अक्सफाल्ट प्लान्ट बन्द गर्ने प्रतिवद्धता
सुर्खेत: वीरेन्द्रनगरको मंगलगढी चोकनजिकै सञ्चालनमा रहेको अक्फाल्ट प्लान्ट एक महिनाभित्रै बन्दै गरिने भएको छ । कुनै बाधाविरोध र रुकावट विना ३० दिनसम्म लगातार काम गर्न पाए त्यसलगत्तै बन्द गर्ने प्रतिवद्धता निर्माण कम्पनीले जनाएको हो । अक्सफाल्ट प्लान्टका कारण उत्पन्न समस्याको पहिचान तथा समाधानका लागि सुर्खेत उद्योग वाणिज्य संघले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियामा निर्माण कम्पनीले यस्तो प्रतिवद्धता जनाएको हो ।
सडक कालोपत्रे बनाउनका लागि आवश्यकपर्ने बिटुमन बनाउने अक्सफाल्ट प्लान्ट व्यस्त सहरको मुख्य केन्द्रमै सञ्चालनमा ल्याउँदा त्यसबाट निसक्ने धुलोधुँवाले प्रदूषण र स्वास्थ्य सम्बन्धित समस्या बढाएको भन्दै चर्को आलोचना हुन थालेपछि संघले समस्या समाधनका लागि पहल थालेको हो । कार्यक्रममा निर्माण व्यवसायी लिलाराज उपाध्यायले अबको दुई महिनामा कालोपत्रेको सम्पूर्ण काम सकिने र त्यसका लागि निर्वाध रूपमा जम्माजम्मी ३० दिन मात्र प्लान्ट सञ्चालन गर्न पाए काम सकिएको भोलिपल्टै प्लान्ट हटाउने प्रतिवद्धता जनाए ।
वीरेन्द्रनगरका वडा नं. १ देखि १४ सम्मका सहायक तथा भित्री सडक निर्माणका लागि आवश्यक पर्ने बिटुमन बनाउनका लागि मंगलगढीमा प्लान्ट सञ्चालनमा ल्याइएको हो । उपत्यका क्षेत्रका ४८ वटा सडकको कूल लम्बाई जम्मा १७ किलोमिटरको कामको ठेक्का रहेको बताउँदै उनले त्यसमध्ये १६ वटाको काम पूरा भएको र ३२ वटा सडकको ७० प्रतिशत काम बाँकी रहेको जानकारी दिए ।
विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्या तथा कतिपय वडामा सडक विस्तारका क्रममा स्थानीयबीच उत्पन्न विवादले पनि निर्धारित समयमा काम सक्न अप्ठेरो भैरहेको उनको जिकिर छ । धुँवा कम गर्नका लागि आफूहरूले अक्सफाल्ट प्लान्टको उत्पादक कम्पनीले दिएको भन्दा तीन वटा चिम्नी थपेर अग्लो बनाएको बताउँदै उनले फेरि चिम्नी थप्दा उत्पादन कम हुने र त्यसबाट निर्माण कार्य झनै सुस्त हुने तर्क गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारले सकेसम्म कम प्रभाव पर्ने गरी छिटो काम सम्पन्न गर्न सुझाव दिए । वीरेन्द्रनगरका पूर्व नगरप्रमुख देवकुमार सुवेदीले गत असारमै कामसक्ने गरी सम्पूर्ण तयारी भएपनि बजेट अभावका कारण बीचमा काम रोकिँदा यस्तो समस्या लम्बिएको उल्लेख गरे । अक्सफाल्ट प्लान्ट सञ्चालनमा आएको ठाउँ नजिकै जोडिएर रहेको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी सहायक निरीक्षक मोहन पन्तले कार्यालय नजिकै रहेको प्लान्टका कारण काम गर्नसमेत अप्ठेरो हुँदै गएको गुनासो गरे ।
प्रकाशित मितिः १२ कार्तिक २०८१, सोमबार ०६:०२
साझा बिसौनी ।