ब्राउनसुगरसहित दुई जना पक्राउ

सुर्खेत, १५ वैशाख ।
लागूऔषध ब्राउनसुगरसहित सुर्खेतमा दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट लागूऔषध समेत बरामद गरेको छ । जंगलमा लुकेर सेवन गर्न लागेको अवस्थामा गस्तीमा रहेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका बस्ने दुई जना युवा छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई वीरेन्द्रनगरको खारखोलीबाट पक्राउ गरिएको हो । प्रेमबहादुर गुरुङ्ग र सन्तोष सुनारलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोल्सामा लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरूको साथबाट २७ पुडिया ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई बिहीवार दिउँसो पक्राउ गरिएको हो । उनीहरूलाई नियन्त्रणमा राखिएको र थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रवार म्याद थपसमेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतमा अवैध लागूऔषधको ओसार–पसार तथा सेवन बढेपछि प्रहरीले निगरानी बढाएको छ ।

प्रकाशित मितिः   १६ बैशाख २०७४, शनिबार १५:२४