पूर्वाधार विकास
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकिएको छ । केही समय अन्योलमा रहेका प्रतियोगिता लक्षित कार्यक्रम पुनः चलायमान हुन थालेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद–राखेपका अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको एक सय १८औँ बोर्ड बैठकले प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो । यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि खेलपूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेका छन् । जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण भइसकेका छन् । अहिले खेलाडी छनोटको काम धमाधम भइरहेकोे छ ।
हालसम्म ६ वटा खेलका लागि खेलाडी छनोट गरिएको छ । फुटबल र भलिबलका खेलाडी छनोटको काम धमाधम भइरहेको छ । २४ खेल खेलाउन सकिने गरी पूर्वाधार निर्माण गरिएको र सोहीअनुसार तयारीका खेल खेलाइनेछ । केही खेल सुर्खेतमा खेलाइनेछ भने केही खेल जिल्ला–जिल्लामा खेलाइनेछ । प्रतियोगिताकै लागि केही पूर्वाधार निर्माण भइसकेका छन् । कुन जिल्लामा के–के पूर्वतयारीका खेल खेलाउने भन्ने विषयामा छलफल गरेर खेल खेलाइने परिषद्ले जनाएको छ । जिल्ला–जिल्लामा निर्माण गरिएका खेलपूर्वाधार अनुसारकै खेल खेलाइनेछ । जिल्लाहरूमा पूर्वाधार निर्माणका काम सकिएका छन् । दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । २०८० मंसिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । उक्त क्रिकेट मैदान निर्माण सम्पन्न भइ प्रयोगमा आइसकेको छ । यसैगरी वीरेन्द्रनगरमै अर्को क्रिकेट रंगशाला निर्माण भएको छ । चार करोड ५९ लाख लागतमा क्रिकेट मैदान निर्माणको काम भएको हो । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फूटबल मैदान निर्माण तयार पारिएको छ ।
दैलेखमा कभर्डहल मर्मत गरिएको छ । उपभोक्ता समितिमार्फत् मर्मतको काम गरिएको हो । यस्तै, रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम सम्पन्न भएको छ । प्रतियोगिता लक्षित पूर्वाधार निर्माणका लागि कभर्डहल मर्मत गरिएको छ । हुम्लामा हकी खेलमैदान निर्माण भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ । अधिकांश स्थानका खेलपूर्वाधार बनिसकेको छ ।
प्रकाशित मितिः ३० मंसिर २०८१, आईतवार ०६:०३
सम्पादकीय ।