सुर्खेतमा कांग्रेसभित्र उम्मेदवार छनौटको रडाको

उम्मेदवार छनौटमा विवाद भएपछि नेपाली कांग्रेसभित्र विवाद चुलिएको छ । सुर्खेतका स्थानीय तहमा उम्मेदवार छनौटमा सहमति नजुटेपछि कांग्रेसभित्र रडाको नै मच्चिएको हो । नेतृत्वले एकलौटी उम्मेदवार छनौट गरेको भन्दै असन्तुष्ट पक्षले जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलले जिल्लाका सबै स्थानीय तहका लागि उम्मेदवार छनौट गरेर निर्वाचनमा केन्द्रित भइसक्दा पनि कांग्रेसभित्र सहमति जुट्न नसकेको हो । उम्मेदवार छनौटकै विषयमा उत्पन्न भएको विवाद बुधवारबाट सडकमै छताछुल्ल भएको छ ।

उम्मेदवार छनौटमा देखिएको विवादले यतिबेला कांग्रेस नेताहरू सकसमा छन् । नगरपालिका, गाउँपालिकादेखि वडासम्मका सबै पदमा उम्मेदवारका आकांक्षीहरू धेरै भएपछि नेताहरूलाई उम्मेदवार टुंग्याउन सकस भइरहेको हो । निर्वाचनको मिति नजिकिदै जाँदा कांग्रेसभित्र उम्मेदवार छनौटमा देखिएको विवाद छताछुल्ल हुँदै गएको छ । उम्मेदवार छनौटकै विषयलाई लिएर बुधवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको पार्टी कार्यालयमा तालाबन्दी समेत भएको हो ।

उम्मेदवार छनौटमा एकलौटी निर्णय गरिएको र जनमतको कदर नगरिएको भन्दै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् । वडा नम्बर ६ का दुई तिहाई कार्यकर्ताले उपेन्द्र खड्कालाई वडा अध्यक्षको उम्मेदवार बनाउनुपर्ने दवाव दिदैं आएका थिए । तर क्षेत्रीय समितिले त्यसको सुनुवाइ नगरी अर्कै व्यक्तिलाई उम्मेदवार बनाएको बताइएको छ । स्रोतका अनुसार क्षेत्रीय समितिले वडा नम्बर ६ को अध्यक्षमा मोतीप्रसाद कँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसको विरोधमा असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा नम्बर ६ का सक्रिय सदस्य तुलसीदास बिसीले क्षेत्रीय समितिले गरेको निर्णय तुरुन्त सच्याउन माग
गरे । उनले निर्णय नसच्याउँदासम्म कार्यालयमा तालाबन्दी जारी रहने बताए । कार्यकर्ताहरूको भावना नबुझेर उम्मेदवार बनाउँदा पार्टीले पराजय व्यहोर्नुपर्ने भन्दै बिसीले बहुमत कार्यकर्ताको माग सम्बोधन गर्न नेतृत्वसँग आग्रह गरे ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ मा मात्र होइन वडा नम्बर १ र ५ का साथै लेकवेशी नगरपालिकाको उम्मेदवार छनौटमा समेत कांग्रेसभित्र चरम विवाद सिर्जना भएको छ । क्षेत्रीय समितिले लेकवेशीको मेयरमा उमेश पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर उक्त निर्णयको विरोध गर्दै असन्तुष्ट पक्षले बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन नै आयोजना ग¥यो । पार्टीको क्षेत्रीय सभापतिमा पराजित भएका कर्ण रानाले आफूहरूको सहमतिविना नै एकलौटी रूपले उम्मेदवार छनौट गरिएको भन्दै आपत्ति जनाए । जनतामाझ लोकप्रिय टोपबहादुर टंलामीलाई मेयरको उम्मेदवार बनाइनुपर्ने आफूहरूको मागलाई नेतृत्वले बेवास्ता गरेको आरोप उनको छ । निर्णय पुस्तिकामा आफ्नो असहमति जाहेर गर्न समेत नदिएर जबर्जस्ती निर्णय गरिएको समेत उनको गुनासो छ । रानाले तत्काल क्षेत्रीय समितिको निर्णय सच्याएर कार्यकर्ताहरूको चाहनालाई मध्यनजर गर्दै उम्मेवार छनौट गर्न माग गरे । माग सम्बोधन नभएमा आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिए ।

त्यसैगरी वीरेन्द्रनगरको वडा नम्बर ५ मा पनि वडा कमिटीले सिफारिस गरेका चार जनालाई बाहिर राखेर अन्य व्यक्तिलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको भन्दै विरोध गरिएको छ । वडा अध्यक्षका आकांक्षी ललित भट्टराईसहितका नेता कार्यकर्ताले उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन् । यस्तै वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि पनि सहमति जुट्न नसकेपछि घोषणा हुन सकेको छैन । यद्यपि नेतृत्वले नगरसभापति देवकुमार सुवेदीलाई मेयर र महिला संघका केन्द्रीय कोषाध्यक्ष जानकी सिंहलाई उप–मेयरको उम्मेदवार बनाउने निर्णय गरीसकेको स्रोतले जनाएको छ । विवादका कारण घोषणा हुन नसकेको बताइएको छ । वीरेन्द्रनगरमा मात्र होइन जिल्लाका अधिकांश स्थानमा उम्मेदवार छनौटमा विवाद देखिएपछि कांग्रेसका नेता तथा कार्यकर्तामा यतिबेला निर्वाचनमा पराजय व्यहोर्नुपर्ने चिन्ता छाएको छ ।

लेकवेशी र चिंगाडको टुंगो

नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर २ ले लेकवेशी नगरपालिका, चिङ्गाड गाँउपालिका र वीरेन्द्रनगर नगरपालिकाका केही वडाहरूको उम्मेदवारको टुंगो लगाएको छ । लेकवेशी नगरपालिकाको मेयरमा उमेश पौडेल र उपमेयरमा लिलमती विकलाई उम्मेदवार बनाएको छ ।

चिङ्गाड गाउँपालिकाको अध्यक्षमा देवबहादुर चन्द र उपाध्यक्षमा मनमाया आचार्यलाइ उम्मेदवार बनाइएको छ । वीरेन्द्रनगर नगरपालिका केही वडा बाहेक अन्य वडामा उम्मेदवार चयन गरिएको छ । वीरेन्द्रनगर–१ मा नवल गिरी, वडा नं. २ मा कालाराम धौलाकोटी, ५ मा राजबहादुर गुरूङ्ग, वडा नं. ६ मा मोतीप्रसाद कँडेल, ७ मा धु्रव चपाईं, ८ मा चन्द्र आचार्य, ९ मा सुरेश मान्धरलाई उम्मेदवार छनौट गरिएको हो ।

यस्तै १० मा रविन्द्रजंग शाही, ११ मा कुलबहादुर खत्री, १२ मा बुद्घिप्रसाद सापकोटा, १३ मा हिरालाल आचार्य, १५ मा रुद्रबहादुर खत्री, १६ मा पूर्णबहादुर ढकाललाई उम्मेदवार बनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका २, ३ र १४ नम्बरका वडा क्षेत्र नम्बर ३ मा पर्ने भएकाले यसको टुंगो क्षेत्र नम्बर २ र ३ को संयुक्त भेलाले गर्ने क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति नारायण कोइरालाले जानकारी दिए ।

यस्तै लेकवेशी नगरपालिकाको वडा नम्बर १ मा हरिमन घले, २ मा देवबहादुर पचभैया, ३ मा लिलाराम अघिकारी, ४ मा खगेन्द्रबहादुर रुचाल, ५ मा झक्कबहादुर विर्कट्टालाई उम्मेदवार बनाइएको छ । यस्तै ७ मा छविलाल गेलाङ, ८ मा दुर्गबहादुर टंलामी, ९ मा गंगाबहादुर सोमै, १० मा कमलप्रसाद आचार्य उम्मेदवार उठाएको छ ।

प्रकाशित मितिः   १४ बैशाख २०७४, बिहीबार ११:१५