नजिकिंदै कांग्रेस अधिवेशन, को बन्ला जिल्ला सभापति ?

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ माघ । 
नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिंदै गर्दा सुर्खेतमा नेतृत्वका लागि समेत चर्चा सुरु भएको छ । गाउँ तथा नगर अधिवेशन हुनु अघिदेखि नै जिल्ला नेतृत्वका लागि चर्चा चल्न थालेको हो । यसपटक सुर्खेत कांग्रेसको नेतृत्व हात पार्नका लागि आधा दर्जन भन्दा बढी व्यक्तिहरूले आकांक्षा देखाएका छन् ।
गाउँ तथा नगर अधिवेशनमै आफ्नो पकड जमाउन गुटगत अभ्यास सुरु भइसकेका कारण जिल्ला अधिवेशनमा पनि दुई वटा खेमा हुने करिब निश्चित प्रायः छ । अघिल्ला अधिवेशनहरूमा जस्तै यस पटक पनि संस्थापन र देउवा खेमामा कांग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्ताहरू विभाजित भएका छन् । यतिबेला दुवै पक्ष गाउँदेखि क्षेत्रीय र जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्ने कसरतमा होमिएका छन् । 
जिल्ला सभापतिका लागि हाल आधा दर्जन बढी नेताहरूको नाम चर्चामा छ । वर्तमान कार्यवाहक सभापति उपेन्द्रबहादुर थापा, क्षेत्र नं. २ का सभापति कमलराज रेग्मी, क्षेत्र नं. ३ का सभापति यज्ञबहादुर बिसी, नेता कालीप्रसाद शाक्य, डम्मर जिसी र नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सहमहामन्त्री टोपबहादुर रावतको नाम जिल्ला सभापतिको चर्चामा छ । जिल्ला सभापतिमा आधा दर्जन बढी नेताहरूको नाम चर्चामा आए पनि क्षेत्र नं. २ का सभापति रेग्मी र क्षेत्र नंं. ३ का सभापति बिसीलाई बलिया उम्मेदवारको रूपमा कांग्रेसवृत्तमा चर्चा भइरहेको छ । रेग्मी संस्थापन पक्षका हुन् भने उनी जिल्ला राजनीतिमा संस्थापन पक्षको नेतृत्व गर्ने सांसद हृदयराम थानीको सबैभन्दा नजिकको विश्वास पात्र समेत भएको जनाइन्छ । त्यसकारण पनि उनलाई यसपाली जिल्ला सभापतिको बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।
यस्तै बिसीलाई पनि जिल्ला सभापतिका लागि बलियो उम्मेदवारको रूपमा लिइएको छ । यसअघि देउवा पक्षका मानिने बिसी पछिल्लो समय संस्थापन पक्षको खेमामा पुगेको कांग्रेस निकट स्रोतले जनाएको छ । यद्यपि खड्का खेमाले पनि उनलाई आफ्नै क्याम्पमा राख्नका लागि प्रयास गरिरहेको छ । स्रोतका अनुसार बिसीलाई सांसद एवम् वर्तमान पार्टी सभापति तप्तबहादुर विष्टको साथ रहेको छ । आफै पुनः सभापति बन्ने मनस्थिति बनाएका विष्ट केन्द्रले नै दुई कार्यकाल सभापति भइसकेका व्यक्ति पुनः उम्मेदवार बन्न नपाइने निर्णय गरेपछि उनले बिसीलाई अघि सारेको बुझिएको छ । विष्ट निकट स्रोतले दिएको जानकारी अनुसार आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि पनि विष्टले बिसीलाई सभापतिका लागि अघि सारेका हुन् । क्षेत्र नं. ३ कै बिसीलाई जिल्ला सभापतिको जिम्मेवारी दिएर विष्ट संसदीय निर्वाचनमा आफूलाई एक्लो उम्मेदवार बनाउन चाहन्छन् । जसका लागि उनले बिसीलाई सभापति बनाउने गरी लविङ थालेको स्रोतको दाबी छ । अर्कोतर्फ बिसीले लामो समयदेखि नेता पूर्णबहादुर खड्का खेमाको नजिक रहेर काम गर्दै आएकाले पनि उनलाई नै सभापतिका लागि अगाडि सार्ने तयारी खड्का पक्षले गरेको छ । 
यदि स्रोतको दाबी अनुसार अधिवेशनको अन्तिम चरणसम्म पनि अहिलेको अवस्था र समीकरण कायमै रहे बिसी नै सभापतिका लागि बलिया उम्मेदवार हुनेछन् । तर, संस्थापन पक्षले अहिलेसम्म रेग्मीलाई नै सभापतिको लागि अगाडि सार्ने तयारी गरेको छ । उनलाई सभापति बनाउनका लागि नेता थानीले लविङ गरिरहेको उनी निकट स्रोतले बतायो । यस्तै वर्तमान कार्यवाहक सभापति उपेन्द्रबहादुर थापा सभापति पदका लागि स्वभाविक उम्मेदवार हुन् । सभापति तप्तबहादुर विष्ट सभासद्मा निर्वाचित भएपछि थापालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो । थापा संस्थापन पक्षका हुन् । त्यसैगरी पार्टी नेतृत्व अब युवाहरूले पाउनुपर्ने भन्दै नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री टोपबहादुर रावतले पनि सभापति पदका लागि आकांक्षा देखाएका छन् । रावतले सभापति पदमा दाबी गरे पनि टिमको सल्लाह अनुसार उम्मेदवारी दिने र पदाधिकारी भित्र नै उनी सुरक्षित हुने स्रोतको दाबी छ । स्रोतका अनुसार पूर्वसभापति डम्मर जिसी भने सर्वसम्मत् रूपमा आफू सभापति बन्ने दाउमा लागेका छन् । यस्तै जिल्ला सभापति पछिको वीरेन्द्रनगरको नगरसभापतिमा भने संस्थापन पक्षबाट देवकुमार सुवेदी र देउवा पक्षबाट ललित भट्टराईको नाम चर्चामा रहेको छ । सुर्खेत कांग्रेसको राजनीतिलाई संस्थापन पक्षको नेतृत्व गर्ने हृदयराम थानी र देउवा खेमाको नेतृत्व गर्ने पूर्णबहादुर खड्काबीचको प्रतिस्पर्धाको रूपमा समेत हेर्ने गरिन्छ । दुवै पक्षले नेतृत्व आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । 
प्रकाशित मितिः   १४ माघ २०७२, बिहीबार ११:००