बजेट अपुग

पश्चिम सुर्खेतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालको रूपमा स्तरोन्नति गर्ने योजना अन्योलमा परेको छ । प्रदेश सरकारले पञ्चपुरी नगरपालिका वडा नं. २ मा रहेको स्वास्थ्य केन्द्रलाई शैय्या थपेर सेवा विस्तार गर्ने योजना अघि सारेको थियो । तर बजेट विनियोजन नगर्दा अस्पताल स्तरोन्नति योजना अन्योलमा परेको हो । चालु आर्थिक वर्षमा सरकारले बजेट नै विनियोजन गरेको छैन । अहिले संघीय सरकारको लगानीमा १५ शैय्याको अस्पताल निर्माण भइरहेको छ । त्यसैलाई प्रदेश सरकारको लगानीमा ५० शैय्याकोे अस्पताल निर्माण गर्ने भनिएको थियो । १५ शैय्या हुँदै ५० शैय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना अलपत्र परेको हो । चालु आर्थिक वर्षमा बजेट कटौती भएसँगै अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको छ ।

प्रदेश सरकारले आफ्नो मातहतमा राख्नेगरी अस्पताल स्तरोन्नतिको योजना अघि सारेको थियो । दुई आर्थिक वर्षमा बजेट विनियोजन गरेको सरकारले चालु आर्थिक वर्षमा बजेट नै कटौती गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरेर अस्पताल स्तरोन्नतिको कार्य अघि बढाइएको थियो । उक्त आर्थिक वर्ष अस्पताल निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको भएपनि कार्यान्वयन भएन । बजेटको स्रोत सुनिश्चित नहुँदा उक्त बजेट कार्यान्वयन हुन नसकेको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा पनि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको थियो । उक्त वर्ष बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुनसकेको थिएन । पञ्चपुरी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत तयार पारिसकेको छ । अघिल्ला आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन हुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । अघिल्ला दुई आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन र स्रोत सुनिश्तिता नहुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । यो वर्ष बजेट नै कटौती हुँदा अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको हो ।

५० शैय्यामा स्तरोन्नतिको योजना मात्रै होइन निर्माणाधीन १५ शैय्याको अस्पतालका लागि समेत बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले बजेट विनियोजन नगर्दा काम अघि बढाउन समस्या भएको हो । निर्माणको करिब ९० प्रतिशत काम सकिएको छ । अब फिनिसिङ्गको काम बाँकी छ । नगरपालिकाले काम अघि बढाउन ५० लाख विनियोजन गरेको छ, संघीय सरकारले बजेट नै विनियोजन गरेन । अझै तीन करोड बजेट लाग्ने जनाइएको छ । स्रोत सुनिश्चितता नगरेर टेण्डर गरेकाले बर्सेनिमा रूपमा सरकारसँग बजेट माग गर्नुपरिरहेको छ । स्वास्थ्य संस्थाहरूको स्तरोन्नतिमा समेत सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगर्दा समस्या हुँदै आएको छ ।

प्रकाशित मितिः   १० मंसिर २०८१, सोमबार ०६:०३