९० वटा झोलुङ्गे पुल निर्माण गरिने
सुर्खेत: चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधिन योजना रहेको र कतिपय अहिले थप भएका पुल रहेको प्रदेश सरकारले जनाएको छ ।
पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । जसअनुसार यो वर्ष ९० वटा नयाँ पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ । भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाई दुरीभित्र पहुँच सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।
चालु आर्थिक वर्षमा पुल निर्माणका लागि प्रदेश सरकारले २० करोड ५० लाख बजेट विनियोजन गरेको छ । यो वर्ष ४२ वटा नयाँ पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गरिएको मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए । उनका अनुसार पुल निर्माणका लागि यो वर्ष २० करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
अहिलेसम्म कम्तीमा प्रत्येक आधा घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेको उनले बताए । सरकारले एक घण्टाको फेरो (पैदल यात्रा गर्ने दूरी) मा झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा घण्टामा हुने गरी पुल निर्माणको काम गरिरहेको छ । नागरिकले सजिलै र छिटो सेवासुविधा पाउनुपर्ने मान्यताका आधारमा पुल निर्माण गर्न लागिएको कार्कीले बताए । उनले भने, ‘पहिलेको मापदण्डअनुसार नै अझै केही बनाउन बाँकी छ ।’
प्रदेश सरकारले खास गरी ग्रामीण क्षेत्रमा नागरिकलाई नदी पार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको छ । सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । नागरिकलाई आवतजावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समयमा पर्यटन प्रवद्र्धनको माध्यमसमेत बन्दै गएको पाइएको छ ।
प्रत्येक वर्ष निरन्तरता
प्रदेश सरकारले प्रत्येक वर्ष पुल निर्माण गरिरहेको छ । प्रदेश सरकार, संघीय सशर्त अनुदानमार्फत् कर्णाली प्रदेशका दश जिल्लामा पुल निर्माण भइरहेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका थिए । उक्त वर्ष ९४ वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ७७ वटा पुल निर्माण भएको थियो भने आर्थिक वर्ष २०७९÷०८० मा एक सय सात वटा पुल निर्माण गरिएको भौतिक मन्त्रालयले जनाएको छ । नागरिकलाई सहज रूपमा कम जोखिमपूर्ण यात्रा होस् भनेर प्रदेश सरकार स्थापना भएपछि नै निरन्तर पुल निर्माणमा लागिरहेको हो । यो वर्ष पनि ४२ नयाँ पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता भइसकेको मन्त्रालयले जनाएको छ । ‘हामीले निरन्तर रूपमा मन्त्रालयअन्तर्गत हरेक वर्ष पुलहरू निर्माण गर्दै आइरहेका छौँ’ मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले भने, ‘यो वर्ष पनि पुल निर्माणलाई तीव्रता दिइएका छौँ ।’ यो वर्ष पनि ९० पुल निर्माण गर्ने लक्ष्य लिएको उनले बताए । जसमध्ये ४२ वटा नयाँ पुलको स्रोत सुनिश्चितता भएको छ ।
प्रकाशित मितिः १४ पुष २०८१, आईतवार ०६:०६
साझा बिसौनी ।