कर्णाली याक्स पराजित
सुर्खेत: नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको सुरुवात सुखद् रहन सकेन । सोमवार भएको पहिलो खेलमै पराजित भएको छ । जनकपुर बोल्ट्सले कर्णालीलाई आठ विकेटले पराजित गरेको हो ।
अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुरले लिगमा लगातार दोस्रो विजय हात पारेको छ । जनकपुरले एक सय ४२ रनको लक्ष्य १५.१ ओभरमा पूरा ग¥यो । जनकपुरको यो लगातार दोस्रो जित हो । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई आठ विकेटले पराजित गरेको थियो । कर्णालीले पहिलो खेलमा हार व्यहोरेको हो ।
पावरप्लेको ६ ओभरमा ५५ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा ८५ रन जोडेर विजयको मजबुत आधार तयार पारेको थियो । आसिफ र अनिलले पहिलो विकेटमा ८४ रन जोडे । आसिफ १०औँ ओभरमा २९ बलमा ३६ रन बनाइ आउट भए । आफ्नो पहिलो ओभर लिएर आएका मौसम ढकालले उनलाई लङ अनमा क्याच आउट गराएका थिए । अनिलले अविजित ६२ रन बनाए । उनले ४२ बल खेली ६ चौका र तीन छक्का प्रहार गरे ।
त्यसअघि भारतीय स्टार ब्याटर शिखर धवनलाई उतारेको कर्णालीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले सात विकेट गुमाई एक सय ४१ रन बनाएको थियो । अन्तिम दुई ओभरमा अर्जुन घर्ती र सोमपाल कामीले ४३ रन जोडेपछि कर्णालीको स्कोर हेर्न लायक बनेको थियो । १९औँ ओभरमा हर्ष ठाकेरलाई दुई छक्का र दुई चौका प्रहार गरेका अर्जुन अन्तिम ओभरमा ३३ रनमा रनआउट भए । उनले २२ बल खेलेका थिए । अन्तिम ओभरमा २१ रन प्रहार गरेका सोमपाल १३ बलमा तीन चौका र एक छक्का प्रहार गरी २९ रनमा अविजित भए ।
देव खनाल र धवन ओपनिङ जोडीको रूपमा आएका थिए । देवलाई एक रनमा ललित राजवंशीले बोल्ड गरीदिए । धवनले तीन चौका प्रहार गर्दै १४ बलमा १४ रन बनाए । क्यानेडियन खेलाडी ठाकेरले धवनको अफ स्टम्प उडाइदिए । मोहम्मद मोहसिनले चाडविक वाल्टनलाई आठ र बाबर हायतलाई १२ रनमा आउट गरे । २५ बल खेलेका हायतले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । हायत अघि न्युल्यिान्डका अलराउन्डर जिम्मी निशमले जेशन मक्सुदलाई शून्य रनमा बोल्ड गरेका थिए ।
गुलशन झाले कर्णालीबाट सर्वाधिक ३६ रन बनाए । उनले २७ बल खेली एक चौका र तीन छक्का प्रहार गरे । मोहसिनले चार ओभरमा १४ रनमात्र खर्चेर दुई विकेट लिए । ललितले चार ओभरमा १६, किशोर महतोले चार ओभरमा २८ र ठाकेरले चार ओभरमा ४५ रन खर्चेर एक–एक विकेट लिए ।
प्रकाशित मितिः १८ मंसिर २०८१, मंगलवार ०६:०२
साझा बिसौनी ।