चिस्यान केन्द्र
कर्णाली प्रदेश सरकारले निर्माण गरिएका चिस्यान केन्द्र सञ्चालन गर्ने नीति अबलम्वन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर निर्माण गरिएका चिस्यान केन्द्रको मर्मत गरेर सञ्चालन गर्ने नीति लिएको हो । सरकारले फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरेको छ । अघिल्ला वर्षहरूमा भवन निर्माण गरिएतापनि सञ्चालनमा आउन सकेका छैनन् । प्रदेश सरकारको लगानीमा चार ठाउँमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरिएको छ । प्रदेश सरकारको ७० प्रतिशत लगानीमा कोल्ड स्टोर बनेका हुन् । सुर्खेतका तीन पालिका र दैलेखमा गरी चार वटा कोल्ड स्टोर निर्माण गरिएको हो । सरकारको नीति अनुरूप चिस्यान केन्द्र सञ्चालन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयको ७० प्रतिशत र सहकारी संस्थाहरूको ३० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माण गरिएको छ । दैलेखको नारायण नगरपालिकामा सोमवारदेखि चिस्यान केन्द्र सञ्चालन गरिएको छ । प्रदेश सरकारको करिब दुई करोड लागनीमा चिस्यान केन्द्र निर्माण गरिएको हो । आर्थिक वर्ष २०७७/०७८ देखि चिस्यान केन्द्रको भवन निर्माणको काम थालिएको थियो । आ.व. २०७९/०८० मा मात्र चिस्यान केन्द्रको भवन निर्माणको काम सकिएको हो । यो वर्षदेखि प्रदेश सरकारले बनेका भवन मर्मत गरेर सञ्चालन गर्ने जनाएअनुरूप चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ । यसैगरी वीरेन्द्रनगरमा चिस्यान केन्द्र सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न कोल्डस्टोर सञ्चालन गरिएको हो । कृषि विकास निर्देशनालय सुर्खेतको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ लाटीकोइलीमा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो । दुई सय मेट्रिक टन भार क्षमताको कोल्ड स्टोर सञ्चालनमा आएको हो । पाँच सय मेट्रिक टन भार क्षमताको विस्तार गरेर प्रदेशस्तरीय बनाउने लक्ष्य राखिएको भएपनि हाल दुई सयबाट सेवा सुरु गरिएको छ । पहिलो चरणमा आलु र दोस्रो चरणमा स्याउ भण्डारण गरिएको र अहिले सुन्तला भण्डारणका लागि तयारी थालिएको छ ।
पूर्वी सुर्खेतको गुर्भाकोटमा समेत चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषिजन्य उत्पादनलाई बढावा दिन कर्णाली प्रदेश सरकारको लगानीमा गुर्भाकोट नगरपालिका वडा नं. ९ बोटेचौरमा चिस्यान केन्द्र निर्माण गरिएको हो । ८५ मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । यसैगरी पूर्वी सुर्खेतको भेरीगंगामा चिस्यान केन्द्र (कोल्ड स्टोर) पुनःसञ्चालनमा आएको छ । विद्युत अभावले सञ्चालन हुन नसकेको उक्त कोल्ड स्टोर गतवर्षदेखि सञ्चालनमा आएको हो ।
प्रकाशित मितिः १२ पुष २०८१, शुक्रबार ०६:०३
सम्पादकीय ।