समन्वय समिति गठन

सुर्खेत, १४ मााघ । (साबिस)
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सुर्खेतको कार्यकारी परिषद् र सेवा आयोगबीच आपसी सहमति, सहकार्य र सह–अस्तित्वमा रहेर विश्वविद्यालयका गतिविधिहरू अगाडि बढाउन समन्वय समिति गठन गरिएको छ । बिहीवार बसेको संयुक्त बैठकले समिति गठन गरेको हो । 
उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला, सेवा आयोगका अध्यक्ष प्रा.डा. नवराज कणेल, रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल र  सेवा आयोगका सदस्य प्रा.डा. श्रीरामप्रसाद उपाध्याय  रहेको एक समन्वय समिति गठन गरिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीको स्थायित्व र पदोन्नतिको प्रक्रिया अगाडि बढाउन सेवा आयोगका अध्यक्ष र सदस्यले विशेष अदालतबाट सफाइ पाए लगत्तै शिक्षक तथा कर्मचारी नियुक्तिका आधार, कार्य सम्पादन मूल्याङ्कन कार्यक्षमता, अङ्क विभाजन तथा सिफारिस सम्बन्धी कार्यविधिलाई अन्तिम रूप दिन र अन्य आवश्यक कागजातसहित प्रक्रिया अगाडि बढाउन विश्वविद्यालयको कार्यकारी परिषद् र सेवा आयोग बीच  समन्वय गर्ने काम उक्त समन्वय समितिले गर्ने जनाइएको छ । उपकुलपति प्रा.डा. कोइरालाको अध्यक्षतामा बसेको उक्त बैठकले विश्वविद्यालयको प्रशासनिक, शैक्षिक प्राज्ञिक उन्नयन र विकासका लागि विगतको समीक्षासहित आगामी दिनमा सहकार्य र सहमतिमा काम गर्ने निर्णय समेत गरेको छ । 
प्रकाशित मितिः   १५ माघ २०७२, शुक्रबार १०:५५