एमालेले छनौट गर्‍यो सुर्खेतमा उम्मेदवार

स्थानीय तहको चुनावका लागि नेकपा एमालेले उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । एमालेले सुर्खेतका नौ वटै स्थानीय तहमा लड्ने उम्मेदवारको टुङ्गो लगाएको हो । एमाले प्रदेश नम्बर ६ संगठन कमिटीले सोमवार सबै उम्मेदवारको अन्तिम टुङ्गो लगाएको हो ।

यसअघि स्थानीयस्तरबाट जिल्लामा उम्मेदवारको नाम सिफारिस भएको थियो । जिल्ला कमिटीले प्रदेश कमिटीमा उक्त नाम छनौटका लागि सिफारिस गरेको थियो । एउटा तहमा तीन जनाको दरले नाम सिफारिस गरिएको भए पनि प्रदेश कमिटीले उम्मेदवारको अन्तिम नाम छनौट गरेको हो । एमाले सुर्खेतका अनुसार जिल्लाका पाँच नगरपालिका र चार गाउँपालिकामा चुनाव लड्ने प्रमुख र उपप्रमुख पदका उम्मेदवार छनौट भएका छन् ।

यो प्रदेशकै ठूलो र चासोको रूपमा हेरिएको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेले बालाराम शर्मा र उपमेयरमा मोहनमाया ढकाललाई उम्मेदवार बनाएको छ । वीरेन्द्रनगरका पूर्व मेयरसमेत रहेका शर्मा यसअघि २०५४ को निर्वाचनमा निर्वाचित भएका थिए । उनी हाल एमालेको अनुशासन आयोगका केन्द्रीय सदस्य हुन् । यस्तै उपमेयरका उम्मेदवार ढकाल एमालेको महिला संगठन अनेमसंघका जिल्ला अध्यक्ष हुन् । यस्तै एमालेले यसपटक अधिकांश जिल्लास्तरका नेतालाई नै उम्मेदवार बनाएको छ । अर्कोतर्फ उम्मेदवार छनौट भएकाहरूमा धेरै जना युवा छन् । चुनाव जित्नका लागि जिल्ला तहका र जनताको बीचमा घुलमिल भएकाहरूलाई उम्मेदवार बनाइएको एमालेको दाबी छ ।

भेरीगंगा नगरपालिकाको मेयरमा जिल्ला कमिटी सदस्य यज्ञ ढकाल छनौट भएका छन् । उनी छिन्चुका हुन् । यस्तै उपमेयरमा चन्द्रा आचार्यलाई टिकट दिइएको छ । उनी रामघाट निवासी हुन् । जिल्लाको गुर्भाकोट नगरपालिकाको मेयरमा एमालेले देवबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ । जिल्ला कमिटी सदस्य खत्री सहारे निवासी हुन् । यस्तै उपमेयरमा दहचौर निवासी सुशीला विश्वकर्माले टिकट पाएकी छन् । एमाले प्रदेश कमिटीका अनुसार लेकवेशी नगरपालिकाको मेयरमा गगनसिं सुनारलाई उम्मेदवार बनाइएको छ । उनी एमाले सुर्खेतका पूर्व जिल्ला कमिटी सचिव हुन् । उनी लेखफर्सा निवासी हुन् । यस्तै उपमेयरमा साटाखानी निवासी शान्ती छन्तेललाई टिकट दिइएको एमालेले जनाएको छ । जिल्लाको पश्चिमा रहेको एकमात्र पञ्चपुरी नगरपालिकाको मेयरमा मनबहादुर विक उम्मेदवार बन्न सफल भएका छन् । जिल्ला कमिटी सदस्यसमेत रहेका उनी बावियाचौर निवासी हुन् ।

यस्तै उपमेयरमा अनेमसंघका जिल्ला सदस्य राजकुमारी तिवारीलाई उम्मेदवार बनाइएको छ । उनी विद्यापुर निवासी हुन् । जिल्लाकै पश्चिममा रहेको चौकुने गाउँपालिकाको अध्यक्षमा धिरबहादुर शाही उम्मेदवार बनेका छन् । घाटगाउँ निवासी उनी एमालेका पूर्व जिल्ला कमिटी सदस्य हुन् । यस्तै उपाध्यक्षमा निर्मला मगरलाई उम्मेदवार बनाइएको छ । उनी गुटु निवासी हुन् । यस्तै एमालेले बराहताल गाउँपालिकाको अध्यक्षमा ताराकेशर गौतमलाई उम्मेदवार बनाएको छ । कुनाथरी गाविसका तत्कालीन अध्यक्षसमेत रहेका उनी एमालेका जिल्ला नेता हुन् । यस्तै उपाध्यक्षमा हरिहरपुर निवासी आशा थापालाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी चिङ्गाड गाउँपालिकाको अध्यक्षमा जिल्ला कमिटी सदस्य बखतबहादुर खत्री उम्मेदवार बनेका छन् । उनी मटेला निवासी हुन् । उपाध्यक्षमा अवलचिङ्ग निवासी दीपा रानालाई उम्मेदवार बनाइएको छ ।

जिल्लाको पूर्वमा पर्ने सिम्ता गाउँपालिकाको अध्यक्षमा कविन्द्रकुमार केसीले टिकट पाएका छन् । राकम निवासी उनी एमाले जिल्ला कमिटी सदस्य हुन् । यस्तै उपाध्यक्षमा चन्द्राकुमारी शाहीलाई उम्मेदवार बनाइएको छ । उनी काफलकोट निवासी हुन् । केही वडामा बाहेक सबैमा उम्मेदवारको टुङ्गो लागेको एमाले सुर्खेतका सचिव मोहन बडुवालले जानकारी दिए । उनका अनुसार सबै उम्मेदवारहरू सर्वसम्मत् रूपमा छनौट गरिएको हो । उम्मेदवारहरू प्रचारका लागि गाउँ पसिसकेको उनको भनाइ छ । यसैबीच उम्मेदवारका लागि स्थानीयस्तरबाट सिफारिस भएको तर अन्तिम छनौटमा नपरेकाहरूले भने असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा नै आफ्नो असन्तुष्टी पोख्दै नेतृत्वको तीव्र आलोचना गरेका हुन् ।

प्रकाशित मितिः   १३ बैशाख २०७४, बुधबार १२:०२