अपराधको ग्राफ
कर्णाली प्रदेशमा बलात्कारका घटना बढ्दो रूपमा रहेको पाइएको छ । प्रदेशमा दर्ता भएका मुद्दाको आधारमा हेर्दा प्रत्येक वर्ष बलात्कारका घटना बढ्दै गएको पाइएको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार बलात्कारका घटनामा वृद्धि भएको देखिएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८ देखि २०८१ सम्म (तीन वर्षमा) जबरजस्ती करणीका पाँच सय ६४ मुद्दा दर्ता छन् भने एक सय २४ वटा मुद्दा जबरजस्ती करणी उद्योगका छन् । बलात्कार प्रयास भएको उजुरीलाई प्रहरीले जबरजस्ती करणी उद्योगमा दर्ता गर्छ । प्रहरीको तथ्यांकले बर्सेनिरूपमा बलात्कारका मुद्दा अझै उकालो लागेको देखाउँछ । तथ्यांक हेर्दा बलात्कारसम्बन्धी घटना दिनहुँ बढ्दै गइरहेको देखिएको छ । चालु आर्थिक वर्षको हालसम्म ६० वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणी उद्योगसम्बन्धी १८ वटा मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८/०७९ मा जबरजस्ती करणीका एक सय ५० जटा, जबरजस्ती करणी उद्योगमा ४५ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/०८० मा जबरजस्ती करणीका दुई सय ६ र जबरजस्ती करणी उद्योगमा ४५ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा जबरजस्ती करणीसम्बन्धी दुई सय आठ वटा मुद्दा दर्ता भएका थिए भने जबरजस्ती करणी उद्योगसम्बन्धी ३४ मुद्दा दर्ता भएका थिए । महिलामाथि जघन्य प्रकारका अपराध भइरहेका छन् । हिंसाजन्य घटना नियन्त्रण हुन सकेको छैन । बलात्कारजस्ता बर्बर अपराध श्रृंखलाबद्ध रूपमा दिनप्रतिदिन बढ्दै गएका छन् । यस्ता घटनाले समाजलाई असुरक्षित बनाउँछ । महिला तथा बालिकाहरूले आफ्नै समाज सुरक्षित महसुस गर्न नसक्ने परिस्थितिको निर्माण हुँदैछ । महिलामाथि हुने हिंसाका प्रकृतिहरू फेरिँदै गएका छन् तर हिंसाको श्रृंखलामा भने कमी आउन सकेको छैन । हिंसाको रूप झन्झन् विकराल बन्दै गइरहेको छ । घरेलु हिंसाको चरम यातना खेप्दै आएका महिलाहरू पछिल्लो समय बलात्कार जस्तो जघन्य अपराधको सिकार बन्न थालेका छन् ।
कानुन कार्यान्वयनको अवस्था फितलो हुँदा बालिका र महिलामाथि बलात्कारका घटना बढ्दै गएका हुन् । पीडकबाट उल्टै धम्की आउँदा कतिपय घटना न्यायिक निकायसम्म पनि पुग्न सकेका छैनन् । बलाकारका घटना न्यूनीकरणमा सरकार उदासीन रहेको देखिन्छ । किनभने अपराधमा संलग्नहरू कारबाहीको भागिदार भएका घटना न्यून छन् । उसो त बलात्कारका घटना बढ्दै जानु कमजोर कानुन र फितलो अनुसन्धान मात्र पनि होइन । नैतिक शिक्षाको कमी र सामाजिक संरक्षणजस्ता कारणले पनि घटना बढ्ने गरेका हुन् । आपराधिक मानसिकता, गरिबी, अशिक्षा र प्रहरी तथा कानुनको सहज पहुँच नहुँदा महिला तथा बालिकाहरू बलात्कारको सिकार बन्ने गरेका छन् ।
प्रकाशित मितिः १ पुष २०८१, सोमबार १०:२९
सम्पादकीय ।