स्थानीय तह निर्वाचन, सुर्खेतमा दुई हजार बढी उम्मेदवार

सुर्खेत, २० वैशाख ।
पहिलो चरण अन्तर्गत वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा दुई हजार भन्दा बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा दुई हजार ५६ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकामा मनोनयन दर्ता भएको छ । वीरेन्द्रनगरको प्रमुख (मेयर)का लागि तीन जना स्वतन्त्र उम्मेदवारसहित १३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमा १० वटा दलका उम्मेदवार छन् भने गेहेन्द्रप्रसाद दहाल, खडानन्द लामिछाने र मिलन थापा मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपमेयरमा एक जना स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी दर्ता भएको छ । भोजप्रसाद चपाईंले स्वतन्त्र रूपमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै वडा अध्यक्षमा तीन जना स्वतन्त्रसहित ९३ जना, खुला सदस्यमा एक स्वतन्त्रसहित एक सय ४६ जना, महिला सदस्यमा ७६, दलित महिला सदस्यमा ६७ गरी चार सय ६ जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
गुर्भाकोट नगरपालिकामा दुई सय ५१ जनाको मनोनयन दर्ता भएको छ । मेयरमा ६ जना, उपमेयरमा चार जना, वडा अध्यक्षमा ५१ जना, महिला सदस्यमा ५० जना, दलित महिला सदस्यमा ४५ जना र खुला सदस्यमा ९५ जना छन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा पाँच जना, उपाध्यक्षमा पाँच जना, वडा अध्यक्षमा २९ जना, महिला सदस्यमा २५ जना, दलित महिला सदस्यमा २५ जना र खुला सदस्यमा ५१ गरी जम्मा एक सय ४० जनाको मनोनयन दर्ता भएको छ ।
चिङ्गाड गाउँपालिकामा अध्यक्षमा चार जना, उपाध्यक्षमा चार जना, वडा अध्यक्षमा २१ जना, महिला सदस्यमा १८ जना, दलित महिला सदस्यमा १८ जना, खुला सदस्यमा ३८ जनासहित जम्मा एक सय ३ जना रहेका छन् । पश्चिमको एक मात्र नगरपालिका पञ्चपुरी नगरपालिकामा दुई सय ५९ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसको मेयरमा १३ जना, उपमेयरमा नौ जना, वडा अध्यक्षमा ५८ जना, महिला सदस्यमा ४६ जना, दलित महिला सदस्यमा ३९ जना र खुला सदस्यमा ९४ जनाले उम्मेदवारी दिएका हुन् ।
लेकवेशी नगरपालिकाको मेयरमा ६ जना, उपमेयरमा ६ जना, वडा अध्यक्षमा ४१ जना, महिला सदस्यमा ३९ जना, दलित महिला सदस्यमा ३५ जना र खुला सदस्यमा ७२ जना गरी जम्मा एक सय ९९ जनाको उम्मेदवारी परेको छ । भेरीगंगा नगरपालिकामा मेयर र उपमेयरमा पाँच÷पाँच जना, वडा अध्यक्षमा ५५ जना, महिला सदस्यमा ४५ जना, दलित महिला सदस्यमा ४४ जना र खुला सदस्यमा ९९ जना उम्मेदवार रहेका छन् ।
बराहताल गाउँपालिकाको अध्यक्षमा १० जना, उपाध्यक्षमा ६ जना, वडा अध्यक्षमा ४७ जना, महिला सदस्यमा ४० जना, दलित महिला सदस्यमा ३४ जना र खुला सदस्यमा ७५ जना गरी जम्मा दुई सय १२ जना उम्मेदवारले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले जानकारी दिईन । उनका अनुसार पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा दुई सय ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

२८ गतेदेखि परिचय–पत्र वितरण

स्थानीय तहको निर्वाचनका लागि मतदाता परिचयपत्र वैशाख २८ गतेबाट वितरण गरिने भएको छ । सुर्खेतका जिल्ला निर्वाचन अधिकारी सुनिता थापाका अनुसार वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदाता परिचयपत्र वितरण गरिनेछ । हरेक दिन बिहान ७ बजेदेखि वितरण सुरु हुने भन्दै उनले आफ्नो मतदान केन्द्रबाट मतदाता परिचयपत्र लैजान उनले सबैलाई आग्रह गरिन् ।
निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको थापाले जानकारी दिइन् । मतपत्रदेखि मतपेटिकाहरू समेत सबै जिल्लामा आइसकेको र केही दिनभित्रै मतदान केन्द्रमा पुगिसक्ने उनले जनाइन् । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सबै प्रयास गरिएको भन्दै यस कार्यमा सहयोग गर्न समेत उनले सबैसँग आग्रह गरिन् । साथै निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लघंनको अवस्थाबारे मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको समितिले अनुगमन गरिरहेको पनि थापाले बताइन् ।

प्रकाशित मितिः   २१ बैशाख २०७४, बिहीबार १६:१२