पदभार ग्रहण

सुर्खेत, १० वैशाख । (साबिस)
नेपाल पत्रकार महासंघ सुर्खेतमा निर्वाचित नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । शुक्रवार सम्पन्न १० औं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आइतवार पदभार ग्रहण गरेको हो ।
निर्वाचन समितिले उनीहरूलाई पद तथा गोपनियताको सपथ खुवाएको हो । यस्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा आइतवार नै सम्पन्न भएको छ । बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । यस्तै महासंघले आगामी तीन वर्षका लागि कार्ययोजना बनाउने भएको छ । त्यसका लागि खाका बनाउने र अर्को बैठकमा प्रस्तुत गरिनेछ ।
यसैबीच प्रगतिशील प्यानलबाट निर्वाचित प्रदेश पार्षद्हरूलाई भने सपथ ग्रहण कार्यक्रममा सहभागी गराइएन । २१ जना प्रदेश पार्षद्लाई सहभागी नगराएको भन्दै प्रेस चौतारी नेपाल सुर्खेतले आपत्ति जनाएको छ । महासंघलाई साझा संस्था बनाउन आग्रह गर्दै चौतारीले तत्काल सपथ ग्रहण नगराइए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिइएको छ ।