पर्यटन विकासका लागि ‘पोखरालाई रारास“ग जोडौं’

सुर्खेत, ९ वैशाख ।
गर्मी मौसमको सुरुवातसँगै नेपालकै सबैभन्दा ठूलो र सुन्दर ताल रारामा घुम्न जाने पर्यटकहरूको संख्यामा वृद्धि भएको छ । रारा भ्रमणका लागि व्यवसायी तथा युवाहरू सुर्खेत हुँदै रारा जानेक्रम बढेको हो । केही समय अघिसम्म विदेशी पर्यटकहरूको अनुहार मात्र देखिने रारामा हाल सडक सञ्जालको सहज पहुँच बढेसँगै आन्तरिक पर्यटकहरूको पनि घुइँचो लाग्न थालेको छ ।
रारा घुम्न जाने जो कोही पर्यटकले पनि त्यहाँसम्म जानको लागि आवश्यक सेवा सुविधाका बारेमा सम्बन्धित क्षेत्रका व्यवसायीहरूले ध्यान दिन सुझाव दिने गरेका छन् । यस्तै, नेपालको पर्यटकीय क्षेत्र पोखरा, सुर्खेत र रारालाई पर्यटनको मार्गमा जोड्ने उद्देश्यका साथ पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूले रारा भ्रमण थालेका छन् । रारा भ्रमणका लागि सुर्खेत आइपुगेका पोखराका पर्यटन व्यवसायीहरूले शनिवार बिहान सुर्खेतमा अन्तरक्रियामा रारासम्म पुग्नका लागि पर्यटकलाई सहज वातावरण निर्माण गर्न यस क्षेत्रका सरोकारवालाले चासो देखाउनुपर्ने सुझाव दिए ।
नेपाल एशोसियसन अफ टूर्स एण्ड ट्राभल्स एनेष्ट (नाट्टा सुर्खेत) को आयोजनामा भएको उक्त कार्यक्रममा पोखरा, सुर्खेत र रारालाई पर्यटकीय मार्गमा जोड्दै विकास गर्ने बारेमा छलफल गरेका थिए । पर्यटकीय सम्भावना बोकेको यस प्रदेशमा पर्यटनको क्षेत्रमा लगानी गरी मनग्य आम्दानी गर्न सकिने सरोकारवालाहरूले बताए । प्रदेशको राजधानीका रूपमा विकास हुँदै गरेको सुर्खेतमा घुम्न आउने पर्यटकका लागि बस्ने उचित व्यवस्था नभएकोले यसतर्फ सबैले ध्यान दिन आवश्यक रहेको औंल्याए । यस्तै, उनीहरूले पछिल्लो समय सबैभन्दा राम्रो र नगद आम्दानी हुने क्षेत्र पर्यटन भएकोले यसको विकासका लागि पोखरा, सुर्खेत र रारासम्मको सम्बन्धलाई एउटै मार्गबाट अगाडि बढाउन उपर्युक्त हुने विचार व्यक्त गरे ।
रारा अवलोकन भ्रमण अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस क्षेत्रमा पर्यटनको लागि प्रचूर सम्भावनाहरू बोके पनि आवश्यक पूर्वाधारको संरचनाको विकास नभएकोले पर्यटकीय क्षेत्रहरू ओझेलमा परेको पर्यटन व्यवसायीहरूले बताएका छन् । नेपाल एशोसियसन अफ टूर्स एण्ड ट्राभल्स एनेष्ट (नाट्टा) पोखराका अध्यक्ष डिल्लीप्रसाद गौतमले बाह्य पर्यटन मात्रै नभइ आन्तरिक पर्यटनलाई पनि प्रोत्साहनका लागि विभिन्न आकर्षणका कार्यक्रमहरू ल्याउन आवश्यक रहेको बताए । भूकम्प र नाकाबन्दीपछि थलिएको नेपाली पर्यटन व्यवसायलाई माथि उकास्नको लागि आवश्यक पूर्वाधारहरूको विकास गर्न जरुरी भएको बताए । पोखरादेखि सुर्खेत हुँदै रारा तालसम्म सहज रूपमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने विषयमा सबैले सोच्न आवश्यक रहेको उनको भनाइ छ ।
पर्यटन प्रबद्र्धनका लागि आउने पर्यटकहरूलाई बस्ने उचित व्यवस्थापन हुनुपर्ने भएकोले यातायात व्यवसायी र होटल व्यवसायी पर्यटनमैत्री सेवामा समर्पित हुनुपर्ने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बताए । ‘यो क्षेत्र पर्यटनको निकै सम्भावना बोकेको ठाउँ हो,’ उनले भने, ‘त्यसलाई प्रबद्र्धन गर्नका लागि यातायात व्यवसायी र होटल व्यवसायीले आफ्नो सेवामा सुधार गर्दै जानुपर्छ ।’
उनले पोखरा जस्तै रारामा पनि पर्यटनको लागि उपयुक्त स्थान भएकोले सबै मिलेर विकास गर्नुपर्ने बताए । रारासम्म जान आउने पर्यटकहरू सुर्खेत हुँदै प्रवेश गर्ने भएकोले सुर्खेतमा पर्यटकलाई बस्न र खानको लागि सुविधा सम्पन्न होटलहरूको विकास हुन आवश्यक रहेको बताए ।

प्रकाशित मितिः   १० बैशाख २०७४, आईतवार १४:३२