अझै टुंग्याउन सकेन कांग्रेसले उम्मेदवार
नेपाली कांग्रेसले सुर्खेतका नौं वटा स्थानीय तहका उम्मेदवारको टुंगो लगाउन सकेको छैन । पटक पटक छलफल भएपनि उम्मेदवारको अन्तिम टुंगो लगाउन भने सकिरहेको छैन ।
जिल्ला कार्य समितिले उम्मेदवार छनौट गर्न नसकेपछि जिल्ला समन्वय समितलाई जिम्मा दिइएको थियो । सुर्खेतबाट प्रतिनिधत्व गर्ने नेपाली कांग्रेसका पाँच जना सांसदसहितको समन्वय समितिले उम्मेदवार छनौट गर्ने कसरत गरेपनि सोमवारसम्म त्यसले मूर्त रुप पाउन सकेको छैन ।
कांग्रेस स्रोतका अनुसार अन्य ६ वटा स्थानीय तहमा सहमति भइसकेपनि वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र गाउँपालिकामा सहमति जुट्न नसकेको हो । यी तीन वटै स्थानीय निकायको उम्मेदवार टुंग्याउने जिम्मा पार्टीले आइतवार जिल्ला समन्व्य समितिलाई दिएको थियो । समितिले राती अवेरसम्म छलफल गरेपनि अन्तिम निर्णय लिन भने सकेको छैन ।
वीरेन्द्रनगरेको मेयरका लागि ६ जना आकांक्र्षीका बारेमा छलफल भएको थियो । जसमा नेपाली कांग्रेस वीरेन्द्रनगर नगर समितिका सभापति देवकुमार सुवेदी, जिल्ला कार्य समिति सदस्य गोविन्द कोइराला, धर्मराज गिरी, नारायणप्रसाद सापकोटा, भवानीप्रसाद थानी र चन्द्रप्रसाद थानीमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ । तर जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउन नसकेपछि छनौट गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइएको छ ।
उम्मेदवारको टुंगो लगाउन पार्टीले नौं सदस्य जिल्ला समन्वय समिति गठन गरेको छ । जिल्लाका पाँच जना सांसदहरु पूर्णबहादुर खड्का, हृदयराम थानी, तप्तबहादुर विष्ट, लालबहादुर घले र खड्गबहादुर बस्यालसहित, जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मी, सभापतिमा पराजित भएका यज्ञबहादुर बिसी, कार्यसमितिका सचिव टोपबहादुर रावत र कोषा्धयक्ष अनन्तप्रसाद पौडेल उ्क्र समितिका सदस्य छन् ।
निर्वाचनको मिति नजिकिदै गएपनि नेपाली कांग्रेसले वीरेन्द्रनगर नगरपालिकामा उम्मेदवारको टुंगो लगाउन नसक्दा कार्यकर्तामाझ अन्यौलता बढेको छ । आकांक्षीहरु धेरै भएपछि कांग्रेसलाई उम्मेदवार छनौट गर्न हम्मे हम्मे परेको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलले जिल्लाका सबै स्थानीय तहका लागि उम्मेदवार छनौट गरेर निर्वाचनमा केन्द्रित भइसक्दा पनि कांग्रेसभित्र सहमति जुट्न नसकेको भन्दै कार्यकर्तालाई छिटो उम्मेदवार टुंग्याउन नेतृत्वलाई दवाव दिन थालेका छन् ।
उम्मेदवार छनौटकै विषयमा उत्पन्न भएको विवाद थप चर्किदै गएको छ । उम्मेदवार छनौटमा देखिएको विवादले यतिबेला कांग्रेस नेताहरू सकसमा छन् । नगरपालिका, गाउँपालिकादेखि वडासम्मका सबै पदमा उम्मेदवारका आकांक्षीहरू धेरै भएपछि नेताहरूलाई उम्मेदवार टुंग्याउन सकस भइरहेको हो ।
साझा बिसौनी ।