स्थानीय तह उपनिर्वाचन: कर्णालीमा ६२ प्रतिशत मत खस्यो

तिलागुफामा नेमकिपा, कुशे र सानीभेरीमा कांग्रेसको जित

सुर्खेत: स्थानीय तहको उपनिर्वाचनअन्तर्गत कर्णाली प्रदेशका विभिन्न आठ पदका लागि आइतवार मतदान भएको छ । शान्तिपूर्ण रूपमा भएको मतदानमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । कूल मतदाता संख्या ४२ हजार दुई सय ७७ रहेपनि ३८ प्रतिशत मतदाताहरूले मतदान गरेनन् । २६ हजार चार सय ६३ जनाले मात्रै मतदान गरेका छन् ।

कर्णालीमा नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच जना वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । निर्वाचन आयोगले आइतवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको थियो ।

मतदान सकिएसँगै मतगणना समेत सुरु भइसकेको छ । आइतवार साँझ यो समाचार तयार पार्दासम्म केही स्थानको नतिजा पनि आइसकेको छ । कालीकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्कराज शाही निर्वाचित भएका छन् । उनी एक सय ४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको कालीकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए ।

उनका निकटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नैशोभा शाहीले एक सय १५ मत पाइन् । उनलाई नेकपा एकीकृत समाजवादीले समेत साथ दिएको थियो । एमालेबाट ऐनबहादुर शाहीले ७८ मत पाउँदा कांग्रेसबाट पैलनबहादुर शाहीले ४९ मत पाएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ मत र स्वतन्त्र उम्मेदवारले पाँच मत पाउँदा चार मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । यो वडामा चार सय ११ मत खसेको थियो । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा यो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो । तर उपनिर्वाचनमा भने माओवादीले उक्त सिट गुमाएको छ ।

यसैगरी जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह निर्वाचित भएका छन् । सिंहले तीन सय ४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले तीन सय ३२ मत पाएका छन् । यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो । वडाध्यक्ष पदका लागि भएको मतदानमा नौ सय ५६ मत खसेको छ । यहाँ एक हजार तीन सय दुई मतदाता थिए । त्यसमध्ये ७३.४६ प्रतिशत मत खसेको हो ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि भएको मतदानमा ६४.६४ प्रतिशत अर्थात् १० हजार ६ सय सात मत खसेको छ । यहाँ कूल मतदाता संख्या १६ हजार चार सय ९९ थियो । नलगाडको उपप्रमुखका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ ।

यसैगरी रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदमा पनि नेपाली कांग्रेसले जित हात पारेको छ । कांग्रेसका मोतिराम खत्री पाँच सय ९० मतसहित विजयी भएका हुन् । माओवादी केन्द्रका जसिराम बस्नेतले पाँच सय ३७ मत पाए । यहाँ यसअघि नेपाली कांग्रेसले जितेको थियो । एमालेले भने उम्मेदवारी दिएको थिएन ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको मतदानमा ६८.५४ प्रतिशत अर्थात् चार हजार ६ सय २४ मत खसेको छ । ६ हजार आठ सय १० मतदाता रहेकोमा चार हजार ६ सय २४ मत खसेको हो । उपाध्यक्षका लागि कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार दिनेमा नरेश शाही र रामसरा खड्का शाही उम्मेदवार छन् ।

यसैगरी दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको मतदानमा ५५.४५ प्रतिशत अर्थात् ६ हजार नौ सय ८८ मत खसेको छ । पालिकामा १२ हजार ६ सय १४ मतदाता छन् । यद्यपि, मतदाताको तुलनामा कम मतदान भएको छ । पालिका अध्यक्षका लागि नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा (माओवादी केन्द्र) बाट जंगबहादुर बराल, नेकपा एमालेबाट जंगबहादुर शाहीको उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका जगतबहादुर हमालले उम्मेदवारी दर्ता गरेपनि उनले एमाले उम्मेदवार शाहीलाई समर्थन गरेका छन् ।

दैलेखकै दुल्लू नगरपालिका–१३ को वडाअध्यक्षका लागि भएको मतदानमा एक हजार पाँच सय ५८ खसेको छ । दुई हजार ६ सय मतदाता भएपनि ५६.५६ प्रतिशत मत मात्रै खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । वडा अध्यक्षका लागि ६ जना चुनावी मैदानमा छन् । कांग्रेसबाट रेशमबहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, एमालेबाट लालबहादुर शाही, राप्रपाबाट रेशमकुमार मल्ल, रास्वपाका रामबहादुर शाही र नेमकिपाबाट पुर्णप्रसाद उपाध्याय रहेका छन् ।

आइतवार मतदान भएको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि तीन सय ५३ जना मतदाता रहेकोमा ८५.८४ प्रतिशत अर्थात् तीन सय तीन मत खसेको छ । यहाँको वडाध्यक्ष पदका लागि लागि चार जनाको उम्मेदवारी दर्ता भएको थियो । समाजवादीबाट ज्योति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाँक्री र कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपानेले रहेका छन् ।

प्रकाशित मितिः   १७ मंसिर २०८१, सोमबार १०:०८