‘चुनाव जिते वीरेन्द्रनगरमा पन्ध्र हजार युवालाई रोजगारी’

सुर्खेत, १५ वैशाख ।
नेकपा माओवादी केन्द्रले वीरेन्द्रनगरमा चुनाव जिते १५ हजार युवालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । स्थानीय तहको चुनाव नजिकिंदै गर्दा माओवादीले वीरेन्द्रनगरको समृद्धिका लागि प्रतिबद्धता सार्वजनिक गरेको हो । उक्त प्रतिबद्धतामा माओवादीले नगरको चुनाव जिते पाँच वर्षभित्र १५ हजार युवाका लागि रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ ।
प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमा रहेको वीरेन्द्रनगर नगरपालिकामा चुनाव जित्नका लागि माओवादीले १४ बुँदे प्रतिबद्धताहरू सार्वजनिक गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा पार्टीका तर्फबाट नगरका उम्मेदवारहरू सार्वजनिक गर्दै माओवादीले आफ्ना प्रतिबद्धताहरू पनि सार्वजनिक गरेको हो । माओवादीले वीरेन्द्रनगरलाई प्रदेश राजधानीको रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको छ । यस्तै वीरेन्द्रनगरलाई देशकै नमुना सहर बनाउने माओवादीले घोषणा गरेको छ ।
माओवादीको तर्फबाट नगरको मेयर पदका उम्मेदवार रत्नबहादुर गाहाले भने, ‘आधुनिक वीरेन्द्रनगर निर्माणका लागि मेरो उम्मेदवारी हो, हामीले चुनाव जितेमा वीरेन्द्रनगर देशकै नमुना बन्नेछ । वीरेन्द्रनगरलाई खुल्ला सहरको रूपमा विकास गर्नेछौं, यो सहर २४ घण्टा नै खुल्ला रहने गरी विकास गर्नेछौं ।’ उनले आफूहरूले चुनाव जितेमा वीरेन्द्रनगरलाई राजधानीको रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । यस्तै माओवादीले नगर क्षेत्रमा बेरोजगारी समस्या समाधान गर्दै अबको पाँच वर्षभित्रमा नगरका १५ हजार युवालाई रोजगारी सिर्जना गर्ने योजना अगाडि सारेको छ । त्यसका लागि पनि आफूहरूलाई मत दिन माओवादीले आग्रह गरेको हो ।
प्रतिबद्धता प्रत्रमा माओवादीले वीरेन्द्रनगरको विकास र समृद्धिका लागि वीरेन्द्रनगरलाई दुव्र्यसनमुक्त सहर बनाउने उल्लेख गरेको छ । यस्तै नगरका बालबालिका र वृद्धवृद्धाहरूको निःशुल्क उपचार गर्ने, विश्वका चर्चित सहरसँग मितेरी सम्बन्ध बढाउने, किसानलाई पेन्सन दिने, ज्येष्ठ नागरिकलाई आत्मसम्मानपूर्वक बाँच्न सक्ने गरी कार्यक्रम लागू गर्ने र वीरेन्द्रनगरलाई ताररहित सहर बनाउनेसमेत माओवादीले प्रतिबद्धता जनाएको हो । नगरलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्दै आईटी अर्थात् प्रविधियुक्त सहर बनाउने आश्वासन पनि माओवादीले दिएको छ । त्यसका लागि नगरको नेतृत्व आफूहरूले पाउनुपर्ने माओवादीका उम्मेदवारले बताएका छन् । उपमेयरका उम्मेदवार हरिमाया शर्माले भनिन्, ‘हामीसँग काम गर्ने आँट र प्रतिबद्धता छ, हामी नगरको मुहार बदलेर देखाउने छौं ।’
व्यवस्थित सहर विकासका लागि नगरका सबै बस्तीलाई सडक सञ्जालमा जोडेर नगरबस सञ्चालन गर्ने माओवादीको योजना छ । त्यसका लागि सडक विस्तार र कालोपत्रे गर्ने उसले प्रतिबद्धता जनाएको हो । ढलहरू व्यवस्थित गर्दै नगरलाई सफा र स्वच्छ सहर बनाउने प्रतिबद्धता उम्मेदवारले जनाएका छन् । माओवादीले आफ्नो पार्टीले नगरको चुनाव जितेमा उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरीको पानी ल्याउने आश्वासन दिएको छ । यस्तै नगरका रतु र गर्पनलाई कृषि तथा पशुपालनको पकेट क्षेत्रको रूपमा विकास गर्ने माओवादीले प्रतिबद्धता गरेको छ । नगरको मुख्य आम्दानीको स्रोत पर्यटन भएकाले नगरभित्र
रहेका बुलबुले, देउतीबज्यै, काँक्रेविहार, घण्टाघर, सत्यकाँडा र भेरी किनारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै आवश्यक लगानी गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
प्रतिबद्धता पत्रमा माओवादीले चुनाव जितेमा नगरको सुशासन कायम गर्ने, उद्यमशीलतातर्फ आकर्षित गर्ने, नगरको खेतीयोग्य जग्गालाई खण्डीकरण हुन रोक्ने, मेडिकल कलेज स्थापनाका लागि पहल गर्ने, मानसिक अस्पताल स्थापना गर्ने, नगरमा सार्वजनिक शौचालय स्थापना गर्ने र नगरभरी सोलार जडान गर्ने उल्लेख गरेको छ । यस्तै मुख्य चौकमा आकाशेपुल निर्माण गर्ने, हरेक वडामा पार्किङ्ग स्थल निर्माण गर्ने, नगरमा निःशुल्क वाईफाई उपलब्ध गराउने, अन्तर्राष्ट्रियस्तरको रगंशाला निर्माण गर्ने, भेरी नदीमा आधुनिक शव दहन निर्माण गर्ने, नगरभित्रका वन संरक्षण गर्ने र हरेक घरमा विद्युत सेवा उपलब्ध गराउने माओवादीको प्रतिबद्धता रहेको छ ।

प्रकाशित मितिः   १६ बैशाख २०७४, शनिबार १५:२७