कर्णाली र सुदूरमा वर्षात

सुर्खेत: सोमवार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात पनि भएकोे छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली देखिएको छ ।

यसैगरी मंगलवार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । मंगलवार राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

मंसिर २६ गते बुधवार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । बुधवार राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानको समयमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले यस वर्षमा हिउँदे अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ । विभागले मंसिर १६ देखि फागुन १६ सम्मको तीन महिनाको अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने अनुमान गरेको हो । कोशी प्रदेशका दक्षिणी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका दक्षिणी भू–भाग, कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग, बागमती प्रदेश, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका पश्चिमी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ । देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ ।

प्रकाशित मितिः   २५ मंसिर २०८१, मंगलवार ०६:०१