एनपीएल अंक तालिका थप रोचक

 

काठमाडौं: नेपाल प्रिमियर लिग(एनपीएल) को अंकतालिका थप रोचक बनेको छ । चितवन राइनोजले शनिवार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेपछि प्लेअफ होड अझ कसिलो बनेको हो ।

जनकपुरलाई पराजित गर्दै चितवनले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चितवनले सात खेलबाट आठ अंक जोडेको छ । अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि आठ अंक नै जोडेर प्लेअफ नजिक छन् । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।

चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेलअघि नै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।

६ खेल खेल्दा दुईवटामा जित र चार वटामा हार बेहोरेको विराटनगर चार अंकसहित छैठौँ स्थानमा छ । उसले अब अन्तिम खेल खेल्न बाँकी छ । जसमा काठमार्डू गुर्खाजसँग भिड्नेछ । उक्त खेल जिते पनि जनकपुरसँग ६ अंक मात्रै हुनेछ, जुन प्लेअफ पुग्नका लागि पर्याप्त हुनेछैन । यद्यपि, काठमाडूलाई हराएर उसको प्लेअफ सम्भावनामा भने धक्का दिन सक्नेछ ।

६ खेलबाट तीन मा जित र तीनमा हारसहित ६ अंक बटुलेको काठमाडू अन्तिम खेलमा विराटनगरसँग होरमा उपाधि होड समाप्त हुनेछ । यदि जित निकालेमा भने अन्य टिमसँगको नेटरनरेटमा निर्भर हुनुपर्नेछ । त्यसैले यो खेल काठमाडूका लागि दबाबपूर्ण हुनेछ ।

यसैगरी पोखरा एभेन्जर्स पनि अन्तिम खेल नखेल्दै उपाधि होडबाट बाहिरिसकेको छ । उसले ६ खेल खेल्दा दुईवटामा मात्रै जित हात पारेको छ । चारवटामा हार बेहोर्दा चार अंक मात्रै जोड्न सफल भयो । सुदूरपश्चिमसँग हुने अन्तिम खेल जिते पनि उसका लागि प्लेअफ ढोका खुल्ने छैन । यद्यपि, सुदूरपश्चिमका लागि पनि प्लेअफमा पुग्न र शीर्ष २ मा पर्नका लागि पनि पोखरालाई पराजित गर्नुपर्ने दबाब हुनेछ ।

सबैभन्दा पहिले प्लेअफ होडबाट बाहिरिएको लुम्बिनी लायन्सले भने सबै खेल खेलिसकेको छ । सात खेल खेल्दा उसले एउटा खेल मात्रै जित्न सक्यो । अन्य ६ खेल गुमायो । एनपीएको पहिलो संस्करणको यात्रा लुम्बिनीले जम्मा दुई अंक बटुलेर टुँग्याएको छ ।

अब प्लेअफको बाँकी तीन स्थानका लागि चार टिम प्रतिस्पर्धी छन् । आइतवार काठमान्डु र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच खेल हुनेछ । काठमान्डुलाई प्लेअफ पुग्न अन्तिम खेल आफूअनुकुल जित्नैपर्ने बाध्यता छ । काठमान्डु विराटनगरसँग पराजित भएका भने सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्नेछन् । ६ खेलबाट ६ अंक बटुलेको काठमाडौं पाँचौँ स्थानमा छ । उसको नेटरनरेट पनि राम्रो छैन । त्यसैले यो खेल जितेर पनि प्लेअफका लागि अन्य टिमको नेटरनरेटमा भरपर्नुपर्ने छ ।

जनकपुरले लिग चरणको सात खेल नै खेलिसकेको छ । जसमा पाँच जित र दुई हारको नतिजा निकालेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर शीर्ष दुईमा रहने वा नरहने भन्ने कुरा सुदूरपश्चिमको बाँकी दुई खेलपछि टुँगो लाग्नेछ ।

अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोयल्स र कर्णाली याक्स पनि आठ अंक नै जोडेर प्लेअफ नजिक छन् । कर्णालीले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिवारको खेलमा एक सय ८२ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्टस १८ ओभरमा सबै विकेट गुमाएर एक सय ४८ रनमा अलआउट भयो ।

जनकपुरका लागि जीमी नीशकले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ६५ रन बनाएपनि जिताउन सकेनन् । १८ बलमै अर्धशतक हानेका निशम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने । उनले २४ बल खेल्दै पाँच चौका र ६ छक्का प्रहार गरे । आसिफ शेखले २३ रन जोडे । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चितवनका रिजन ढकाल, सोहेल तनविर र कुशल मल्लले दुई–दुई विकेट लिए । अमर सिंह राउटेलाले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कुशल मल्लको अर्धशतक मदतमा पाँच विकेट गुमाएर १८० रन बनाएको हो । मल्लले ४१ बल खेल्दै तीन चौका र सात छक्का प्रहार गरे । बलिङमा जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए ।

शनिवार नै भएको अर्को खेलमा काठमाडू गुर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमान्डुले १४.१ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । पहिलो विकेटका लागि ओपनर स्टेफन र माइकल लेविटले ५.३ ओभरमा ५८ रनको साझेदारी गर्दै काठमान्डुलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दोस्रो विकेटका लागि स्टेफन र भीम सार्कीले ५७ रनको साझेदारी गरेपछि काठमान्डुले प्लेअफ सम्भावना बलियो बनाएको हो । स्टेफन ६० रन बनाउँदा विपिन खत्रीको बलमा बोल्डआउट भए । उनले ३४ बलमा १० चौका प्रहार गरे । भीम सार्की २२ रनको पेभेलियन फर्के । कप्तान करण केसी एक रनमा आउट भए ।

प्लेअफ पुग्न जित्नैपर्ने दबाबमा रहेको खेलमा पोखराका विपिन खत्रीले तीन विकेट लिए । माइकल लिस्कको नाममा एक विकेट रह्यो । काठमान्डुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रनको योगफल तयार पारेको थियो । पोखराका मध्यक्रमका ब्याटर रेमोन रेइफर ४१ रनमा अविजित रहे । उनले ३० बलमा एक चौका र तीन छक्का हाने ।

ओपनर दिनेश खरेल ३८ रन बनाउँदा रासिद खानको बलमा एलबीडब्लु धरापमा परे । २५ बलको सामना गरेका खरेलले ६ चौका र एक छक्का प्रहार गरे । २७ रन बनाएका दिलीप नाथ पनि रासिद खानकै बलमा बोल्डआउट भए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । आन्द्रेस गउस र नारायण जोशी शुन्य रनमा नै पेभेलियन फर्के । काठमान्डुका लागि रासिद खान र करण केसीले समान तीन विकेट झारे । जेहार्ड इरासमस र माइकल लेविटले समान एक विकेट लिए ।

प्रकाशित मितिः   ३० मंसिर २०८१, आईतवार ११:११