स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्यो

साझा बिसौनी संवाददाता
जाजरकोट, १४ माघ । 
हिजो आज यहाँका मानिस बिरामी हुने बित्तिकै धामी झाँक्रीको विश्वास छोडी उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय र यसका मातहतका कार्यालयमा आउनेको संख्या बढेको छ । बच्चा तथा ठूलो मानिस बिरामी हुनेबित्तिकै धामीझाँक्रीलाई देखाउने चलन विस्तारै कम हँुदै गएको स्थानीयवासीले बताएका छन् । धामी र झाँक्री बिरामी भए पनि स्वास्थ्य संस्थामा उपचारका लागि ल्याएको देख्दा आफूहरू पनि बिरामी हुनेबित्तिकै स्वास्थ्य संस्था पुग्ने गरेको दह–३ की कलावती पुनले बताइन् । स्वाइन फ्लुको समयमा धामीझाँक्रीलाई देखाउँदा आफ्नो श्रीमान् झन् बिरामी परेको र उपचारका लागि स्वास्थ्य संस्था लिएर गएपछि मात्र सञ्चो भएको पुनले भनिन् । 
जिल्लाका ग्रामीण क्षेत्रमा बिरामी हुने बित्तिकै स्वास्थ्य संस्था जानुभन्दा पहिले धामीलाई देखाउने चलन विस्तारै कम हँुदै गएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्सा रोकाय गाउँका प्राचार्य गोरखबहादुर सिंहले बताए । दुर्गम स्थानमा रहेको टालेगाउँ स्वास्थ्य चौकीका इन्चार्ज प्रेमा लामाले भनिन्, ‘एक वर्षपहिले उपचार गर्न आउने बिरामीको सङ्ख्या धेरै कम थियो, अहिले दिनमा १५ देखि माथि उपचारका लागि आउने गरेका छन् ।’
त्यस्तै पहिले औषधि दिएपछि नबोली जाने बिरामी अहिले मलाई के भएको छ र के औषधि खाएमा कहिले निको हुन्छ भन्ने चासो दिन थालेको लामाले बताइन् । स्वास्थ्यकर्मीका अनुसार  स्वास्थ्य संस्थामा कुपोषित भएका बालबालिका बढी आउने गरेका छन् । सन् २००९ देखि २०१५ सम्म जाजरकोटमा एक हजार आठ सय ७६ जना कुपोषित बालबालिकाको उपचार भएको सिग्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका सुशील शाहीले जानकारी दिए । जनचेतना बढेसँगै कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याएर उपचार गर्नेको सङ्ख्या बढेको हो । जाजरकोटमा १५ वटा स्थानमा कुपोषित बालबालिकाको उपचारात्मक खाना दिएर उपचार गरिन्छ ।
प्रकाशित मितिः   १५ माघ २०७२, शुक्रबार १०:५०