झन्–झन् बढ्दै बलात्कारका घटना
सुर्खेत: कर्णाली प्रदेशमा बलात्कारका घटना बढ्दो रूपमा रहेको पाइएको छ । प्रदेशमा दर्ता भएका मुद्दाको आधारमा हेर्दा प्रत्येक वर्ष बलात्कारका घटना बढ्दै गएको पाइएको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार बलात्कारका घटनामा वृद्धि भएको देखिएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८ देखि २०८१ सम्म (तीन वर्षमा) जबरजस्ती करणीका पाँच सय ६४ मुद्दा दर्ता छन् भने एक सय २४ वटा मुद्दा जबरजस्ती करणी उद्योगका छन् । बलात्कार प्रयास भएको उजुरीलाई प्रहरीले जबरजस्ती करणी उद्योगमा दर्ता गर्छ ।
आर्थिक वर्ष २०७८/०७९ मा जबरजस्ती करणीका एक सय ५० जटा, जबरजस्ती करणी उद्योगमा ४५ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/०८० मा जबरजस्ती करणीका दुई सय ६ र जबरजस्ती करणी उद्योगमा ४५ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा जबरजस्ती करणीसम्बन्धी दुई सय आठ वटा मुद्दा दर्ता भएका थिए भने जबरजस्ती करणी उद्योगसम्बन्धी ३४ मुद्दा दर्ता भएका थिए ।
प्रहरीको तथ्यांकले बर्सेनिरूपमा बलात्कारका मुद्दा अझै उकालो लागेको देखाउँछ। तथ्यांक हेर्दा बलात्कारसम्बन्धी घटना दिनहुँ बढ्दै गइरहेको देखिएको छ। चालु आर्थिक वर्षको हालसम्म ६० वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। जबरजस्ती करणी उद्योगसम्बन्धी १८ वटा मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ।
प्रहरीको तथ्यांकले बर्सेनिरूपमा बलात्कारका मुद्दा अझै उकालो लागेको देखाउँछ । तथ्यांक हेर्दा बलात्कारसम्बन्धी घटना दिनहुँ बढ्दै गइरहेको देखिएको छ । चालु आर्थिक वर्षको हालसम्म ६० वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणी उद्योगसम्बन्धी १८ वटा मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता नारायण डाँगी जनसंख्या, सहरीकरण बढ्दैजाँदा त्यही अनुपातमा यस्ता घटनाहरूपनि बढ्दै जाने बताउँछन् । अर्कातिर आफूविरूद्ध भएका अन्यायविरूद्ध आवाज उठाउने र न्यायिक लडाईं लड्ने महिलाहरूको संख्या बढेको पनि उनको भनाइ छ । ‘महिला दिदीबहिनी पहिलाको तुलनामा अहिले अलि धेरै सचेत हुनुभएको छ । बालबालिकामाथि हुने यौन दुव्र्यवहार तथा करणीका घटनाबारे प्रहरीमा जाहेरी दिनुपर्छ भन्ने चेतना फैलिएको छ’ डाँगीले भने ।
सामाजिक सञ्जालका कारण पनि यस्ता घटनाहरू धेरै समय लुकेर बस्न नसक्ने उनको भनाइ छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगसँगै त्यसको दुरूपयोग पनि बढ्दै गएको छ, त्यसैले यस्ता घटनाहरू बढिरहेको डाँगी बताउँछन् । ‘मदिरा सेवनपनि एउटा कारण मान्न सकिन्छ,’ उनले भने, ‘समाजमा यस्ता घटना बढ्नुको पछाडि सामाजिक संरचना, शिक्षा, अभिभावकले गर्ने व्यवहारदेखि धेरै कुराहरू पर्छन् ।’
समाजमा हुने बलात्कारका घटनाहरू न्यूनिकरणका लागि स्थानीय सरकार, समाजसेवी, स्थानीयले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । प्रहरीले जिल्ला, इलाकादेखि चौकीसम्म सचेतना कार्यक्रम चलाइरहेको छ । स्थानीय तहमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत् पनि यस्ता घटनाहरूबारे जनचेतना फैलाउने काम भइरहेको डाँगीले बताए । समाजमा शंकास्पद व्यक्ति देखिएमा वा भेटिएमा प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । सबैले आफ्नो जिम्मेवारी निर्वाह गरे यस्ता घटना घट्नसक्ने उनको भनाइ छ ।
अधिकारकर्मी पवित्रा शाहीका अनुसार अहिले घटनासँगै उजुरी पनि बढेको छ । त्योसँगै सञ्चारमाध्यम र प्रहरीले जबरजस्ती करणी तथा यौन दुव्र्यवहारको घटनामा चासो देखाउन थालेको देखिन्छ । ‘यस्ता घटना बढ्नुको कारण हाम्रो देशको पितृसत्तात्मक सोच र संरचना हो । घर, समाज र न्यायीक प्रणालीमा पुरूषलाई नै केन्द्रमा राख्ने र महिला कमजोर प्राणी हो, उनीहरू उपभोगका लागि मात्र बनेका हुन भन्ने सोच हो,’ शाहीले भनिन् । तथ्यांकले बालिकाहरू बढी बलात्कृत हुने देखिएको पनि उनले बताइन् ।
प्रकाशित मितिः ३० मंसिर २०८१, आईतवार ११:०५
साझा बिसौनी ।