अन्तर प्रदेश सडक प्राथमिकतामा

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले अन्तर प्रदेश सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर अन्तर प्रदेश सडक निर्माणलाई निरन्तरता दिएको हो ।

प्रदेशमा चार स्थानमा अन्तर प्रदेश सडक निर्माणका काम भइरहेका छन् । उक्त सडक निर्माणको कामलाई निरन्तरता दिन प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । अन्तर प्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाइने प्रदेश सरकारले जनाएको छ । उक्त सडकअन्तर्गत मुलपानी–रानीघाट, तेलपानी भुरीगाउँ सडक, कालीकोट, लालु, लैफू–कोटबाडा, रास्कोट, रामारोशन सडक, रारा, सेरी सुकाढीक, धुराचौर बाजुरा सडक, सल्यान खलङ्गा, कालिमाटी, घुइयावारी काप्रेचौर, खर्कवार कोहलपुर सडक स्तरोन्नतिको काम गरिनेछ । उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्षमा ३९ करोड विनियोजन गरिएको छ । अहिले सडक निर्माणको काम धमाधम भइरहेको भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले जनाएको छ । यो वर्ष सरकारले अन्तर प्रदेश सडक निर्माण योजनालाई प्राथमिकतामा राखेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ३९ करोड बजेट विनियोजन गरिएको छ ।

 

तेलपानी–भुरीगाउँ सडक विस्तार

सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले सडक निर्माणको काम अघि बढाउन आठ करोड बजेट विनियोजन गरेको छ ।

कर्णाली र लुम्बिनी प्रदेश जोड्ने मूलपानी–रानीघाट–तेलपानी भूरीगाँउ सडक निर्माणलाई प्राथमिकताका साथ राखेको हो । यो सडक आयोजना नयाँ भने होइन । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि सडक निर्माण योजना अघि बढाएको हो । सडक निर्माणको काम भने आर्थिक वर्ष २०७६÷२०७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम अघि बढाइएको भएपनि अहिलेसम्म निर्माणको काम सम्पन्न भएको छैन । सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्न लागेको हो ।

पहिलो खण्डको रूपमा मुलपानी, फलाटे–रानीघाट सडक निर्माणको कामलाई अघि बढाइएको थियो । दश किलोमिटर सडक निर्माणका लागि कामको सम्झौता गरिएको हो । आर्थिक वर्ष २०७६÷०७७ बाट उक्त काम सुरु गरिएको हो । २०७६ पुस ९ गतेदेखि २०७८ फागुन ८ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । दश करोड २६ लाख ६१ हजारमा पूर्वाधार विकास निर्देशनालय सुर्खेत र श्याम एण्ड शंकर कन्स्ट्रक्सन सुर्खेतसँग सम्झौता भइ काम अघि बढेको थियो । पुनःमुलपानी फलाटे रानीघाट सडक निर्माणका लागि २०७९ माघ १९ गते कविर काक्रे कन्स्ट्रक्सनसँग दुई करोड ७५ लाखमा ठेक्का सम्झौता गरियो । २०८० मंसिर १३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी कामको सम्झौता भएको हो । हालसम्म सात सय मिटर सडक कालोपत्रेको काम सकिएको छ । यो वर्ष रानीघाटसम्म कालोपत्रको काम अघि बढाइने निर्देशनालयका इन्जिनियर वीरेन्द्रजंग शाहीले बताए । बजेटअनुसार पहिलो खण्डको काम समिएको छ भने यो वर्षका लागि बाँकी कामको सम्झौता गरिनेछ ।

दोस्रो सडक खण्डको रूपमा रानीघाट, तेलपानी भुरीगाँउ सडक निर्माणलाई अघि बढाइएको छ । २०७७ असार ५ गतेदेखि २०७८ फागुन १६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको थियो । तर अहिले सार्वजनिक खरिद नियमावलीको १३आँै संशोधन आइसकेपछि म्याद थपिएको हो । एक पटक म्याद थपेर २०८२ माघ २२ गतेसम्म सडक निर्माण गर्नेगरी काम अघि बढाइएको छ । १३ करोड दुई लाखमा निर्देशनालय र थोदुङ्ग जागृती जेभीसँग सम्झौता भएको हो । उक्त निर्माण क्षेत्र वन जंगल निकुञ्जको संरक्षित क्षेत्र भएकाले अहिले निर्माणको काम रोकिएको पूर्वाधार विकास निर्देशनालयले जनाइएको छ । रूख कटानको अनुमति वन विभागले दिएपछि रूख कटानको काम गरिने निर्देशनालयका इन्जिनियर शाहीले बताए । उक्त खण्डको बाँकी काम अघि बढाउन यो वर्ष ५० लाख विनियोजन गरिएको छ । दोस्रो खण्डको काम हालसम्म दश प्रतिशत भएको छ । यो वर्ष बाँकी काम अघि बढाइनेछ ।

 

कालीकोट, लालु रामारोशन सडक

अन्तर प्रदेश सडक निर्माणअन्तर्गत कालीकोटमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । कालीकोट, लालु, लैफू–कोटवाडा, रास्कोट, रामारोशनसम्म सडक निर्माण गर्न लागिएको हो । गत आर्थिक वर्षमा ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ । अहिले सडक स्तरोउन्नतिको काम धमाधम भइरहेको पूर्वाधार विकास कालीकोटले जनाएको छ । २०८० माघ २४ गते ठेक्का सम्झौता भइ काम सुरु गरिएको थियो । २०८३ असार २४ गतेसम्म निर्माणको काम गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । उक्त सडक खण्डअन्तर्गत सात किलोमिटर सडक स्तरोन्नति गरिने कार्यालय प्रमुख हरिशर्मा धितालले बताए । सात किलोमिटर स्तरोन्नतिको ७३ प्रतिशत भएको छ भने वित्तीय प्रगति ६९ प्रतिशत भएको छ ।

 

सल्यान खलङ्गा खर्कवार कोहलपुर सडक

अन्तर प्रदेश सडक निर्माणको काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ । सल्यान खलङ्गा, कालिमाटी, घुइयावारी काप्रेचौर, खर्कवार कोहलपुर सडक स्तरोन्नतिको काम भइरहेको कार्यालय प्रमुख नविन थापाले बताए । २०८१ जेठ १५ मा ठेक्का सम्झौता गरिएको हो । २०८३ असार १५ गते सम्म सडक स्तरोन्नति गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक स्तरोन्नतिको १६ प्रतिशत काम सकिएको छ भने दश प्रतिशत वित्तिय प्रगति भएको छ ।

प्रकाशित मितिः   ५ मंसिर २०८१, बुधबार ०६:०६