उपत्यकामा खानेपानी संकट

सुर्खेत, ६ वैशाख ।
गर्मी मौसम सुरु भएसँगै सुर्खेत उपत्यकामा खानेपानीको अभाव चुलिएको छ । सबैभन्दा बढी पानीको खपत हुने मौसममा नै खानेपानीको संकट चुलिएपछि उपभोक्तालाई सास्ती भएको छ । खानेपानीका मुहान सुक्दै गएपछि खानेपानीको आपूर्ति सहज नभएको हो । उपत्यकाबासीका धारामा हाल तीन दिनमा एकपटक मात्र पानी आउने गरेको छ । खानेपानीको मुहानहरूमा पानीको स्रोत घट्दै गएपछि ७२ घण्टाको पालो लागू भएको झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । ‘लामो खडेरीका कारण खानेपानीका सबै मुहानहरू सुक्दै गएका छन्,’ संस्थाका कार्यालय प्रमुख डम्मर गौतमले भने, ‘अहिले तीन दिनमा एक पटक धारामा पानी आउने गरेको छ, खडेरी अझै लम्बिएमा पालो कुर्ने अवधि बढ्नसक्छ ।’
उपभोक्ताका धारामा ७२ घण्टामा एकपटक खानेपानी आउने संस्थाले दाबी गरे पनि कुनै ठाउँमा चार दिनमा एकपटक पानी आउने गरेको उपभोक्ताको गुनासो रहेको छ । ‘संस्थाले ७२ घण्टामा एकपटक पानी आउने भने पनि सोही अनुसार वितरण भएको छैन,’ वीरेन्द्रनगर–७ का रामप्रसाद रेग्मीले भने, ‘बजार क्षेत्रमा भनेको समयमा पानी दिन्छन् । तर अन्यक्षेत्रमा चार दिनमा एक पटक पनि पानी आउन मुस्किल हुन्छ ।’ यस्तै उनले एक पटकमा दुई घण्टा पानी छोड्ने भने पनि आधा घण्टाभन्दा बढी नआउने गरेको गुनासो गरेका छन् ।
यता संस्थाले भने तोकिएको समयमा नै धारामा पानी छोड्ने गरिएको दाबी गरेको छ । यस्तै, खडेरीको सिजन भएकोले खानेपानीको आपूर्तिलाई सहज बनाउन अनावश्यक रूपमा पानी प्रयोग नगर्न संस्थाले आग्रह गरेको छ । आकाशबाट पानी नपरेको खण्डमा अझैं पानी आउने समय लम्बिन सक्ने भएकोले खानेपानीको सही प्रयोग गर्न संस्थाले सुझाव दिएको हो । हाल यो आयोजनामार्फत् वीरेन्द्रनगर उपत्यकामा १५ हजार धारामा खानेपानी वितरण भइरहेको छ । पुराना १२ हजार र नयाँ जडान भएका तीन हजार धारामा संस्थाले तीन दिनको एकपटक खानेपानी वितरण गरिरहेको संस्थाका प्रमुख गौतमले जानकारी दिए ।
उनका अनुसार नयाँ धारा थप भएपछि खानेपानीको वितरणमा केही अभाव चुलिएको हो । नयाँ वितरण गरिने चार हजार पाँच सयमध्ये अझैं एक हजार पाँच सय धारा जडान हुने अवस्थामा छन् । तर सबै धारा जडान हुने बेलासम्म खरीखोला र बोरी खोलाको पानी समेत आइसक्ने भएकोले उपभोक्तालाई नआत्तिन गौतमले आग्रह गरेका छन् ।
वीरेन्द्रनगर उपत्यकाको तत्कालको खानेपानी समस्या समाधानको लागि निर्माण भइरहेको खरीखोला र बोरीखोलाको पानी आगामी जेठ महिनाबाटै उपभोक्ताको धारासम्म पुग्ने उनले दाबी गरेका छन् । आयोजनाको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भइसकेको र करैखोला खानेपानी प्रशोधन केन्द्रसम्म ल्याउनको लागि केही दिनको काम मात्र बाँकी रहेकोले जेठबाट ३५ लिटर प्रतिसकेन्ड पानी थप हुने उनको भनाइ छ । ‘पानी प्रशोधन केन्द्रसम्म काम गर्न दुई हप्ताजति लाग्छ होला,’ उनले भने, ‘उक्त काम सकिए लगत्तै प्रशोधन केन्द्रमा खरीबोरी खोलाको पानी झर्ने निश्चित छ ।’ खरीबोरी खोलाको पानी मिसिने वित्तिकै उपत्यकाको हालको खानेपानी समस्या समाधान हुने प्रमुख गौतमले बताए । वीरेन्द्रनगर उपत्यकाबासीको लागि दैनिक एक करोड २७ लाख लिटर खानेपानी माग रहेको छ ।
एक सय लिटर प्रति सेकेण्ड पानी आउनुपर्नेमा चार दिन अघिको तथ्यांकलाई आधार मान्दा हाल दैनिक रूपमा ८६ लिटर प्रतिसेकेण्ड खानेपानी उपलब्ध भइरहेको छ । खरी र बोरी खोलाको ३५ लिटर पानी थप हुँदा उपत्यकाको खानेपानी समस्या केही समयको लागि नै समाधान हुने गौतमले दाबी गरे ।

प्रकाशित मितिः   ७ बैशाख २०७४, बिहीबार १५:२१