जलविद्युतमा लगानी

कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रशस्त सम्भावना भएर पनि त्यसको उपयोग भने निकै कम मात्रै भएको छ । जलविद्युत आयोजना निर्माणमा पर्याप्त लगानी भएको छैन । जसले गर्दा उपलब्धि देखिएको छैन । केही आयोजना निर्माणका लागि प्रयास भएपनि सफल हुन सकेका छैनन् । कतिपयमा लगानीको स्रोत नहुँदा अघि बढ्न सकेका छैनन् । यस्तैमध्ये हुम्लामा प्रस्तावित दुई वटा जलविद्युत आयोजनामा विदेशी लगानी जुटाउन पहल भइरहेको छ । लगानी जुटाउनुअघि वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिएको छ । जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृतिका लागि विद्युत विकास विभागमा पेस गरिएको छ । एक महिना अघि विभागमा वातावरणीय प्रभाव मूल्यांकनको फाइल पेस गरिएको हो । वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुने वित्तिकै उत्पादन अनुमति पत्र लाइसेन्सको प्रक्रिया थालिने छ ।

आयोजना निर्माणको प्रि–फिजिविलिटी अध्ययनको काम सकिएको र अब आयोजना निर्माणको चरणमा लैजाने तयारी भइरहेको जनाइएको छ । रुरु जलविद्युत परियोजनाले लगानी जुटाउन पहल थालेको छ । अहिले लगानी जुटाउनका लागि विभिन्न क्षेत्रसँग छलफल भइरहेको परियोजनाले जनाएको छ । दुई वटा जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन पहल थालिएको हो । लगानी सुनिश्चितता गरेर विद्युत विकास विभागबाट उत्पादन अनुमति लिने तयारी आयोजनाको छ । दुई वटा आयोजना एकै पटक सञ्चालन हुने भएकाले लगानीकर्ताको खोजी भइरहेको जनाइएको छ । हुम्ला कर्णाली–१ जलविद्युत आयोजना र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना रुरु जलविद्युत परियोजनाले सञ्चालन गरिरहेको छ । दुई वटा जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न करिब एक खर्बभन्दा बढीको लागत अनुमान गरिएको छ । परियोजनाले एकैसाथ दुई वटा जलविद्युत आयोजना निर्माण गर्न लागेकाले धेरै लगानी एकैपटक जुटाउनु पर्ने भएको छ । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ र तीन सय ३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

हुम्ला कर्णाली–१ र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना निर्माणका लागि लगानी सुनिश्चत गर्न अमेरिकन कम्पनी र जापानी कम्पनीहरूसँग छलफल भइरहेको छ । अन्तिम चरणको छलफल भइरहेको जनाइएको छ । दुई वटै जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ । लगानी सुनिश्चतताका लागि अन्तिम टुँगो भने लागिसकेको छैन । रुरु जलविद्युत परियोजनाले विदेशी कम्पनीसँग सहकार्य गरी दुई वटा आयोजनाका लागि लगानी सुनिश्चितता गर्ने भएको हो । चिनियाँ कम्पनीले बीचमै अलपत्र छोडेका आयोजना नेपाली निर्माण कम्पनी रुरु परियोजनाले अघि बढाएको छ ।

प्रकाशित मितिः   ५ मंसिर २०८१, बुधबार ०६:०३