औद्योगिक विकासका लागि मितेरी सम्बन्ध

सुर्खेत: आर्थिक तथा औद्योगिक विकासमा सहकार्य गर्न सुर्खेत उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीबीच मितेरी सम्बन्ध जोडिएको छ । समन्वय र सहकार्यमार्फत् आपसी सम्बन्ध सुदृढ गर्नुका साथै आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिन दुई उद्योग वाणिज्य संघबीच मितेरी सम्बन्ध कायम गरिएको जनाइएको छ ।

सोमवार भैरहवामा सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल र सिद्धार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले मितेरी सम्बन्ध कायम गर्दै सहकार्यका लागि १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । मितेरी लाउँदा सुर्खेतका अध्यक्ष कँडेलले समकक्षी श्रेष्ठलाई कर्णालीको विशेषता र पहिचान बोकेको अल्लोको टोपी र जुत्ता कोशेली दिए भने श्रेष्ठले ढाका टोपी लगाई दिएर अंकमाल गरेका थिए ।

समझदारीपत्रमा बुद्धजन्मस्थल लुम्बिनी र कर्णालीको ऐतिहासिक धरोहर काँक्रेविहारलाई जोड्ने गरी बौद्ध सर्किट स्थापना गरी दुवै क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार एवम् प्रवद्र्धन गर्ने गरी संयुक्त पर्यटन प्याकेज विकास गर्ने उल्लेख गरिएको छ । त्यसैगरी दुवै क्षेत्रमा औद्योगिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने, ज्ञान, सीप, अनुभव र सूचनाहरू आदानप्रदान गर्ने र आवश्यक्ताअनुसार संयुक्त रूपमा कार्यक्रमहरू आयोजना गर्ने जनाइएको छ ।

स्थानीय उत्पादनहरूका लागि बजार पहिचान, प्रवद्र्धन र बजारीकरणका लागि सहकार्य गर्ने, दुवै संघका सदस्य तथा सचिवालय कर्मचारी क्षमता अभिवृद्धिका लागि संयुक्त तालिम, प्रशिक्षण गर्ने घोषणा गरिएको छ । यसबाहेक पनि दुवै सहरको औद्योगिक तथा व्यापारिक विकासका लागि आवश्यकपर्ने भौतिक पूर्वाधार निर्माणका लागि संयुक्तरूपमा पहल गर्ने, पैरवी, सहकार्य गर्ने जनाइएको छ । दुई क्षेत्रका उद्योगीहरूले संयुक्त लगानीमा नयाँ उद्योगहरू स्थापना गर्न चाहेको खण्डमा समन्वयकारी भूूमिका निर्वाह गर्ने, साझा समस्याहरूको पहिचान तथा निराकरणका लागि सहकार्य गर्ने उल्लेख छ । दुबै पक्षले बराबर आर्थिक व्ययभार व्यहोर्ने गरी वार्षिक रूपमा कम्तीमा एक वटा संयुक्त कार्यक्रम वा बैठक आयोजना गरी उपलब्धी र अवरोधहरूको समीक्षा गरिने समझदारी पत्रमा उल्लेख छ ।

कार्यक्रममा सिद्धार्थ नगरका अध्यक्ष श्रेष्ठले विभिन्न भौगोलिक क्षेत्रका उद्योग वाणिज्य संघहरूबीचको सहकार्य र साझेदारीले समग्र देशको व्यापारिक वातावरणलाई सबल बनाउने विश्वास व्यक्त गरे । दुई संघबीचको मितेरी सम्बन्धले दुबै जिल्लाको व्यापार–व्यवसाय विस्तार, उद्योग र उत्पादनको प्रवद्र्धन, लगानीका अवसरहरूको सिर्जना गर्नेमा आपूm विश्वस्त रहेको बताए । भैरहवामा रहेको अन्तर्राष्टिय विमानस्थलबाट आन्तरिक उडान गर्न सकिए पश्चिम नेपालबाट काम विशेष वा वैदेशिक रोजगारमा जाने नेपालीलाई धेरै शुलभ र सहज हुने भएकाले आपूmहरूले त्यसमा पहल गरिरहेको बताए ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष कँडेलले कर्णालीको कृषि उत्पादन र भैरहवाको औद्योगिक उत्पादनका लागि पहिलो र प्रमुख बजार रहेको उल्लेख गरे । वर्षौंदेखि नै औद्योगिक तथा व्यापारिक सम्पर्क रहेपनि अब लुम्बिनीदेखि काँक्रेविहारलाई जोडेर पर्यटकीय सम्बन्धपनि विस्तार गर्नुपर्नेमा जोड दिए । भैरहवाबाट आन्तरिक उडानका लागि अहिलेसम्म भैरहवा एक्लै बोल्दै आइरहेपनि अब त्यसमा सुर्खेतपनि थपिएका जिकिर गर्दै अध्यक्ष कँडेलले यसका लागि संघीय सरकार र निकायहरूसँग संयुक्त पपहल गर्ने प्रवितद्धता जनाए ।

प्रकाशित मितिः   २५ मंसिर २०८१, मंगलवार ०६:०२