नीति निर्माणमा युवा सहभागिता बढाउन तालिम
सुर्खेत: नीति निर्माण र शासन प्रक्रियामा भूमिका वृद्धि गर्न कर्णालीका युवाहरूलाई तालिम प्रदान गरिएको छ । अमेरिकी दूतावासको सहयोगमा ऋति फाउन्डेसनले कर्णाली प्रदेश सभा र पुरक एसियाको सहकार्यमा ‘नीति र शासनमा युवा’ विषयक तालिम प्रदान गरेको हो ।
कर्णालीका १० वटै जिल्लाबाट छनोट गरिएका ५० जना सक्रिय युवाहरूको सहभागिता रहेको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । तालिमले नीति निर्माण र शासन प्रक्रियामा युवाहरूको भूमिका सुदृढ गर्दै उनीहरूलाई प्रभावकारी नागरिकका रूपमा तयार पार्नुका साथै कर्णालीका युवाहरूलाई शासन र नीतिनिर्माण प्रक्रियामा सशक्त बनाउने अपेक्षा गरिएको छ ।
तालिमको उद्घाटन गर्दै कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले नीति निर्माण र शासन प्रक्रियामा युवाहरूको सक्रियता अत्यन्तै महŒवपूर्ण रहेको औंल्याइन् । तालिमले कर्णालीका युवाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढ्न उत्प्रेरित गर्ने विश्वाससमेत व्यक्त गरिन् ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव आनन्द सारुले युवाहरूले नीति र शासन प्रक्रियामा सहभागिता जनाउन जरुरी रहेको बताए । अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले नेपालको ७०% जनसंख्या ४० वर्षमुनिका भएकाले युवा राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे ।
ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार कर्णालीका दशवटै जिल्लाका तीन सयभन्दा बढी युवाहरूबाट ५० जनालाई पहिलो चरणको तालिमका लागि छनोट गरिएको हो । गौतमले भने, ‘पहिलो चरणको तालिमपछि उत्कृष्ट २५ जनालाई दोस्रो चरणमा सहभागी गराइनेछ । दोस्रो चरणबाट छनोट भएका १२ जनालाई तेस्रो चरणमा तालिम दिइनेछ ।’ उनीहरूलाई कर्णाली प्रदेश सभाका सदस्यहरूसँग ज्ञान सहायकको रूपमा काम गर्ने र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरिने समेत उनले जनाए ।
प्रकाशित मितिः ३० मंसिर २०८१, आईतवार ११:०६
साझा बिसौनी ।