कर्णालीको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण क्षेत्रहरु

 

परिचय

आर्थिक वृद्धि भन्नाले कुनै निश्चित समयअवधिमा कुनै निश्चित भूगोलमा वस्तु तथा सेवाको उत्पादनमा भएको उत्पादनको वृद्धिलाई बुझिन्छ । अर्थात् कुनै निश्चित समयावधिमा प्रति व्यक्ति जनसंख्यामा उत्पादित वस्तु र सेवाहरूको मात्रामा भएको वृद्धिलाई आर्थिक वृद्धिको रूपमा बुझ्ने गरिन्छ । जसमा वस्तु तथा सेवाको उत्पादनमा वृद्धि, प्राविधिगत सुधार, श्रम शक्तिमा वृद्धि र मानव पुँजीको वृद्धिजस्ता कुराहरू महŒवपूर्ण हुन्छन् । पुँजीगत वस्तु, श्रमशक्ति, प्रविधि र मानव पुँजीमा भएको वृद्धिले आर्थिक वृद्धिमा योगदान पु¥याउन सक्छ । यसर्थ आर्थिक वृद्धिले अर्थतन्त्रमा समग्र उत्पादनमा भएको वृद्धिलाई जनाउँछ, जुन सामान्यतया राष्ट्रिय आयमा भएको वृद्धिको रूपमा प्रकट हुन्छ । आर्थिक वृद्धिको कारण नागरिकहरूको आयस्तर वृद्धि भइ नागरिकहरूको जिवनस्तर सुधार हुनसक्छ । त्यसका साथै बजारमा वस्तु तथा सेवाको उत्पादन वृद्धि हुँदा उक्त विस्तारित अर्थतन्त्रले रोजगारीका अवसरहरू सिर्जना गर्दछ । जसले सरकारी राजश्वको मात्रामासमेत वृद्धि भइ देशको अर्थतन्त्र र सार्वजनिक खर्चलाई समेत योगदान गर्दछ । आजको यस आलेखमा कर्णाली प्रदेशको आर्थिक विकासको वर्तमान अवस्था र आर्थिक वृद्धिका मुख्य केहि विशिष्ट क्षेत्रहरू र तिनिहरूले प्रदेशको आर्थिक वृद्धिमा कसरी योगदान गर्न सक्छन् भन्ने विषयमा चर्चा गरिनेछ ।

 

प्रदेशको आर्थिक विकासको वर्तमान अवस्था

आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार पछिल्लो पाँच वर्षमा कर्णाली प्रदेशको औसत आर्थिक वृद्धिदर ४.३२ प्रतिशत रहेको छ । राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान आर्थिक वर्ष २०७५/७६ मा ३.९४% रहेको छ । जुन आर्थिक २०८०/८१ सम्म वृद्धि भइ ४.२८% मा पुगेको छ । यसले कर्णाली प्रदेशको आर्थिक वृद्धिको गतिलाई सकरात्मक रूपमा विश्लेषण गर्न सकिन्छ । ‍कर्णाली प्रदेशको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान उल्लेखनिय छ । पछिल्लो आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार कर्णाली प्रदेशको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३% रहेको छ । कर्णाली प्रदेशको कूल गार्हस्थ उत्पादनमा औद्योगिक र सेवा क्षेत्रको योगदान क्रमशः १०.२ प्रतिशत र ६०.५ प्रतिशत रहेको छ  । आर्थिक वर्ष २०८०/८१ मा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन एक हजार चार सय ३४ अमेरिकी डलर रहने अनुमान छ भने कर्णाली प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन एक हजार ६६ अमेरिकी डलर रहने अनुमान छ ।

कर्णाली प्रदेशमा उद्योगहरूको संख्या ज्यादै कम छ । आर्थिक सर्वेक्षेणअनुसार कर्णाली प्रदेशमा ३६ हजार चार सय १३ वटा लघु, घरेलु तथा साना उद्योगहरू रहेका छन् । यो मुलुकभर रहेका यी उद्योगहरूको कूल संख्याको मात्रामा ज्यादै न्यून अर्थात् ६ दशमलव दुई प्रतिशतमात्रै हो । कर्णाली प्रदेशले मुलुकको कूल क्षेत्रफलको २१ प्रतिशत भूभाग ओगटेको कर्णाली प्रदेशमा न्यून मात्रामा उद्योगहरू छन् । कर्णालीमा उद्यमका लागि र आर्थिक विकासका लागि आवश्यक पूर्वाधारहरूको प्रयाप्त विकास र विस्तार हुन सकेको छैन । पानी, बिजुली, सडक र सञ्चारजस्ता अत्यावश्यक पूर्वाधारहरूको सहज उपलब्धता नहुँदा कर्णाली प्रदेशमा मझौला तथा ठूला उद्योगहरूको संख्या बढ्न सकेको छैन् । यसर्थ पनि कर्णालीको अर्थतन्त्रमा लघु तथा घरेलु उद्योगहरूले मात्रै महŒवपूर्ण योगदान गरिरहेका छन् । संघीयतापश्चात यहाँको विकासको गति बढेको भएपनि यहाँको आर्थिक विकासलाई बढवा दिनका लागि आवश्यक भौतिक पूर्वाधार, ऊर्जा तथा प्रविधिको उपलब्धता सहज हुन सकेको छैन् । यसका साथै यहाँ व्यवसाय गर्नका लागि झन्झटिलो कर प्रशासन पनि चुनौतीको रूपमा रहेको छ । कर्णाली प्रदेशबाट कम्पनी प्रशासनको सेवा लिन संघीय राजधानी काठमाडौंमा जानुपर्ने स्थिति छ । नेपालको संविधानले कम्पनी प्रशासनको सेवा प्रदेशको अधिकारअन्तर्गत राखेको भएपनि संघीय कम्पनी ऐन संशोधन नभएको कारण प्रदेशले आफ्नो कम्पनी कानुन ल्याएर कम्पनी प्रशासन सेवा दिन सकेको अववस्था छैन ।

कर्णाली प्रदेशको आर्थिक विकासका लागि योगदान गर्न सक्ने केहि विशिष्ट क्षेत्रहरूबारे अब चर्चा गरौँ । यद्यपि, कर्णाली प्रदेशको आर्थिक वृद्धिका लागि यी क्षेत्रहरूमात्रै महत्वपुर्ण हुन् भन्न पक्कै खोजिएको होइन । अरु धेरै महŒवपूर्ण क्षेत्रहरूसमेत छन् जसले कर्णाली प्रदेशको आर्थिक विकासका लागि महŒवपूर्ण योगदान गर्न सक्छन् ।

 

जुम्लाको स्याउ

कर्णाली प्रदेशको आर्थिक विकासका लागि महŒवपूर्ण क्षेत्र जुम्लाको स्याउ हो । माधव चौलागाईंको पुस्तक सपादलक्ष कर्णालीमा उल्लेख भएअनुसार जुम्लामा स्याउको इतिहास लामो छ । वि.सं. २०२२ सालमा भारत सरकारको सहयोगमा ‘बागबानी फार्म’हरू खुल्न थाले । जुम्ला र हुम्लामा पनि एक–एकवटा फार्म खुले थिए । अन्य सन्दर्भसामग्रीहरू अध्ययन गर्दा पनि जुम्लामा स्याउको व्यावसायिक उत्पादन वि.सं. २०२० देखि २०२५ को अवधिमा सुरु गरिएको पाइन्छ । नेपाल सरकारले आर्थिक वर्ष २०५७/५८ मा स्याउ खेतीलाई प्रोत्साहन गर्न कर्णाली अञ्चल विशेष कृषि विकास कार्यक्रम सुरु गरेको थियो । तर राष्ट्रिय सडक सञ्जालसँगको पहुँच नभएका कारण जुम्लाको स्याउले बजार नपाएको अवस्थामा २०६४/६५ मा कर्णाली राजमार्ग निर्माण भएसँगै सुर्खेत तथा नेपालगञ्जमा बजार पहुँच पुग्यो ।

जुम्लाको स्याउ हाल नेपालभर चर्चामा छ । यद्यपि, मुगु, कालीकोटलगायतका कर्णालीका अन्य जिल्लामा पनि स्याउ उत्पादन हुने भएपनि स्याउ उत्पादनको मुख्य क्षेत्र जुम्लालाई नै मानिन्छ । आर्थिक वर्ष २०७७/७८ मा जुम्लामा तीन हजार एक सय हेक्टरमा स्याउ खेती भएको थियो जुन २०७८/७९ सम्ममा तीन हजार दुई सय ४४ हेक्टरमा पुगेको छ । २०७८/७९ मा ८० नयाँ घरपरिवारले स्याउ खेती र ५० देखि १५० वटा बिरुवा रोपेको तथ्यांक सार्वजनिक भएको थियो । जुम्लामा १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती गर्ने क्षमता भएपनि चार हजार हेक्टर मात्रै प्रयोग भएको छ । वि.सं. २०८०/८१ को अन्त्यसम्ममा स्याउ खेतीअन्तर्गतको क्षेत्रफल ९.७२ प्रतिशतले बढेको थियो । जुम्लामा पछिल्ला आर्थिक वर्षहरूमा स्याउको उत्पादनमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा जुम्लामा झण्डै १५ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यसमध्ये १० हजार मेट्रिक टन निर्यात भइ जिल्लाको ५० करोड आम्दानी भएको तथ्यांक सार्वजनिक भएको थियो । हाल कृषकले बगैँचामा प्रतिकिलो ४० देखि ७० रूपैयाँमा स्याउ बिक्री गर्न पाएका छन् । तर, अहिले नेपालको जुम्ला, मनाङ र मुस्ताङको उत्पादनले बजारको मागको ८ देखि १० प्रतिशत मात्रै धानेको भन्ने गरिन्छ ।

जुम्लामा यस वर्ष (२०८१) मा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । स्याउ बिक्रीबाट जुम्लामा ६१ करोड ४१ लाख रूपैयाँ आम्दानी भएको देखिन्छ । चार हजार २५० हेक्टर जमिनमा लगाइएको स्याउबाट २० हजार ५११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ  । क्षेत्रफल र उत्पादन दुवै हिसाबले जुम्लामा स्याउ खेती विस्तार भइरहेको छ । यसले स्थानीय अर्थतन्त्रलाई रोजगारी सृजना गरी प्रदेशको आर्थिक विकासमा योगदान पुर्‍याउने देखिन्छ । यद्यपि, जुम्लामा स्याउ उत्पादनमा वृद्धिका लागि सहज सडक पूर्वाधारको आवश्यकता देखिन्छ । सुर्खेतदेखि जुम्ला कर्णाली राजमार्ग सहज नभएको र बेलाबेलामा अवरुद्ध हुने कारणले समेत जुम्लाको स्याउ बजारीकरणको लागि बाधा पुगेको छ । यसका अलवा जुम्लाको स्याउलाई लामो समयसम्म भण्डारण गरेर राख्ने प्रवन्ध नभएकोले यसले केही निश्चित समयमात्रै बजार ओगटेको देखिन्छ ।

 

सुन्तला

सल्यान, जाजरकोट तथा दैलेखलगायतका क्षेत्रमा उत्पादन हुने सुन्तला कर्णाली प्रदेशको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण क्षेत्र हो । यहाँ प्रतिनिधिमुलक विश्लेषणका लागि सल्यानका सुन्तलाको विषयमा केही चर्चा गरौँ । सुन्तला मध्य पहाडी क्षेत्रमा हुने फलफूल हो । सुन्तलाको आन्तरिक र अन्तर्राष्ट्रिय बजारको लागि सम्भावना रहन्छ । कर्णाली प्रदेशमा सुन्तला उत्पादन बढ्दै गएको छ । प्रतिनिधिमुलक विश्लेषणका लागि हेर्दाः आर्थिक वर्ष २०७७/७८ मा सल्यान जिल्लामा एक हजार तीन सय पाँच हेक्टरबाट १४ हजार पाँच मेट्रिक टन सुन्तला उत्पादन गरेको थियो । २०७८/७९ मा एक हजार ५५ हेक्टर क्षेत्रफलमा अलिकति घटेर १० हजार नौ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । कर्णाली प्रदेशमा समग्र सुन्तला उत्पादन २०७६/७७ मा १०% बढेको छ भने २०७७/७८ मा १३.९०% घटेको छ । यस वर्ष फूल फुल्ने सिजनमा किराको आक्रमणका कारण सल्यानको बाली आधा काटिएको थियो । विज्ञहरूले यो अचानक जलवायु परिवर्तनको कारण भएको बताएका थिए । २०८०/८१ मा कर्णाली प्रदेशमा सुन्तला खेतीले ढाकेको उत्पादनशील जमिन १.७२ प्रतिशतले बढे पनि २०७९/८० मा सुन्तला खेतीले ढाकेको जमिन ३.८० प्रतिशतले बढेको थियो । २०७९/८० मा कर्णाली प्रदेशमा पाँच हजार सात सय २८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौं, कैलाली, पोखरा, वीरगन्जमा ३३ करोड १५ लाख ४० हजार बराबरको उत्पादन निर्यात भएको थियो ।

 

मासु उत्पादन

पशुपालनको लागि राम्रो सम्भावना रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिका लागि अर्को महŒवपूर्ण क्षेत्र मासु उत्पादन हो । जंगल र प्रयाप्त जमिनसहित घाँसपात र पशुपालनका लागि उपयुक्त हावापानी भएकोले पनि कर्णालीमा मासु उत्पादनको व्यवसायको भविष्य उज्ज्वल देखिन्छ । कर्णाली आर्थिक वर्ष २०७८/७९ मा २४ हजार चार सय ९२ मेट्रिक टन मासु उत्पादन भएकोमा २०८०/८१ मा २४ हजार सात सय ८१ मेट्रिक टन उत्पादन भएको थियो । यसले कर्णाली प्रदेशमा पछिल्ला आर्थिक वर्षहरूमा मासु उत्पादन बढेको देखिन्छ । जुम्ला, कालीकोट, हुम्ला, मुगु, डोल्पालगायतका जिल्लामा विगतका वर्षको तुलनामा भेडा र बाख्राको उत्पादनमा वृद्धि भएको देखिएको छ । यसका साथै पछिल्ला आर्थिक वर्षहरूमा सुर्खेत, दैलेख र सल्यानमा पनि पशुजन्य उत्पादनमा वृद्धि भइरहेको छ । लामो समयदेखि कर्णाली पशुपालनमा आत्मनिर्भर छ । माथिल्लो कर्णालीका बाख्रा, भेडा र अन्य जनावरहरूले यस प्रदेशको मासु र अन्य पशुजन्य उत्पादनहरूको खपतमा योगदान पु¥याउँछन् ।

 

जडिबुटी र यार्सागुम्बा

कर्णालीको आर्थिक विकासका लागि जडिबुटी क्षेत्र निकै नै महŒवपूर्ण हो । यद्यपि, प्रतिनिधिमुलक विश्लेषण गर्दा कर्णालीका हिमाली जिल्लामा पाइने यार्सागुम्बा कर्णाली प्रदेशको आर्थिक वृद्धिका लागि अर्को महत्त्वपूर्ण क्षेत्र हो । नेपालका सूचीकृत वनस्पतिहरूमध्ये करिब दुई हजार बिरुवाहरू गैर–काठ वनजन्य उत्पादन को रूपमा मान्यता प्राप्त छन् जसमध्ये एक हजार ६ सय २४ प्रजातिहरू हाल औषधीको रूपमा प्रयोग भइरहेका छन् । कर्णालीमा चार सयभन्दा बढी प्रकारका औषधी र सुगन्धित बिरुवाहरू उपलब्ध छन्, यार्सागुम्बा सबैभन्दा लोकप्रिय मध्ये एक हो । मुगु र डोल्पाका जिल्लामा वार्षिक पाँच हजारदेखि ६ हजार जनाले यार्सागुम्बा टिप्न सामुदायिक वनमा आउने गरेका छन् । आर्थिक वर्ष २०८०/८१ सम्ममा उच्च गुणस्तरको यार्सागुम्बाको मूल्य एउटा टुक्राको चार सयदेखि पाँच सय रूपैयाँ र प्रतिकिलो १६ लाखदेखि १८ लाख रूपैयाँसम्म रहेको छ । एक सिजनमा मुगु र डोल्पाका सामुदायिक वनबाट सामान्यतया १८० किलोग्राम यार्सागुम्बा काटेर संकलनकर्ताले रू. एक लाखदेखि दुई लाखसम्म आम्दानी गर्न सक्छन् । आर्थिक वर्ष २०७८÷७९ मा कर्णाली प्रदेशबाट यार्सागुम्बा, गुच्ची च्याउ, रातो च्याउ, सतुवा, आटिस, निर्मसी, कुतकीलगायतका विभिन्न औषधीजन्य जडिबुटी करिब ११ हजार सात सय मेट्रिक टन निर्यात भएको प्रदेश निर्देशनालय वीरेन्द्रनगरले जनाएको छ । जडिबुटी उद्योगले यस कर्णाली प्रदेशमा ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्दछ ।

 

पर्यटनः रारा र शे–फोक्सुण्डो ताल

कर्णाली प्रदेश पर्यटनका लागि निकै महŒवपूर्ण क्षेत्र पर्यटन हो । नेपालको सबैभन्दा ठूलो ताल रारा ताल, रमणिय पर्यटकीय स्थल डोल्पाको शे–फोक्सुन्डो ताल, अन्य तालहरू, कर्णालीका विभिन्न जिल्लामा रहेका धार्मिक स्थलहरू, विभिन्न फाँटहरू खस सभ्यताका तथ्यहरू रहेका विभिन्न स्थलहरूलगायतका प्राकृतिक सम्पदाहरू कर्णाली प्रदेशको पर्यटनका लागि महŒवपूर्ण छ भन्ने तथ्य स्थापित गर्न सक्छन् । कर्णालीका स्थानीय जातीय संस्कृति, परम्परागत चालचलन, र चाडपर्व पनि पर्यटनका लागि महŒवपूर्ण छन् । पर्यटन व्यवसायबाट होटल व्यवसाय, यातायातलगायतका कुरामा विशेष योगदान हुन्छ । पर्यटकहरूले कर्णालीमा आइ खर्च गरेमा यहाँको आर्थिक वृद्धिमा योगदान गर्छ नै । होटल, होमस्टे, पर्यटक गाइड, यातायात आदिमा व्यवसाय र रोजगारीका अवसरहरू । पर्यटनले गर्दा स्थानीय उत्पादन समेत प्रवद्र्धन हुन्छ । यसका साथै अन्तर्राष्ट्रिय पर्यटकबाट नेपालमा विदेशी मुद्रा आर्जनसमेत हुन्छ ।

आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारले यस क्षेत्रको पर्यटन प्रवद्र्धन र व्यवस्थापन गर्ने उद्देश्यले पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएको थियो । योजनाले पर्यटक आगमनमा औसत वार्षिक १२.६% वृद्धि हुने प्रक्षेपण गरेको छ । सन् २०२९ सम्ममा १५ लाख आन्तरिक पर्यटकले कर्णाली भ्रमण गर्ने अनुमान गरिएको छ, जसमा भारत र अन्य देशबाट दुई लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । साथै, गुरुयोजनाले सन् २०२९ सम्ममा ५० हजार व्यक्तिलाई रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०८०/८१ मा रारा ताल पुग्ने विदेशी पर्यटकको संख्या २७४ रहेको छ भने शे–फोक्सुण्डोमा पाँच सय ७६ जना विदेशी पर्यटक पुगेका थिए ।

कर्णालीको आर्थिक वृद्धिको लागि पर्यटन व्यवसाय र पर्यटन निकै महŒवपूर्ण क्षेत्र हो । यद्यपि, सडकको कम गुणस्तर तथा सबै पर्यटकीय स्थलसम्म सडकको सहज पहुँच नहुनु, अन्य पूर्वाधार प्रयाप्त नहुनु यहाँका लागि पर्यटनको लागि चुनौती हुन् । यसका साथै कर्णाली प्रदेशमा आतिथ्य संस्कार र आतिथ्यताका लागि दक्ष जनशक्ति अभाव हुनु पनि चुनौती हो । होटल लगायतका अन्य पर्यटन व्यवसायहरूलाई व्यवसायका लागि सरकारले प्रोत्साहन र आवश्यक पूर्वाधारको सहजता नगरिदिँदा प्रयाप्त पर्यटन उद्योग स्थापना त हुन सकेका छैनन् नै । यसले गर्दा पर्यटकहरूलाई समेत उत्साह दिन सकेको छैन ।

 

मह उत्पादन

मह उत्पादन अर्थात् मौरिपालन व्यवसाय कर्णालीका लागि आर्थिक वृद्धिको अर्को महत्त्वपूर्ण क्षेत्र हो । यसले उद्यमीहरूलाई स्वरोजगार मात्र बनाउँदैन त्यसले अन्य व्यक्तिहरूलाई समेत रोजगार सिर्जना गर्छ । मौरीले परागसेचन मा सहयोग गरेकाले कृषि उत्पादनमा वृद्धि हुन्छ । मह उत्पादन र व्यापारबाट सरकारलाई कर राजस्व प्राप्त हुन्छ । कर्णाली प्रदेशमा मह उत्पादनमा अगाडी रहेको जिल्ला हुम्ला हो । मौरिपालन र मह उत्पमदनबाट किसानले कम लागतमा राम्रो मुल्यमा उत्पादन बिक्री गरी नाफा आर्जन गर्न सक्दछन् ।

नेपाल राष्ट्र बैंकले २०८१ असारमा सार्वजनिक गरेको कर्णाली प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१ को तथ्यांकअनुसार कर्णालीमा महको उत्पादन १६७ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले त्यसअघिको वर्षको उक्त समीक्षा अवधिमा कर्णालीमा १५४.८२ मेट्रिकटन उत्पादन भएकोमा २०८०–८१ को अर्धवार्षिक समिक्षा अवधिमा ४१३.५ मेट्रिकटन रहेको थियो । यसले कर्णालीमा हरेक वर्ष महको उत्पादन बढिरहेको देखाउँछ । विभिन्न समाचार र रिपोर्टअनुसार कर्णालीका टिमुर, अदुवा, मह र बेसार लगायतका उत्पादनहरू विदेशसमेत निर्यात हुनेगरेका छन् । जसबाट कर्णालीका नागरिकहरूले आर्थिक आर्जन त गरिरहेका छन् नै । मुलुकलाई समेत विदेशी मुद्रा आर्जन भएको छ ।

 

 

आलु र ताजा तरकारी

कर्णाली प्रदेशका नागरिकहरूले राम्रो आम्दानी गरी प्रदेशको आर्थिक वृद्धिमा योगदान गर्न सक्ने क्षेत्र भनेको ताजा तरकारी र आलु उत्पादन पनि हो । आर्थिक वर्ष २०८०/८१ मा कर्णालीमा १२ हजार सात सय ५७ हेक्टरमा आलु खेती गरिएको थियो, जसबाट १७.३१ मेट्रिक टन प्रति हेक्टरको उत्पादन भइ २,२०,७९० मेट्रिक टन उत्पादन भएको थियो । उदाहरणको लागि कर्णाली प्रदेशको राजधानी नजिकै रहेको आलु र तरकारी उत्पादनको केन्द्र मानिन्छ दैलेखको गुराँस गाउँपालिका । कर्णालीका १० वटै जिल्लामा आलु उत्पादन हुने भएपनि दैलेखको गुराँस गाउँपालिकामा उत्पादन हुने आलु विशेष लोकप्रिय छ । २०७५ मा गुराँस गाउँपालिकाबाट २२ करोड रूपैयाँको तरकारी निर्यात भएको थियो । यहाँको तरकारी उत्पादनबाट यस नगरपालिकाका दुई हजार ६ सय किसानहरूले आम्दानी गरिरहेको गाउँपालिकाको तथ्यांक छ ।

 

अन्त्यमा

कर्णाली प्रदेशको आर्थिक समृद्धिको लागि विभिन्न क्षेत्रहरू छन् । तीमध्ये माथि उल्लेख गरिएका क्षेत्रहरू प्रतिनिधिमुलक क्षेत्रहरू हुन् । जसले कर्णाली प्रदेशको आर्थिक विकासका लागि सरकारलाई राजश्व योगदान, स्थानीय स्रोतसाधनको उपयोग र रोजगारीसमेत सिर्जना गर्दछन् । कर्णालीमा माथि उल्लेखित विषयबाहेक अन्य धेरै विषयहरू पनि आर्थिक वृद्धिका क्षेत्रहरू छन् । ती क्षेत्रको अध्ययन सरकारले गर्न आवश्यक छ नै । माथि उल्लेख गरिएका सात वटा क्षेत्रहरूसमेत महत्त्वपूर्ण छन् । यी क्षेत्रहरूमा बर्सेनि वस्तु तथा सेवाको उत्पादनमा वृद्धि, र मानव पुँजीको वृद्धि र सरकारी राजश्वमा योगदान बढिरहेकोले यिनीहरू कर्णाली प्रदेशका आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण क्षेत्रहरू मानिएको हो ।

यसर्थ प्रदेश तथा स्थानीय सरकारहरूले यहाँका आर्थिक वृद्धिका लागि व्यापक क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रहरूमा उद्यमशीलताका लागि सहज वातावरण सिर्जना गर्न आवश्यक छ । भौगोलिक कठिनाइ, पूर्वाधारको अभाव र नीतिगत चुनौतीहरूले यी लगायतका थुप्रै आर्थिक वृद्धिका क्षेत्रहरूलाई असर गरेको देखिन्छ । अनुदानको वितरणमा मात्रै ध्यान नदिइ उद्यमी र आर्थिक विकासका महत्त्वपूर्ण क्षेत्रहरूमा सडक, पुँजी र बिजुली लगायतका पूर्वाधारको विकास, उत्पादनको बजारीकरण र कर प्रशासनका अनावश्यक झन्झटहरूलाई सहज बनाउनेतर्फ सरकारले काम गर्नुपर्छ ।

 

(कर्णाली प्रदेशमा अर्थराजनीतिक विषयमा नीतिगत अध्ययन, बहस र अनुसन्धान गरिरहेको थिंक ट्यांक ऋति फाउण्डेसनले गरेको अध्ययन ‘कर्णाली प्रदेशका आर्थिक वृद्धिका क्षेत्रहरू’ सम्बन्धी अध्ययनमा आधारित । लक्ष्मीप्रसाद पौडेल: लेखक ऋति फाउण्डेसनमा अनुसन्धान अधिकृतका रूपमा कार्यरत छन् ।)

प्रकाशित मितिः   १० मंसिर २०८१, सोमबार ०६:०४