प्रतियोगिता नै अनिश्चित
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने निश्चितजस्तै भएको छ । सरकारले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएको छ । एकातर्फ तोकिएकै मितिमा प्रतियोगिता नहुने भएको छ भने अर्कोतर्फ नयाँ मिति पनि घोषणा नहुनुले त्रास सिर्जना गराएको छ । केही महिना अघि दशौँ राष्ट्रिय खेलकुदसम्बन्धी छलफल गर्न सुर्खेत आएका खेलकुदमन्त्री तेजुलाल चौधरीले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्नलाई तयारी अपुग भएको बताएपछि निर्धारित मितिमा प्रतियोगिता नहुने संकेत देखिएको हो । मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ ।
दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । यसैगरी वीरेन्द्रनगरमै अर्को क्रिकेट रंगशाला निर्माण भएको छ । चार करोड ५९ लाख लागतमा क्रिकेट मैदान निर्माणको काम भएको हो । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फूडबल मैदान निर्माण तयार पारिएको छ । दैलेखमा कभर्डहल मर्मत गरिएको छ । रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम सम्पन्न भएको छ । हुम्लामा हकी खेलमैदान निर्माण भएको छ । खेल मैदान निर्माणको काम तोकिएकै समयमा सकिएको जिल्ला खेलकुद विकास समिति हुम्लाले जनाएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ । रारामा कबड्डी खेल मैदान निर्माण सकिएको उनले जनाए । दैलेख र रूकुमपश्चिममा कर्भड हल मर्मत गरिएको, हुम्लामा हक्की खेल मैदान निर्माण, जाजरकोटको कुदुमा फुटबल खेलमैदान निर्माण सम्पन्न भएको छ । डोल्पाको दुनैमा कर्भड हल मर्मत गरिएको छ । जिल्ला–जिल्लामा खेलपूर्वाधार समेत तयारी अवस्थामा राखिएको छ । वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला निर्माणको काम हालसम्म ९६ प्रतिशत सम्पन्न भएको छ । अब रंगशालाको चार प्रतिशत काम मात्र बाँकी रहेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा २०७९ जेठ २२ देखि २८ सम्म भएको नवौँ राष्ट्रिय खेलकुद समापन समारोहबाट कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरिएको थियो । सोही घोषणाअनुरूप कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा मात्रै ल्याएको छैन, प्रतियोगिता आयोजनाका लागि व्यापक तयारी समेत गरिरहेको छ । पहिलोपटक ठूलो प्रकृतिको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएको कर्णालीले नयाँ खेलकुद पूर्वाधार निर्माणदेखि भएका पूर्वाधारहरू सुधार तथा खेलकुद गतिविधिलाई तीव्रता दिइरहेको छ । तर अन्तिम चरणमा आएर प्रतियोगिता नहुने भएपनिछ यतिबेला कर्णालीको खेलगतिविधि सुस्ताएको छ ।
प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार ०९:१६
सम्पादकीय ।