अघि बढ्दै उद्योग
पश्चिम सुर्खेतमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारको लगानीमा सडक विस्तारको काम अघि बढाइएको हो । प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दश किलोमिटर सडक निर्माण गर्नेगरी प्रक्रिया थालेको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । २०८१ असोज ९ गते सडक निर्माणका लागि ठेक्का आह्वान गरेको हो । अहिले ३१ वटा निर्माण कम्पनीले आवेदन दर्ता गराएका छन् । निर्माण कम्पनी छनौट गरेर सडक निर्माणको काम अघि बढाइने छ । सडक निर्माणका लागि गत वर्ष नै बजेट विनियोजन गरिएको भएपनि यो वर्ष मात्र सडक निर्माणको प्रक्रिया थालिएको हो ।
उद्योगसम्म पुग्ने दश किलोमिटर सडक निर्माण गर्न लागिएको छ । त्यसका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो । बराहताल गाउँपालिका वडा नं. ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म दश किलोमिटर सडक निर्माण गरिनेछ । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले यसअघि नै सडक निर्माणका लागि डीपीआर निर्माण गरिसकेको छ । डीपीआर अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्र्भट निर्माण र ग्रावेलसम्मका काम गरिनेछ । गत वर्ष नै बजेटको स्रोत सुनिश्चितता भइसकेको छ । गत वर्ष नै वातावरणीय प्रभाव मूल्यांकन (इआईए) स्वीकृत भएको छ । राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण गर्न लागिएको छ । सडक निर्माण गर्दा तीन हजार तीन सय ३७ रुख कटान गर्नुपर्नेछ । अहिले रुख कटानको समेत अनुमति आइसकेको छ । पूर्वाधार अभावका कारण उद्योगको काम अघि बढ्न सकेको थिएन । पछिल्लो समय संघ र प्रदेश सरकारले यस विषयमा चासो दिएको छ । उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको छ ।
दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको छ । १४ अर्बभन्दा बढी को लगानीमा उद्योग सञ्चालन हुन लागेको हो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ । अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका वडा नं. ७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ ।
प्रकाशित मितिः १२ मंसिर २०८१, बुधबार ०६:०३
सम्पादकीय ।