको छ ।
सुरक्षाभत्ता घरदैलोमा पु¥याइने
सामाजिक सुरक्षा अन्तर्गत सुरक्षा भत्ता घरदैलोमा नै पु¥याउने व्यवस्था गर्ने, स्वरोजगार, पुनस्र्थापना र सुधारका कार्यक्रमहरू ल्याउने, वृद्ध, अशक्त तथा बालबालिकाहरूका लागि आश्रमको व्यवस्था गर्ने, बालश्रमरहित नगर निर्माण गर्ने लगायतका योजना अघि सारिएको छ ।
त्यसैगरी सबै प्रकारका द्वन्द्वपीडित, एकल महिला, विशिष्ट पहिचान भएका, ज्येष्ठ नागरिक, असहाय, अनाथ, दलित, गरीब, जनताको विकासका लागि पहिचानका आधारमा प्राथमिकता दिने बताइएको छ ।

प्रकाशित मितिः   २२ बैशाख २०७४, शुक्रबार १६:१९