दीर्घरोगीलाई उपचारमा सहुलियत

सुर्खेत: नयाँ निर्देशिका जारी गरेर दीर्घरोगीहरूलाई सहुलियत दिने तयारी गरिएको छ । कर्णाली प्रदेश सरकारले ‘विपन्न नागरिक उपचार निर्देशिका’ २०८१ जारी गरेर उपचारमा सहुलियत दिने योजना बनाएको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर बिरामीहरूलाई उपचारमा सहुलियत योजना अघि सारिएको छ । मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर, स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीलाई मेजर अप्रेसन गर्दा मात्र उपचार सहुलियत दिन लागिएको हो । गत आर्थिक वर्षमा दीर्घरोगीहरूलाई यातायात सहायता खर्च दिने गरिएको थियो । चालु आर्थिक वर्षमा वास्तबिक र मेजर अप्रेसन गर्नुपर्ने बिरामीलाई मात्र केन्द्रित गरेर उपचारमा सहुलियत दिन लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो वर्षबाट मेजर अप्रेसन गर्नुपर्ने बिरामीलाई मात्र उपचार सहुलियत दिन लागिएको मन्त्रालयका प्रवक्ता वृषबहादुर शाहीले बताए । उनका अनुसार गत वर्षहरूमा जिल्लागत रूपमा उपचार सहुलियत दिने गरिएको थियो । जिल्ला–जिल्ला अनुसार फरक–फरक रकम दिइएको हो । दैलेख, सुर्खेत र सल्यानका बिरामीले २० हजार, जाजरकोट, कालीकोट, रुकुमपश्चिम र जुम्लाका बिरामीले २५ हजार र मुगु, डोल्पा र हुम्लाका बिरामीलाई ३० हजारका दरले यातायात सहुलियत दिने गरिएको उनले बताए । यो वर्ष नयाँ उपचार सहुलियत निर्देशिका जारी गरेर उपचार सहुलियत वितरण प्रर्णालीलाई प्रभावकारी बनाउन लागिएको हो ।

पछिल्लो समय क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका हुन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या धेरै रहेको निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले बताए । उनका अनुसार यो वर्ष क्यान्सर रोगको उपचार सहुलियतका लागि निर्देशिका जारी गरेपछि मात्र सेवा सुचारु गरिनेछ । अहिले मन्त्रालयले निर्देशिकाको मस्यौदा तयार पारेको छ । सोही निर्देशिका बमोजिम निर्देशनालयले सहुलियत रकम वितरण गर्नेछ । कम्तीमा प्रतिव्यक्ति एक लाखका दरले मेजर अप्रेसन सहुलियत दिने तयारी गरिएको छ ।

चालु आर्थिक वर्षमा क्यान्सर रोगीका बिरामीलाई उपचारमा सहुलियतका लागि एक करोड बजेट विनियोजन गरिएको छ । उक्त बजेट निर्देशनालयले कार्यान्वयन गर्नेछ । अन्य मुटु, मृगौला प्रत्यारोपण, स्पाइनल इन्जुरी, (प्यारालाइसिस) का बिरामीहरूलाई उपचारमा सहुलियतका लागि पनि एक करोड बजेट विनियोजन गरिएको छ । उक्त रोगका बिरामीले समेत मेजर अप्रेसन गर्नका लागि मात्र सहुलियत पाउनेछन् । गतवर्षहरूमा सामान्य यातायात खर्च मात्र व्यवस्थापन गर्ने गरेको प्रदेश सरकारले उपचारको प्रकृति अनुरूप बजेट बढाएर कार्यान्वयन गर्न लागेको छ ।

यसैबीच किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो । गत वर्ष प्रदेश अस्पताल सुर्खेतमा दुई चरणमा अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । एक प्रदेशमा एउटा अस्पतालमा खोप अभियान सञ्चालन गर्ने सरकारको नीति अनुरूप खोप सञ्चालन गरिएको हो ।

यो वर्ष प्रत्येक विद्यालयहरूमा खोप सञ्चालन गर्न लागिएको निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले बताए । अभियानअन्तर्गत देशैभरी सातदेखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरीलाई निःशुल्क खोप लगाइने छ । हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको छ । सन् २०२२ मा मुलुकमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकोमा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरेक वर्ष एक हजार पाँच सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

 

कर्णालीमा क्यान्सर रोग बढ्दो

कर्णालीमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । प्रदेश अस्पताल सुर्खेतमा दैनिक तीन÷चार जनामा क्यान्सर रोग देखा पर्ने गरेको छ । दैनिक चेकजाँचका क्रममा तीन÷चार जना क्यान्सर रोगका बिरामी फेला पर्ने गरेको प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले जानकारी दिए । खानपानकै कारण क्यान्सर रोग बढिरहेको उनको भनाइ छ । विभिन्न प्रकारका रङ प्रयोग गरिएका खानेकुरा, पोलेको, तारेको, भुटेको परिकारका कारण पनि क्यान्सर रोग धेरै फैलिने गरेको छ । ‘यस्ता अखाद्य वस्तु बजारमा छ्यापछ्याप्ती छन्,’ पौडेलले भने, ‘होटलका खाने कुरा र मिठाइमा यस्ता अखाद्य रङ प्रयोग गरिन्छ तर नियमन र अनुगमन हुन सकेको छैन ।’

उनले अखाद्य रङ प्रयोग गरी तयार गरिएको वस्तुको उपभोगले तत्काल समस्या नदेखिए पनि दीर्घकालीन रूपमा क्यान्सरसमेत गराउने उल्लेख गरे । ६० प्रतिशत महिलाहरूमा क्यान्सरको समस्या देखिने गरेको र ४० प्रतिशत पुरुषमा समस्या देखिने गरेको डा. पौडेलले जानकारी दिए । ६० वर्षभन्दा माथिकामा क्यान्सर रोग देखिने गरेको छ । यसबाहेक सुर्तीजन्य, मादक पदार्थजन्य वस्तुको अत्यधिक सेवन, प्रदूषणयुक्त वातावरणमा काम गर्नु, खानपानमा ध्यान नदिनुजस्ता कारणले पनि रोग देखिने गरेको छ ।

प्रकाशित मितिः   १ पुष २०८१, सोमबार ०६:०६