राधाको लगनशीलताले जित्यो प्रेमको मन

पिता डम्बरबहादुर भण्डारी र माता भुवनसरा भण्डारीको कोखबाट वि.सं. २०३६ सालमा विनायक दैलेखमा जन्मिएका पे्रमबहादुर भण्डारीको बाल्यकाल रमाइलोसँग नै बित्यो । मिलनसार स्वभावका र कसैसँग नरिसाउने भण्डारी पढाइमा पनि सधैं प्रथम हुने गर्थे । उनले माध्यमिक तह दैलेखबाट सके र उच्च शिक्षा अध्ययन गर्न नेपालगञ्ज गए । ब्याचलर नेपालगन्जबाट पास गरेका भण्डारीले सीएमए भने काठमाडौंमा पढे । उनले फार्मेसी सञ्चालन गर्नको लागि मेडिकल फिल्डको तीन महिने कोर्ष पनि पढे ।
बाल्यकालदेखि नै बालबालिका र वृद्धवृद्धाहरूसँग धेरै नजिक भएर कुराकानी गर्ने गर्थे । बाल्यकालको उनको सपना मेडिकल फिल्डमा काम गर्ने थिएन । उनलाई घरपरिवार र उनका दाइले जबरजस्ती नै सीएमए पढ्नको लागि पहल गरेका थिए । सीएमए पढ्न थालेको तीन महिनासम्म पढाइमा उनको ध्यान नै थिएन । पढेको तीन महिनापछि मात्र उनलाई पढाइतर्फ ध्यान
गयो । पहिला पढाइमा ध्यान नदिँदा कमजोर बनेका भण्डारीपछि दोस्रो स्थानमा आउन सफल भए । मन नलगाई नलगाई पढेको विषयले नै उनलाई जीवनमा बाँच्ने आधार दियो ।
उनले नेपालगन्जको भेरी अञ्चल अस्पतालमा काम गर्दै गर्दा स्थायी जागिरका लागि दाङ गएका थिए । त्यहाँको जागिर छोडेर उनले दैलेखमा नै मेडिकल खोलेर बसे । त्यसबेला द्वन्द्वकालका कारण उनलाई दैलेखमा मेडिकलमा औषधि पु¥याउन नसके पछि दैलेखबाट उनी सुर्खेत आएर २०६१ सालमा सामुदायिक स्वास्थ्य सहकारी संस्था दर्ता गरी साझेदारीमा सुर्खेतमा सुपथ औषधि पसल सञ्चालनमा ल्याए । त्यहीं औषधि पसलमा काम सुरु गरे । उनलाई काम बाहेक अरु कुरामा ध्यान नै थिएन । सधैं काममा नै व्यस्त हुने भएकाले उनलाई बाहिरको कुरामा केही मतलब पनि हुँदैनथ्यो ।
सधैं काममा व्यस्त रहने प्रेमको विवाह गरीदिन निर्णयका साथ काकीले उनलाई केटी हेराउन लगिन् । उनको अन्टीले पहिले नै आफू नजिकै बस्ने केटीलाई हेरीसकेकी थिइन् । आफूले हेरेको केटी भण्डारीलाई देखाउन लगिन् । भण्डारीले अन्टीले भनेको केटीको बारेमा पहिला नै सबै कुरा बुझिसकेका थिए । उनले राधाको रूप हेरेर विवाह गर्छु भनेका भने थिएनन् । उनले राधाको काम र लगनशिलतालाई देखेर विवाहको लागि राजी भएका थिए ।
पिता नरबहादुर बिसी र माता ज्वालादेवी बिसीको कोखबाट २०३५ सालमा विद्यापुरमा जन्मिएकी राधाकुमारीको बाल्यकाल पढ्दै र घरको काम गर्दैमा बित्यो । उनको बुबा शिक्षक भएकाले पनि उनी सानैदेखि पढ्न बुबासँगै पढ्न विद्यालय जान्थिन् । बाल्यकालमा चञ्चले स्वभावकी राधा पढाइमा पनि सधैं प्रथम नै हुन्थिन् । बुबा शिक्षक भएकाले पनि उनलाई पढाइमा सहयोग पुग्यो । पढाइमा साथीहरू अगाडि आए उनलाई डाहा लाग्ने गथ्र्यो, कसरी उनीहरूलाई जित्ने होला भन्ने । पढाइ र घरको काम बाहेक अन्त उनको ध्यान गएन । बाल्यकालदेखि नै राधा जुनसुकै काम गर्दा पनि छिटो र छरितो गर्नुपर्ने हुन्थ्यो ।
विद्यापुरबाट कक्षा १२ पास गरेकी राधाले ब्याचलर भने सुर्खेत शिक्षा क्याम्पसबाट गरिन् । उनले पढ्दै अछामको विद्यालयमा पढाउने पनि गर्थिन् । उनको पढाइ लगनशीलता देखेर नै प्रेमको अन्टीले उनलाई मन पराएकी थिइन् । प्रेमले उनको रूप र मान्छे हेरेर उनलाई विहे गरेका भने होइनन् । उनको लगनशीलता, मेहेनत र उनको भावना हेरेर उनलाई विवाह गर्ने निर्णय गरेका थिए । त्यस्तै राधालाई पनि लागेको थियो कि आफ्नो जीवनसाथी केही जागिर गरेको होस् आफूलाई बुझेको होस् । उनले खोजे जस्तै प्रेमलाई पाएपछि जीवन सहजै रूपमा काट्न सकिन्छ भनेर राधाले पनि प्रेमसँग विवाह गर्न राजी भइन् । विवाह पछि राधाले सीएमए पनि पढिन् । अहिले प्रेम र राधा सुपथ पोलिक्लिनिक सञ्चालनमा नै व्यस्त छन् ।
उनीहरूको विवाह आवश्यकताले बनाएको थियो । प्रेमलाई लगनशील, मेहेनती र कामप्रतिको इमान्दार केटी चाहिएको थियो जुन कुरा राधामा पाए । राधालाई पनि पढेलेखेको जागिर खाएको केटाको आवश्यकता थियो । दुवैले एकअर्काेको कामप्रतिको लगनशीलता देखेर नै विवाहको लागि राजी भएका थिए । विवाह अघि उनीहरूको भेट धेरै भएको पनि थिएन । राधा अछाममा अध्यापन गराउँथिन्, प्रेम सुर्खेतमा काम गर्थे । त्यतिबेला टेलिफोनको सुविधा पनि थिएन । राधा सुर्खेत आएपछि मात्र उनीहरूको भेट हुन्थ्यो । उनीहरूको भेटमा कहिल्यै माया पिरतीका कुरा भने भएनन् । दुवै जना काममा नै व्यस्त हुने भएकाले पनि एकअर्काेको कामका कुरा अलि बढी हुने गर्थे । उनीहरूको तेस्रो भेट नै विवाह थियो । राधा अछामबाट दशैं बिदामा सुर्खेत आएकै दिन प्रेमले उनलाई भगाएका थिए । २०६२ सालमा भागी विवाह गरे ।
छोरी भागेर विवाह गरी भनेर राधाका बाबुआमाले प्रेमलाई नबुझ्दा सम्म त रिसाएकै थिए । जब प्रेमलाई नजिकबाट बुझे छोरीको रोजाईलाई राधाका माइतीले पनि स्वीकार गरे । विवाहपछि राधालाई घरमा पनि छोरी जस्तै माया मिल्यो । विवाहपछि अमाजु दिदीको घरमा बस्दै आएकी राधालाई उनको अमाजु दिदीले कहिल्यै पनि अमाजु दिदीको व्यवहार नभइ आफ्नै दिदीको माया दिइन् । दुई बहिनी जस्तै गरी बसेका कारण पनि पराई घरमा बुहारी छु भन्ने भएन । उनी भन्छिन्, ‘मलाई अमाजु दिदीले आफ्नै बहिनीको जस्तो व्यवहार गर्नुभयो त्यसैले पनि कहिल्यै पराई घरमा छु जस्तो लागेन ।’ विवाहपछि घरपरिवारबाट पनि उनलाई छोरीकै जस्तो माया ममता मिल्यो त्यसैले पनि उनमा बुहारी र छोरी हुनुमा केही भिन्नता लागेन ।
विवाह पछिका दिनमा यो जोडीमा एकआपसमा झगडा गर्ने फुर्सद नै भएन । एकअर्काेको सम्मान गर्ने यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । प्रेमलाई राधाको स्पष्ट रूपमा बोल्ने बानी मन पर्ने गर्छ । उनी भन्छन्, ‘उनले जे बोल्छिन् त्यो काम पूरा गरेर छोड्छिन् त्यो बानी मनपर्छ ।’ त्यति मात्र होइन जति छिटो रिसाउँछन् उति छिटो नै शान्त हुने बानी पनि प्रेमलाई मन पर्ने गर्छ । त्यस्तै राधालाई पनि प्रेमको सबै बानी मनपर्ने गर्छन् । उनी भन्छिन्, ‘उहाँको मलाई सबै बानी मनपर्छ अहिलेसम्म मन नपर्ने बानी भेटाएको छैन ।’
यो जोडी काममा नै बढी व्यस्त हुने गर्छन् । कहिलेकाहीं त चाडपर्वमा समेत घर जान पाउँदैनन् । तर, पनि उनीहरू मेडिकल गरेर सबैमा सेवा दिन पाउँदा खुशी भएको बताउँछन् । यो जोडीले अहिलेसम्म एकअर्काेको जन्मदिन र विवाह वर्ष मनाएका छैनन् । कहिले काहीं त जन्म दिन र विवाह वर्ष नै भुलीरहेका हुन्छन् । उनीहरू भन्छन्, ‘काममा बढी व्यस्त हुने भएकाले पनि अहिलेसम्म एकअर्काेलाई गिफ्ट दिने गरेका छैनौं, कहिले काहीं त जन्मदिन र विवाह गरेको दिन आउँदा नि थाहा हुँदैन हामीलाई ।’
उनीहरूका अनुसार दाम्पत्य जीवन सुखमय बनाउनको लागि दुवैले आ–आफ्नो कर्तव्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । दुवैले एकअर्काे कामप्रति साथ र सहयोग गर्न सकेको खण्डमा सम्बन्ध दिगो हुन्छ । एकअर्काेको भावनालाई बुझेर कदर र सम्मान गर्नुपर्छ । उनीहरू भन्छन्, ‘जीवन भनेको जन्मदेखि मृत्युसम्मको गतिविधि नै जीवन हो ।’ जीवन भनेको अर्काे अर्थमा संघर्ष पनि हो । जो जीवनमा अति महŒवपूर्ण पाटो हो । संघर्षविना कोही पनि व्यक्ति सफलतामा पुग्न सक्दैन । उनीहरूका अनुसार जीवनसाथी भनेको मृत्युसम्म साथ दिने साथी हो । हरेक सुख–दुःखमा साथ दिने, सुख–दुःख बिसौनी चौतारी हुन् जीवन साथी । जीवनमा जति नै मान्छे क्षमतावान्, दक्ष भए पनि जीवनमा सफल बन्नको लागि कसैको साथ र सहयोगको आवश्यकता पर्छ नै । त्यो आवश्यकता पूरा गर्ने साथी नै जीवनसाथी हो ।
यो जोडी नवदम्पत्ती जोडीलाई विवाह गर्नु अघि एकअर्काेको भावना बुझेर शारीरिक रूपमा परिपक्क भएर मात्र विवाह गर्न सुझाव दिन्छन् । पहिला दुवैले एकअर्काेको भावना के छ त्यो बुझेर मात्र मन र भावना मिले मात्र विवाह गर्नुपर्ने उनीहरूको भनाइ छ । विवाहपछि पनि एकअर्काे बीचमा विश्वासको वातावरण बनाई राख्नुपर्ने उनीहरूको सुझाव छ ।

प्रकाशित मितिः   १६ बैशाख २०७४, शनिबार १५:२२