दबाबमा कर्णाली याक्स

सुर्खेत: नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेलमा आज (सोमवार) सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ । प्लेअफ पुग्ने र उपाधिमाथिको दाबेदारी कायम राख्नका लागि कर्णालीलाई अन्तिम खेल जित्नुपर्ने दबाब छ ।

अंक तालिकाको शीर्ष चार टिम प्लेअफमा पुग्छन् । लिग चरणमा अब अन्तिम एक खेल खेल्न बाँकी छ । जसमा सोमवार कर्णालीले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । अन्य ६ टिमले लिग चरणका सबै खेल खेलिसकेका छन् । सुदूरपश्चिम ६ खेलमा पाँच जितसहित १० अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा । उसले प्लेअफमा स्थान पक्का गरिसकेको छ ।

६ खेलमा चार जित र दुई हार बेहोरेको कर्णाली याक्स आठ अंकसहित चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको काठमाण्डू गुर्खाजको पनि आठ अंक नै छ । त्यसैले अंकतालिका रोचक बनेको छ । सुदूरपश्चिमसहित दोस्रो स्थानको जनकपुर बोल्ट्स पनि प्लेअफमा पुगिसकेको छ । आठ अंक नै जोडेर तेस्रो स्थानको चितवन राइनोजको पनि प्लेअफ पुग्ने लगभग निश्चित जस्तै छ । किनभने उसको नेट रनरेट चौथो र पाँचौ स्थानका कर्णाली र काठमाण्डूको भन्दा राम्रो छ ।

त्यसैले अब शीर्ष ४ मा पर्नका लागि अंकगणितीय रूपमा कर्णाली र काठमाण्डूबीच मात्रै प्रतिस्पर्धा छ । यद्यपि, कर्णालीले एक खेल खेल्न बाँकी छ भने काठमाण्डूले सबै खेल खेलिसकेको छ । त्यसैले काठमाण्डूको प्लेअफ सम्भावना कर्णालीको जित र हारमा निर्भर हुनेछ ।

सोमवार सुदूरपश्चिमलाई हराएमा कर्णाली सहजै प्लेअफ पुग्नेछ । त्यति मात्रै होइन फराकिलो अन्तरले हराएर रनरेट सुधार्न सकेमा कर्णालीले शीर्ष दुईमा पर्नका पनि दाबेदार रहनेछ ।

कर्णाली ठूलो अन्तर र कम अन्तरमै भएपनि विजयी भए काठमाण्डूको एनपीएल यात्रा पनि लिग चरणमै टुँगिनेछ । यद्यपि, सुदूरपश्चिमले कर्णालीलाई ठूलो अन्तरले पराजित गरेमा भने कर्णाली बाहिरिएर काठमाण्डू प्लेअफ पुग्ने सम्भावना रहनेछ । त्यसका लागि कर्णालीले ठूला अन्तरले हारेर नेट रनरेटमा काठमाण्डूभन्दा पछि पर्नुपर्ने हुन्छ । जुन सम्भावना निकै कम छ । किनपनि भने काठमाण्डूको नेट रनरेट निकै खराब छ । उसको रनरेट माइनसमा छ ।

सुदूरपश्चिमसँग झिनो अन्तरले हारेमा पनि कर्णालीको प्लेअफ सम्भावना भने रहनेछ । त्यस्तो अवस्थामा उसको रनरेट काठमाण्डूको भन्दा घट्नु हुँदैन । यही रोचक अंकगणितका कारण लिग चरणको अन्तिम खेलसम्म पनि एनपीएलको प्लेअफ होड थप रोमाञ्चक बनेको छ ।

आइतवार भएको खेलमा काठमाण्डूले संघर्षपूर्ण जित हात पार्दै आफ्नो प्लेअफ सम्भावना जिवितै राखेको हो । टस जितेर काठमान्डुले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाएको थियो ।

विराटनगरका लागि लोकेश बमले आठ, दीपक बोहराले २०, निकोलस किर्तनले १२, स्कट एडवार्डले १५, बसिर अहमदले १३, इस्मत आलमले पाँच, राजेश पुलामीले २५, क्रिस सोलले एक रन बनाए । सन्दीप लामिछाने शून्य रनमै आउट हुँदा सुबास भण्डारीले ६ रन बनाए । काठमान्डुले अतिरिक्त १२ रन दिएपछि उक्त लक्ष्य बनेको थियो ।

बलिङतर्फ काठमान्डुका जेरार्ड इरासमसले तीन, दीपेश कँडेलले दुई र साहव आलम, करण केसी र डान ब्रेथवेटले समान एक विकेट लिए ।

एक सय १८ रनको सामान्य लक्ष्य काठमान्डुले १८.१ ओभरमा नौ विकेट गुमाउँदै पूरा गरेको हो । काठमान्डुका लागि माइकल लेविटले १०, जेरार्ड इरासमसले १२, प्रतीक श्रेष्ठ ३९, रशिद खान १४, शंकर राना १६ र दीपेश कँडेलले ११ रन बनाए । विराटनगरले १३ अतिरिक्त रन उपहार दिएको थियो ।

बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले तीन विकेट लिँदा अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान दुई विकेट झारे । अन्ततः ११ बलअगावै एक सय २० रन बनाएर काठमान्डूले प्लेअफ खेल्ने सम्भावना जीवितै राख्योे । काठमाण्डूको जितपछि कर्णालीका लागि पनि प्लेअफ पुग्न अन्तिम खेल जित्नुपर्ने भएको छ ।

आइतवार नै भएको अर्को खेलमा पोखरा एभेन्जर्समाथि नाटकीय जित दर्ता गर्दै सुदूरपश्चिम रोयल्सले क्वालिफायर्समा स्थान पक्का गरेको हो ।

सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा दुई बलअगावै एक सय ४८ रनमा अलआउट भयो ।

एक समय जितनजिक पुगेको पोखरा अन्तिम ओभरमा सम्हालिन नसक्दा जित नजिक पुगेर पनि हार भोग्न बाध्य भयो । पोखरालाई अन्तिम ओभरमा तीन विकेट गुमाएपछि बलियो टोली सुुदुरलाई हराउँदै एनपीएलमा सुखद अन्त्य गर्ने सुनौलो मौका गुमायो ।

पोखराका लागि आन्द्रेस गउसले २१ बलमा चार चौका र दुई छक्का सहयोगमा ३६ रनको योगदान दिए । रेमोन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रन थपे ।

सुदूरपश्चिमका स्कटले पाँच विकेट लिए । उनले आफ्नो स्पेलमा एक मेडनसहित मात्र २६ रन खर्चे । हरमिनत सिहंले तीन विकेट झारे । सेफ जैवको नाममा एक विकेट रह्यो ।

त्यसअघि पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका आरिफ शेख ४२ रनमा अविजित रहे । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

ब्रान्डन म्याकमुलेनले २३ र कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन थपे । विनोद भण्डारी १४ र हरमित सिंह १३ रनमा पेभेलिन फर्के । पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । माइकल लिस्क, रेमोन राइफर र सागर ढकालले समान एक विकेट आफ्नो नाममा गरे ।

एनपीएलका दुई बलिया टोली सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको अन्तिम खेलले प्लेअफ खेल्न चार टिमको टुँगो लगाउनेछ । लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्स भने प्लेअफ होडबाट बाहिरिसकेका छन् । लिग चरणका सात खेल खेल्दा विराटनगर र पोखराले दुई÷दुई खेल जितेर चार÷चार अंक बटुले भने लुम्बिनीले एक खेल मात्रै जित्न सक्यो ।

 

 

प्रकाशित मितिः   १ पुष २०८१, सोमबार ०६:०४