खोर्केखोलामा बम भेटियो

सुर्खेत, ६ वैशाख ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ खोर्केखोलामा प्लाष्टिक ह्याण्ड बम भेटिएको छ । शुभ होटेल पछाडिको खोलामा फोहोर जलाउने क्रममा बुधवार बम भेटिएको हो । बम फेला पर्ने बित्तिकै फोहोर संकलकहरूले प्रहरीलाई खबर गरेका थिए ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहनकुमार आचार्यले जानकारी दिए । स्थानीय तहको निर्वाचन नजिकिदैं गर्दा यसरी खोलामा बम भेटिनुले स्थानीयमा विभिन्न किसिमका शंका उत्पन्न भएका छन् ।
निर्वाचन अवधिमा अशान्त वातावरण बनाउने समूहले बम राखेको हुनसक्ने सर्वसाधारणको शंका छ । तर प्रहरी प्रमुख आचार्यले उक्त बम कुनै व्यक्ति वा समूहले राखेको नभइ खोलामा बगेर आएको हुन सक्ने बताए । निकै पुरानो तथा खिया लागेकोले खोलामा कुनै ठाउँबाट बगेर अड्किएको हुनसक्ने आचार्यको भनाइ छ । उनले खोलामा बम भेटिनुले निर्वाचनप्रति कुनै पनि खालको परिस्थिति सिर्जना हुनेमा शंका नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित मितिः   ७ बैशाख २०७४, बिहीबार १५:१६