पाविया विश्वविद्यालयद्वारा कार्यपत्र प्रस्तुत

सुर्खेत, १० वैशाख । (साबिस)
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय, मानविकी र सामाजिकशास्त्र संकायको आयोजनामा आइतवार केन्द्रीय क्याम्पसमा दिगो विकास लक्ष्यका रूपमा स्वास्थ्यको विषयमा छलफल गरिएको छ । स्वास्थ्य क्षेत्रको विकासका लागि कार्यपत्र प्रस्तुत गर्नुका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
मानविकी र सामाजिकशास्त्र संकायका डीन खोपीराम लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालले मातृशिशु मृत्युदर लगायतका विषयमा महŒवपूर्ण उपलब्धि हासिल गरेको कार्यपत्र प्रस्तुत गरिएको थियो । पाविया विश्वविद्यालय इटलीका चिकित्साशास्त्र तथा स्वास्थ्य विज्ञानका प्राध्यापक समेत रहेका बालशल्य विशेषज्ञ डा. जियान वाशिष्ट पारीजीले नेपालको सन्दर्भमा दिगो विकासका लागि स्वास्थ्यमा मानवसूचकांक विकास महŒवपूर्ण भएको बताए । उनले स्वास्थ्य क्षेत्रको विकासले नै दिगो विकसको लक्ष्य पूरा गर्न सकिने उल्लेख गरे ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले कार्यपत्रमा विश्वविद्यालयको तर्फबाट टिप्पणी राख्दै पाविया विश्वविद्यालयसँग मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्ध स्थापनाले दुई विश्वविद्यालयबीचको शैक्षिक सम्बन्ध मजबुत भएको बताए । उनले संसारकै पुरानो र मेडिकल क्षेत्रको विश्वकै उत्कृष्ट विश्वविद्यालयसँगको सहकार्यले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मेडिकल संकाय सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विश्वविद्यालयका डीन, निर्देशक, परीक्षा अभिलेख प्रमुख, जिल्ला जनस्वास्थ्य प्रमुख, राजनीतिक दलका प्रतिनिधि, क्याम्पस प्रमुख, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ११ बैशाख २०७४, सोमबार १४:३३