दहालको महत्वाकांक्षी घोषणापत्रः ‘‘काँक्रेविहार–रानीमत्ता केबलकार’

सुर्खेत, ४ वैशाख ।
वीरेन्द्रनगर नगरपालिकाको प्रमुख (मेयर) पदका लागि स्वतन्त्र उम्मेदवार घोषणा गरेका गेहेन्द्रप्रसाद दहालले आफ्नो प्रारम्भिक निर्वाचन घोषणा–पत्र सार्वजनिक गरेका छन् । उनले आफू मेयरमा विजयी भएमा वीरेन्द्रनगरलाई समृद्धि बनाउनको लागि महŒवाकांक्षी योजनाहरू घोषणा–पत्रमा उल्लेख गरेका छन् ।
रफत सञ्चार क्लबले सोमवार वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा दहालले वीरेन्द्रनगर क्षेत्रको पर्यटन, रोजगार, सुशासन, कृषि, भौतिक पूर्वाधार, प्रविधि, सहर व्यवस्थापन, शिक्षा, कला, संस्कृति र खेलकुद, स्वास्थ्य, युवा र रोजगार, सञ्चार र वन वातावरणका क्षेत्रका विकासका लागि बुँदागत योजनाहरू घोषणा–पत्रका समावेश गरेका छन् । उनले कार्यक्रममा घोषणा पत्र प्रस्तुत गर्दै बुलबुले ताल, काँक्रेविहार, देउतीबज्यै मन्दिर र घण्टाघर पार्कलाई पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बनाइने, नगर, जिल्ला, प्रदेश र देश विदेशमा पर्यटक क्षेत्रको प्रचार–प्रसार गरिने, स्थानीय व्यवसायीहरूसँग समन्वय गरी स्तरीय होटल सञ्चालन गर्ने बताए ।
सार्वजनिक–निजी अवधारणा अनुसार बुलबुले तालको संरक्षण र विकास, भेरी नदीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइने, काँक्रेविहारदेखि रानीमत्तासम्म केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने, पर्यटकहरूका लागि राज्यकै लगानीमा होमस्टे सञ्चालन गरिने, अनियमितता र भष्टाचारकोविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने, युवाहरूलाई स्थानीय तहबाटै रोजगारीका अवसर सिर्जना गर्ने, कृषिमा युवालाई प्रोत्साहन गर्नका लागि विना धितो ऋणको व्यवस्था गर्ने लगायतका योजना उनको घोषणापत्रमा छन् ।
त्यसैगरी जडिबुटी प्रशोधन उद्योग सञ्चालनमा ल्याइने, प्रत्येक वडा कार्यालयमा पुग्ने सडकलाई पाँच वर्ष भित्रै कालोपत्रे गरिने, एक वडा एक पार्कको अवधारणालाई व्यवहारमा कार्यान्वयन गरिने, आईटी भिलेज स्थापना, जथाभावी रूपमा वीरेन्द्रनगरमा जग्गा बिक्री तथा वितरणमा कडाइ गरिने, बजारलाई व्यवस्थापन गर्न सडकलाई वान वेको रूपमा प्रयोग गरिने, ‘टोल टोलमा मेयर’ कार्यक्रम अन्तर्गत हरेक साता एक टोल, एक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने उनका कार्यक्रमभित्र छन् ।
साथै प्रदेशस्तरको चिडिया घर सञ्चालन गर्ने, भेरीमा अत्याधुनिक शवदाह गृह निर्माण गर्ने, नगरपालिकाको दीर्घकालीन गुरुयोजना निर्माण गरेर दुई वर्षमा कार्यान्वयनमा ल्याइने, फोहोर व्यवस्थापनको लागि डम्पिङ साइट निर्माण गरिने, कक्षा १२ सम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाइने, प्राविधिक शिक्षालाई विशेष जोड दिने, एउटा टोल, एक सांस्कृतिक केन्द्र स्थापना गरिने, संगीत विद्यालयको स्थापना गरिने, फुटबल रंगशालालाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्नसक्ने बनाउने, अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने क्रिकेट मैदान निर्माण गर्ने, हरेक वडामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिने, वृद्धवृद्धाहरूका लागि छुट्टै अस्पताल सञ्चालनमा ल्याउने, एक घर एक रोजगार नीति कार्यान्वयन गर्ने, नगरपालिकाको एफएम रेडियो स्थापना गरिने, क्रियाशील पत्रकारको निःशुल्क बीमाको व्यवस्था गरिने लगायतका कुरालाई घोषण–पत्रमा समावेश गरिएको छ ।

प्रकाशित मितिः   ५ बैशाख २०७४, मंगलवार १२:२७