एन्फा लिग आजदेखि

सुर्खेत, १५ वैशाख । (साबिस)
सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा आज (शनिवार)देखि वीरेन्द्रनगरमा जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । आज दिउँसो साढे तीन बजे स्थानीय वीरेन्द्रनगर रंगशालामा प्रतियोगिताको उद्घाटन हुँदैछ ।
आयोजक जिल्ला फुटबल संघ सुर्खेतका महासचिव गणेश कार्कीका अनुसार प्रतियोगिताको उद्घाटन खेल एबीसी स्पोर्टस् क्लब र साथी खोर्के युवा क्लबबीच हुनेछ । यसपटक जिल्लामा हालसम्मकै सर्वाधिक क्लबहरूको सहभागिता रहने भएको छ । जिल्लाको फुटबल इतिहासमै पहिलो पटक १७ वटा स्थानीय क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने महासचिव कार्कीले जानकारी दिए । प्रतियोगितामा नयाँ तथा पुराना गरी १७ वटा क्लबहरूले भाग लिएको उनले जनाए । १७ वटा क्लबलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा साविक विजेता साथी खोर्के (स्काई), खजुरा युवा क्लब, एबीसी युथ क्लब र न्यू जेनेरेशन स्पोर्टस् क्लब छन् । समूह ‘ख’मा ब्वाईज युनियन, बुद्धपथ स्पोर्टस् क्लब, शिरमोर युवा क्लब र जीअल क्लब छन् । यस्तै समूह ‘ग’ मा बावियाचौर स्पोर्टस् क्लब, काँक्रेविहार क्लब, लखन युवा क्लब र सिद्धपाइला स्पोर्टस् क्लब छन्भने समूह ‘घ’ मा साविक उप–विजेता वीरेन्द्रनगर स्पोर्टस् क्लब, न्यू स्टार, शिवविहार पुस्तकालय, कालिमाटी समाज सुधार क्लब र सिर्जनशील युवा क्लब रहेको महासचिव कार्कीले जानकारी दिए ।
पहिलो चरणमा लिग र दोस्रो चरणबाट नकआउटका आधारमा खेल हुनेछ । यस वर्षको जिल्ला लिग विजेता टोलीले हालसम्मकै सर्वाधिक ५१ हजार तथा उप–विजेता क्लबले २५ हजार रूपैयाँ नगद पुरस्कार पाउने बताइएको
छ । लिग विजेता क्लबले जिल्ला लिग विजेताको उपाधिसँगै बढुवाका लागि क्षेत्रीयस्तरको छनौट प्रतियोगिता पनि खेल्न पाउने भएकाले यस वर्षको प्रतियोगिता क्लब तथा खेलाडी दुवैका लागि महŒवपूर्ण हुनेछ । यस वर्ष पनि सेमिफाइनल चरणबाट टिकट प्रणाली लागू गर्ने योजना बनाइएको महासचिव कार्कीको भनाइ छ ।

प्रकाशित मितिः   १६ बैशाख २०७४, शनिबार १५:२३