स्थानीय चुनाव लड्न शिक्षकद्वारा धमाधम राजीनामा
सुर्खेत, १० वैशाख ।
स्थानीय तहको चुनावमा उम्मेदवार बन्न शिक्षकहरूले धमाधम राजीनामा दिएका छन् । यही वैशाख २९ गतेका लागि तय भएको उक्त निर्वाचनमा उम्मेदवारी दिन उनीहरूले राजीनामा दिएका हुन् । मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयका अनुसार प्रदेश नम्बर ६ का विभिन्न जिल्लामा दर्जनौं शिक्षकले राजीनामा दिएका छन् ।
सुर्खेतमा मात्रै स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नको लागि एक दर्जन बढी शिक्षकहरूले आफ्नो जागिरबाटै राजीनामा दिएका छन् । शिक्षक त्यागेर उनीहरू उम्मेदवार बन्ने दौडमा होमिएका हुन् । नगरपालिकाको मेयर र गाउँपालिकाको प्रमुख बन्नका लागि शिक्षकहरूले पेसा छोडर राजनीतिमा होमिएका हुन् । शिक्षण पेसाबाट अवकाश पाउने समय बाँकी भए पनि उनीहरूले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
शिक्षा कार्यालयका अनुसार मावि ईत्रामका गेहेन्द्रप्रसाद दहाल, शिखर मावि रामघाटका धनसिंह खड्का र नरहरि भट्टराई, हरिडिलभूमि आधारभूत विद्यालय तातापानीका केदार कँडेल र नेरा मावि वीरेन्द्रनगरका पार्वती गिरीले राजीनामा दिएका छन् । यस्तै नेरा मावि मटेलाका शिक्षक बोधविक्रम जिसी, सिद्ध मावि गढीका नगेन्द्रप्रसाद न्यौपाने, नेरा प्राविका शिक्षक झक्कडबहादुर पुलामी र मावि मेहेलकुनाका शिक्षक दलबहादुर सिंहले जागिरबाट राजीनामा दिएका छन् । शिक्षा कार्यालयका सूचना अधिकारी भोजप्रसाद लम्सालले सेवा अवधि बाँकी भए पनि उनीहरूले स्वैच्छिक राजीनामा दिएका हुन् । उनका अनुसार चुनाव घोषणा भएपछि जिल्लामा एक दर्जन भन्दा बढी शिक्षकले राजीनामा दिएका छन् ।
राजीनामा दिएका कतिपय शिक्षकहरूले आफ्नो उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । अवकाश हुन सात वर्ष बाँकी रहँदै राजीनामा दिएका शिक्षक गेहेन्द्रप्रसाद दहालले वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि उम्मेदवारीसमेत घोषणा गरिसकेका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । संविधान कार्यान्वयन र व्यवस्थित नगर निर्माणका लागि आफूले लामो शैक्षिक जीवनबाट राजीनामा दिएर मेयरका लागि उम्मेदवारी घोषणा गरेको दहाल बताउँछन् । राजनीतिक दलका नेताहरूमा भिजन नहुँदा आफू शिक्षण पेसाबाट राजीनामा दिएर राजनीतिमा होमिएको उनको भनाइ छ । ‘देशमा पटक–पटक व्यवस्था परिवर्तन हुँदा पनि समुदाय र राष्ट्रको विकास नेताहरूबाट सम्भव भएन, अब हामी जस्ता शिक्षकहरू राजनीतिमा होमिनु परेको छ,’ उनले भने ।
यस्तै स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नै जाजरकोटमा हालसम्म ६ जना शिक्षकहरूले राजीनामा दिएको मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ । उम्मेदवारी दिने अन्तिम मितिसम्म अँझ धेरै शिक्षहरूको राजीनामा आउनसक्ने निर्देशनालयले जनाएको छ । यस्तै कालिकोट, हुम्ला, जुम्ला, डोल्पा, मुगु, रुकुम, दैलेख लगायतका जिल्लाहरूमा शिक्षकहरूले धमाधम निर्वाचनलाई लक्षित गरी राजीनामा दिइरहेको बताइएको छ । गाउँपालिका प्रमुखको उम्मेदवार बन्नका लागि जुम्लाका शिक्षक पूर्णप्रसाद धितालले पनि राजीनामा दिएका छन् । अवकाश पाउन समय बाँकी रहँदै पनि राजनीतिक क्षेत्रमा प्रवेश गरी गाउँ विकासमा सहभागी हुने उद्देश्यले शिक्षण पेसाबाट राजीनामा दिएको उनको भनाइ छ । धितालले नेपाल मजदुर किसान पार्टीको तर्फबाट सिंजा गाउँपालिकाको प्रमुखको उम्मेदवारी घोषणा गरिसेकेका छन् ।
लामो समयसम्म नेताहरूले नेतृत्व सम्हाले पनि दिगो विकास गर्न नसकेकोले नयाँ भिजनसहित राजनीतिमा प्रवेश गरेको धिताल बताउँछन् । यस्तै प्रायःजसो सबै जिल्लामा अहिले धमाधम शिक्षकहरूले पेसाबाट राजीनामा दिँदै स्थानीय तहको निर्वाचनमा होमिएका छन् । जागिरबाट राजीनामा दिएका शिक्षहरूले मेयरदेखि वडा अध्यक्षसम्मको उम्मेदवारी दाबी गरिरहेका छन् । उसो त राजनीतिक दलका अधिकांश कमिटीहरू शिक्षकले नै चलाएका छन् । कमिटीमा आवद्ध भएको र स्थानीयस्तरमा जनतासँग घुलमिल भएकाले पनि दलहरूले शिक्षकलाई नै उम्मेदवार बन्न दबाब दिइरहेका छन् । कतिपय दलभित्र शिक्षकलाई उम्मेदवार बनाउनेतर्फ नेतृत्व लागेपछि कार्यकर्ताहरू निराश बनेका छन् ।
यसैबीच स्थानीय चुनावमा युवा नेतृत्वको चर्चा बढेको छ । राजनीतिक दलहरू उम्मेदवार छनौटमा व्यस्त रहँदा युवालाई उम्मेदवार बनाउन दबाब बढ्दै गएको हो । दलहरूले उमेर ढल्केका र पाका व्यक्तिले चुनाव जित्ने आँकलन
गर्दै उम्मेदवारमा सिफारिस गरे पनि युवा उम्मेदवारको चर्चा बढी छ । निर्वाचन आउन करिब तीन साता मात्रै बाँकी छ । राजनीतिक दलहरूले गाउँ–गाउँमा आफ्ना सभा सम्मेलनहरूको आयोजना गरी भोट माग्न अभियानलाई निकै तीव्रता दिएका छन् । विगतको तुलनामा यसपाली स्थानीय तहमा जनप्रतिनिधिलाई बढी अधिकार भएकाले पनि नेतृत्व हात पार्न दलहरू कम्मर कसेर लागेका छन् । प्रदेश नम्बर ६ मा राजनीतिक दलको चुनावी अभियान चुलिएको छ । प्रदेशकै १० वटा जिल्लामा चुनावी अभियानले गाउँहरू उल्लासमय बनेका छन् ।
साझा बिसौनी संवाददाता ।