अभिभावक शिक्षाको आश्यकता
नेपालको सार्वजनिक शिक्षाको गुणस्तर वर्तमान समय, परिस्थिति र परिवेश अनुसार सुधार आउन नसक्नु एक दुर्भाग्य हो । हिजोको परिवेश, तरिका र शैलीले आजको बालबालिका शैक्षिक सुधार गर्न असाध्यै जटिल विषय पनि हो । हामी सबैलाई थाहा छ कि शैक्षिक सुधारका लागि शिक्षाका तीन वटा पिलरः शिक्षक, विद्यार्थी र अभिभावकको उत्तिकै भूमिका हुन्छ । अझै गहिरिएर अध्ययन गर्ने हो भने बालबालिकाको समग्र विकासको लागि उनका अभिभावकहरूको नै जिम्मेवारी मुख्य रहन्छ । बालबालिका काँचो माटो हुन्, तसर्थ उनीहरू आफै आकार लिन सक्दैनन् । के राम्रो–नराम्रो, सही–गलत छुट्याउन सक्दैनन् । अभिभावकले उनीहरूको जीवन कस्तो बनाउने भन्ने बारेमा संवेदनशील हुनु पर्दछ । बालबालिकालाई गुणस्तरीय शिक्षा दिने थलो विद्यालय हो नै । उनीहरूलाई अनुशासन, नैतिकता र आचरणका कुराहरू सिकाउने जिम्मेवारी शिक्षकहरूकै हो, तापनि बालबालिकाहरू मात्र ६ घण्टा विद्यालयमा रहन्छन्, बाँकी अठार घण्टा त उनीहरूले परिवार र अभिभावकहरूसँग नै बिताउँछन् । तसर्थ बच्चाहरूको उन्नती र प्रगतिको प्रमुख जिम्मेवारी अभिभावकको नै हो ।
बालबालिकाहरूको सिकाइमा अभिभावकको कति महŒव छ भन्ने सन्दर्भमा नेपोलियनले भनेका थिए–तिमी मलाई शिक्षित आमा देउ, म तिमीलाई असल नागरिक दिन्छु । त्यसैगरी वैज्ञानिक थोमस एल्वा एडिसनको प्रसङ्ग पनि जोडाैँ –विद्यालयबाट प्रधानाध्यापकले एडिसनलाई निष्कासन गरी उनकी आमालाई एउटा पत्र पठाए । पत्रमा लेखिएको थियो–तपाईंको छोरालाई भोलिबाट विद्यालय नपठाउनु, पढाइमा असाध्यै लद्दु छ । उसले आफू पनि पढ्दैन र अरु विद्यार्थीलाई पनि पढ्न दिदैँन सबैलाई बिगारी सक्यो । यो अहिलेसम्मकै महामुर्ख मानिस हो । एडिसनले आमासँग पत्रमा के लेखिएको छ भनेर प्रश्न गरे । आमाले भन्नुभयो – तिमी कक्षामा असााध्यै अब्बल छाँै रे, धेरै जान्ने छौँ रे, अन्य विद्यार्थीसँग तिम्रो स्तरै मिलेन रे त्यसकारण भोलिबाट तिमीलाई विद्यालय नपठाउनु घरमै बसेर पढ्नु भनेर लेखिएको छ । त्यसपछि उनी विद्यालयमा जान पाएनन् । घरमै उनकी आमाको प्रेरणाले पढे, पछि विश्व विख्यात वैज्ञानिक भएर निस्किए । यो प्रसङ्गबाट बालबालिकाको सिकाइप्रति आमाबुवाको जिम्मेवारी कति हुँदो रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।
प्रायजसो हाम्रा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको अभिभावकहरू आर्थिक र सामाजिक रूपमा पिछडिएका अशिक्षित किसान, मजदुरहरू हुन्छन् । सामाजिक–आर्थिक रूपमा स्तर उठेका अभिभावक, शिक्षक, कर्मचारी, नेतृत्वका छोराछोरी निजी विद्यालयमा अध्ययन गर्छन् र केही राजधानी र बजारका राम्रै विद्यालयमा अध्ययन गर्छन् । चेतना र आर्थिक स्तर न्यून भएका अभिभावकहरूलाई उनका बालबालिकाहरू पालनपोषण, शिक्षादिक्षा, आचरण निर्माण, सिकाइका तरिका लगायत थुप्रै कुरामा ज्ञानको अभाव रहन्छ । उनीहरू प्रायः घरायसी काममा व्यस्त हुने हँुदा पनि बालबालिकाको सिकाइप्रति ध्यान दिने समय व्यवस्थापन गर्न नै पाउँदैनन् । अहिलेको सूचना तथा सञ्चारमा भएको विकासले मानिहरूलाई यति व्यस्त बनाएको छ कि आफ्नो र परिवार र बालबच्चाको बारेमा सोच्नेसम्म फुर्सद हुँदैन । धेरै अभिभावकहरू मोबाइल, इन्टरनेट, सामजिक सञ्जालहरूमा व्यस्त भइरहने हुँदा उनीहरूलाई बालबालिकाहरूको पढाइप्रति चासो राख्ने समय नै छैन । त्यस्तै सम्पत्ति आर्जन गर्ने, धनी बन्ने प्रतिस्पर्धाले आफ्ना बालबालिकालाई अर्काको जिम्मामा छोड्ने, होस्टेलमा राख्नेजस्ता कार्यले आमाबुवाको अभिभावकत्व समेत पाउन सकेका छैनन् । जसले गर्दा उनीहरू अभिभावकबाट पाउनु पर्ने स्नेह, हौसला, पे्ररणा, आचरण, संस्कारआदि सिक्नबाट वञ्चित छन् ।
विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाका अभिभावक भनेका उसका बुवाआमा मात्रै नभएर ऊभन्दा ठूला, जान्ने परिवारका अन्य सदस्यहरू पनि हुन् । बालबालिकाका व्यवहारहरू जन्मपश्चात् घर परिवारकै सदस्यबाट सिक्दै जाने हुन्छन् । सिकाइका आधार र सीपहरू पनि परिवारबाट नै सिक्ने हुन्छन् । त्यसकारण कि अभिभावकहरूले बालबालिकाको आचरण सुधार, नैतिकता, पढाइ र सिकाइप्रति जिम्मेवार हुन आधारभूत कुराहरू सिक्न जरुरी हुन्छ । बालबालिकाको सर्वाङ्गिण विकासको लागि अभिभावकलाई ज्ञान दिनु अभिभावक शिक्षा हो । बालबालिकाको प्रतिभा पहिचान गर्ने काम शिक्षकको हो भने त्यसको कार्यान्वयनको लागि सहयोग गर्ने जिम्मेवारी अभिभावकको हो । घरमा असल आचरणका कुराहरू सिकाउने, पढाइको वातावरण निर्माण गर्ने, पढाइका आधारभूत सामाग्रीहरूको जोहो गरिदिने र विद्यालयमा पढाइको लागि तयार बनाएर पठाउने प्रमूख कार्य अभिभावकको हो ।
मुख्यतः अभिभावकको बालबालिकाप्रतिको प्रमुख जिम्मेवारी घरमा पढाइको वातावरण सिर्जना गर्ने हो । त्यसको लागि घरको वातावरण शान्त राख्नु पर्छ । हो–हल्ला, झै–झगडा भएको घरमा पढाइको उपयुक्त वातावरण नै बन्न सक्दैन । हामी धेरैको बानी के हुन्छ भने बालबालिकालाई पढ भन्ने तर आफू ठूलो ध्वनीका साथ मोबाइल बजाउने, कुराकानी गर्ने, टिभी हेर्ने, स्पिकर बजाउने हुन्छ । यस्तो अवस्थामा उनीहरूको आँखा किताबमा भएपनि ध्यान बजिरहेको ध्वनी, कुराकानीमा गइरहेको हुन्छ । यस्तै घरमा हुने सामान्य कलह, झगडा, मापसे गरी परिवारमा हुने द्वन्द्वले उनीहरूमा नकरात्मक भावनाको विकास हुन सक्छ । त्यसकारण की बालबालिकाले देख्ने र सुन्ने गरी घर परिवारमा द्वन्द्व सिर्जना गर्नु हुँदैन । विद्यालय तहमा अध्ययन गर्ने उमेर समूहका बालबालिकामा वृद्धिरस र ग्रन्थीहरूको अधिक क्रियाशिलताले उच्च संवेग उत्पन्न हुन्छन् । नकरात्मक संवेगलाई व्यवस्थापन गर्नका लागि उनीहरूलाई माया गर्ने, हौसला दिने, समय मिलाएर खेल्न दिने, रमाइला कथाहरू सुनाउने र सकरात्मक भावनाको विकास गरिदिनु पर्दछ । हाम्रा प्रायजसो अभिभावकहरू अशिक्षित हुनुहुन्छ । अशिक्षित अभिभावकहरूले कसरी बालबालिकाको पढाइमा कसरी सघाउनु हुन्छ भन्ने प्रश्न आउन सक्छ । अशिक्षित अभिभावकहरूले पनि बालबालिकाको पढाइमा सहयोग गर्न सक्नु हुन्छ । बालबालिकाले लेखेका, पढेका, कापी–किताबहरू हेरिदिने, के के पढेको र लेखेको छ भनेर सोध्ने, सुनाउन लगाउने, गृहकार्य कति छ, लेखे–नलेखेको निश्चित गरिदिने । सधैँ काममा व्यस्त रहने अभिभावकले साँझ–बिहान समय मिलाएर काम गर्दै पढाइलाई सघाउन सक्नु हुन्छ । तिमी पढ लेख म केही काम गर्छु भनेर सँगै बसेर दुना टपरी बुन्ने, कपडा सिउने, खाना पकाउने जस्ता कार्य उनीहरू सँगै बसेर पढाउँदै गर्न सकिन्छ । गृहकार्य सकिए पछि त्यस्ता स–साना कार्यमा संलग्न गराउँदा उनीहरूमा विभिन्न सिर्जनात्मक र व्यवहार कुशल सीपको विकास गर्न सकिन्छ ।
सिकाइको कुरा मात्र नभएर कुनै पनि काम गराउँदा सर्वप्रथम बालबालिकाहरूको मनोभावना हरेक अभिभावक र ठूला मानिसहरूले बुझ्न जरुरी हुन्छ । उनीहरले के चाहेका छन्, के गर्न खोजिरहेका छन्, इच्छा चाहाना के गर्ने रहेको छ । एउटा उदाहरण छ नि घोडालाई डो¥याउदै नदिसम्म लैजान सकिन्छ तर पानी पिलाउन सकिदैन यदि उसको इच्छा छैन भने । यस्तै बालबालिकाहरूको पनि चाहाना बुझेर खेलमा सहभागि बनाउने, रोचक प्रसंग र कथाहरू सुनाउने, मोबाइल टिभीमा ज्ञानमूलक भिडियोहरू देखाउने, सिकाउने तरिका व्यवहारिक र रोचक बनाउने, उत्प्रेरित गर्ने र सकरात्मक रूपमा पढाइप्रति रुचि जगाई दिने गर्नु पर्दछ । कुटेर, पिटेर, दमन गरेर पढाइमा लगाउन खोज्याँै भने उनीहरूको व्यवहार झनै उग्र हुने, अप्रिय घटना घटाउन सक्छन् । तसर्थ अभिभावकहरू यतातिर पनि सचेत हुन जरुरी छ ।
यसैगरी अभिभावकहरूले आफ्ना बालबालिकाको सिकाईको लागि सचेत हुनुपर्ने विषय उनीहरूको स्वास्थ्य हो । स्वस्थ व्यक्तिले मात्र अन्य कार्य सरल र सहज तरिकाले गर्न सक्छ । प्रत्येक व्यत्तिको सबैभन्दा महŒवपूर्ण पक्ष भनेको स्वास्थ्य नै हो । तसर्थ अभिभावकहरूले बालबालिकाहरूको स्वास्थ्यमा असाध्यै ख्याल गर्नुपर्छ । उनीहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने, शारीरिक र मानसिक रूपमा स्वस्थ छ कि छैन निधो गर्नु पर्दछ । स्वस्थ खानपान, पोषणयुक्त खानाको व्यवस्था गर्ने, सन्तुलित भोजनको व्यवस्था गर्नु पर्दछ । भर्सकत उनीहरूलाई स्मृति बढाउने खालका खानेकुराहरूजस्तै ओखर, बदाम रोग प्रतिरोधी क्षमता बढाउने खाना–अण्डा, माछा, मासु, सागपात, फलफूल, दुध दही, गेडागुडी लगायत खानेकुराको नियमित तालिका बनाएर सेवन गराउन सके उनीहरू फुर्तिला, हिष्टपुष्ट र निरोगी हुन्छन । निरोगी र स्वस्थ बच्चाले मात्र उपयुक्त मात्रा र सही तरिकाले सिक्न सक्छ ।
विद्यालय तहमा पढ्ने बालबालिकाहरू प्रायजसो समूहमा बस्न, खेल्न, पढ्न र समय बिताउन चाहान्छन् । यस्तो अवस्थामा कस्तो साथी छनोट गरेका छन्, समूहमा बस्दा या रहदा के–कस्तो क्रियाकलापमा सहभागी हुन रुचाउँछन् भन्ने कुराहरूको ज्ञान अभिभावकहरूमा हुन जरुरी छ । हरेक आमाबुवा वा परिवारका जिम्मेवार व्यक्तिले आफ्ना बालबालिकाहरूको प्रत्येक गतिविधि र क्रियाकलापको प्रत्यक्ष र अप्रत्यक्ष दुवै ढंगले निगरानी गरिरहनु पर्दछ । छोराछोरीप्रति साथीजस्तो व्यवहार गरेर आन्तरिक भावना बुझ्ने, उनीहरूका मिल्ने साथीहरूसँग बुझ्ने गर्नु पर्दछ । साथी समूहकै कारण धेरैजसो बालबालिकाहरू कुलतको सिकार भएका, चोरी डकैती, एवम् हिंसात्मक क्रियाकलापमा संलग्न हुन सक्छन् । अरुभन्दा धेरै विश्वास साथी समूहको नै गर्ने हुँदा संगतमा फसेर नराम्रा बानीहरू निर्माण गर्न सक्ने हुन्छन् । त्यसकारण अभिभावकले यतातिर विशेष ध्यान दिन जरुरी देखिन्छ ।
वास्तवमा सिकाइ भनेको बालबालिकाको व्यवहारमा रूपान्तरण आउनु हो । परीक्षामा राम्रो अंक मात्र ल्याउनु गुणस्तरीय सिकाई होइन । पाठ्यपुस्तक अध्ययन गरी होस वा व्यवहारिक कार्यमा संलग्न भएर होस् उनीहरूले गलत क्रियाकलापहरू सुधार गर्दै राम्रा आचरण र व्यवहारहरू प्रर्दशन गर्नु सिकाइ हो । यदि बच्चा अनुशासित भयो, नैतिकवान बन्यो, उसले सुसँस्कृत आचरणको विकास गर्न सक्यो भने औपचारिक शिक्षामा त अब्बल हुन्छ नै साथसाथै भविष्यमा गुणस्तरीय जीवनपापन गर्न सक्ने असल नागरिक बन्न सक्छ । त्यसकारण हरेक अभिभावक आफ्ना छोराछोरीको भविष्यप्रति सचेत हुनुपर्दछ । वर्तमानको सूचना तथा सञ्चार माध्यमले बनाएको व्यस्तता, मानिसहरूमा सम्पति आर्जन गर्ने अस्वस्थ प्रतिस्पर्धा, अशिक्षा, अज्ञानता, चेतनाको अभावका कारण अभिभावकहरूले आफ्ना छोराछोरीलाई उचित रूपमा सल्लाह र मार्गदर्शन गर्न सकिरहेको देखिदैन । जसले गर्दा धेरैजसो घरमा नै समय बिताउने बालबालिकाहरूले अशोभनिय व्यवहार र क्रियाकलाप लिएर विद्यालय प्रवेश गर्दछन् । विद्यालयको केही घण्टाको समयमा उनीहरका अभ्यस्त भइसकेका सिकाइहरू सुधार गर्न शिक्षकहरलाई असाध्यै जटिल र असम्भव नै हुन्छ । अतः सानै उमेरमा बालबालिबालाई कस्तो बनाउने, कसरी सिकाउने, पढाउने, हुर्काउने र उनीहरूको सर्वाङ्गिण पक्षको विकास गर्ने भन्ने विषयमा हरेक अभिभावकलाई सचेतिकरण गर्न अति आवश्यक भइसकेको छ ।
(भुपालसिंह ठकुरी- लेखक नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिम्ता–८, साहुखोला सुर्खेतमा कार्यरत शिक्षक हुन् ।)
प्रकाशित मितिः ७ मंसिर २०८१, शुक्रबार ०६:०४
भुपालसिँह ठकुरी ।