प्रभावहीन कार्यक्रम

कर्णाली प्रदेश सरकारको लक्षित वर्ग विशेष कार्यक्रम प्रभावकारी हुन सकेको छैन । नागरिकलाई सीप सिकाएर उद्यम विकास प्रवद्र्धन गर्ने उद्देश्यले सो कार्यक्रम ल्याइएको हो । आर्थिक वर्ष २०७९/०८० देखि उद्यम विकास प्रवद्र्धन कार्यक्रम सुरु गरिएको थियो । प्रदेशका दश वटै जिल्लामा कार्यक्रम कार्यान्वयन भइरहे पनि प्रभावकारी हुन सकेको छैन । सीपसँगै प्रविधि हस्तान्तरण गरेर नागरिकलाई उद्यमी बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको ७० प्रतिशत र व्यक्तिको ३० प्रतिशत लगानी रहने गरी सीपसँगै प्रविधि हस्तान्तरण गर्ने लक्ष्य सरकारको थियो ।

कार्यक्रममा लागि आर्थिक वर्ष २०७९/०८० मा करिब एक करोड बजेट विनियोजन गरिएको थियो । उक्त वर्षबाट दश वटै जिल्लामा कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको निरन्तरताका लागि आर्थिक वर्ष २०८०/०८१ मा तीन करोड ९५ लाख बजेट विनियोजन गरिएको थियो । उक्त वर्ष १४ दशमलव ८३ प्रतिशत मात्र बजेट कार्यान्वयन भयो । चालु आर्थिक वर्ष २०८१/०८२ मा सरकारले एक करोड ३५ लाख बजेट विनियोजन गरेको छ । यो वर्षदेखि नाम परिवर्तन गरेर कार्यक्रम कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ । उद्यम विकास प्रवद्र्धन कार्यक्रमको नाम परिवर्तन गरेर ‘सीपसँग सहयोग कार्यक्रम’ नामाकरण गरिएको छ । यो वर्ष प्रदेशका नौ वटा जिल्लामा मात्र कार्यक्रम कार्यान्वयन हुनेछ । कार्यक्रम कार्यान्वयनका लागि एक करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । उद्यमशीलता विकास, रोजगारमूलक तालिम र प्रविधि हस्तान्तरणमार्फत् उद्यमीहरूलाई उत्प्रेरित गरिने प्रदेश सरकारले जनाएको छ । यो वर्षदेखि प्रभावकारी रूपमा कार्यक्रम कार्यान्वयनमा लैजाने योजना सरकारले अघि सारेको छ ।

दुई वर्षदेखि कार्यान्वयन भइरहेको उद्यम विकास प्रवद्र्धन कार्यक्रम सुर्खेतमा कटौती भएको छ । सुरुका दुई आर्थिक वर्षमा भने सुर्खेतमा कार्यक्रम कार्यान्वयन भएको थियो । आर्थिक वर्ष २०७९/०८० बाट कार्यक्रम सुरु गरिएको थियो । सुर्खेतमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले कार्यक्रम कार्यान्वयन गरेको थियो । उक्त वर्ष कार्यक्रम कार्यान्वयनका लागि ५० लाख बजेट विनियोजन गरिएको थियो । यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा बजेट घटाएर १५ लाख मात्र विनियोजन गरिएको थियो । गत आर्थिक वर्षमा बजेट घटाएको प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट नै कटौति गरेको छ । यो वर्ष उद्यम विकास प्रवद्र्धन कार्यक्रम कार्यान्यन हुनेछैन । चालु आर्थिक वर्षमा सरकारले कार्यक्रमको नामसमेत परिवर्तन गरेको छ । यो वर्षदेखि सीपसँग सहयोग कार्यक्रमको नामाकरण गरिएको छ । सुर्खेतमा कार्यान्वयनमा आएको दुई आर्थिक वर्षमा समेत कार्यक्रम प्रभावकारी हुनसकेको थिएन ।

प्रकाशित मितिः   २७ मंसिर २०८१, बिहीबार १२:०५