डीएसपीविरुद्ध उजुरी दिँदा रेखालाई थप तनाव

सुर्खेत, ३ वैशाख ।
दैलेखमा आफ्नै हाकिमविरुद्ध उजुरी दिँदा महिला प्रहरीले उल्टै तनाव भोग्नु परेको छ । आफूमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरी जवान रेखा कुँवरले डीएसपी केदार रजौरेविरुद्ध उजुरी दिएकी थिइन् । न्यायको आशमा उजुरी दिए पनि घटनाको छानविनका लागि पुगेको समितिले उल्टै हपारेपछि रेखा थप तनावमा परेकी छन् ।
म्यादी प्रहरी छनौटका क्रममा डीएसपी रजौरेले आफूमाथि सार्वजनिक स्थलमा दुव्र्यवहार गरेको भन्दै दुई साता अघि प्रहरी जवान रेखाले कारबाहीको माग गर्दै अञ्चल प्रहरी कार्यालय भेरीमा उजुरी दिएकी थिइन् । घटनाको छानविन गर्न अञ्चल प्रहरी कार्यालयबाट दैलेख पुगेको टोलीले आन्तरिक घटना बाहिर ल्याएको भन्दै हपारेको हो । साथै मिडिया गुहारेको भन्दै समितिले उल्टै आफूलाई कारबाहीकोसमेत धम्की दिएको रेखाले गुनासो गरिन् । न्याय दिने भन्दा पनि छानविन समिति पूर्वाग्रही बनेको उनका सहकर्मीले बताए ।
आफूलाई विना गल्ती डीएसपी रजौरेले चुल्ठो समातेर कुटपिट गरेको रेखाको आरोप छ । विना कारण आफूमाथि सार्वजनिक स्थलमा दुव्र्यवहार गर्ने डीएसपीमाथि कारबाही हुनुको साटो माथिल्लो निकायले नै बचाउन खोजेको उनको दुखेसो छ । इलाका प्रहरी कार्यालय नौमूलेमा दरबन्दी भए पनि रेखा जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् । म्यादी प्रहरी भर्नाको क्रममा निकै भीडभाड भएको र भीड नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आफूमाथि डीएसपीले दुव्र्यवहार गरेको भन्दै उनले न्यायको माग गर्दै उजुरी दिएकी थिइन् । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रलाई समेत उजुरी बोधार्थ पठाएपछि छानविन समिति गठन भएको थियो ।
अञ्चल प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक हरिहर खड्काको नेतृत्वमा तीन सदस्यीय छानविन टोली दैलेख पुगेको थियो । उक्त टोलीले उल्टै आफूलाई हपारेको भन्दै रेखाले भनिन्, ‘न्याय पाउँछु कि भनेर उजुरी दिएकी हुँ, छानविनमा पनि सुस्तता गरिएको छ । मिडियालाई खबर किन गरेको भन्दै हपार्ने काम मात्र भयो, न्याय पाउने भन्दा पनि मैले उल्टै तनाव भोग्नु परेको छ ।’ जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यरत अन्य महिला प्रहरीहरूले समेत छानविन समितिप्रति असन्तुष्टी जनाएका छन् । विभागले नै डीएसपीलाई संरक्षण गर्न खोजेको भन्दै महिला प्रहरीहरूले अब न्याय खोज्ने ठाउँ नै नरहेको पीडा पोखे । छानविन समितिका कारण तल्लोस्तरका जवानले न्याय पाउने आश पनि हराएको उनीहरूको भनाइ छ । डीएसपीविरुद्धको मुद्दामा इन्सपेक्टरलाई छानविन गर्ने जिम्मेवारी दिइएकाले पनि दोषीलाई उम्काउने खेल भएको भन्दै प्रहरीभित्रै असन्तुष्टी बढेको छ ।
तल्लो दर्जाको अधिकृतले आफूभन्दा माथिल्लो हाकिमविरुद्ध तथ्यमा रहेर छानविन गर्न नसक्ने भन्दै उनीहरूले पीडितले न्याय पाउने सम्भावना नरहेको बताए । । ‘यो सिधै पीडकलाई उन्मुक्ति दिने प्रयास हो’ इन्सेक दैलेखका प्रतिनिधि अमर सुनारले भने, तल्लो दर्जाले माथिल्लो दर्जाको स्पष्टीकरण सोध्लान् र, पीडितले न्याय पाउलान् भन्ने कमै विश्वास गर्न सकिन्छ ।’ मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले यो घटनाको सबै अनुसन्धान अञ्चल प्रहरी कार्यालयले गरिरहेको जनाएको छ । अञ्चल प्रहरी कार्यालय भेरीका एसएसपी महेशविक्रम शाहले उजुरीमाथि अनुसन्धान जारी रहेको बताए । उनले भने, ‘अनुसन्धान जारी छ, गल्ती गर्नेले सजाय पाउँछ । हामीले कसैलाई अन्याय हुन दिन्नौं, पीडितले न्याय पाउनुपर्छ ।’ छानविन टोलीको प्रतिवेदन अनुसार नै आफूहरू अगाडि बढ्ने उनले जानकारी दिए ।
संगठनको आन्तरिक विषयलाई बाहिर ल्याएको भन्दै माथिल्लो निकायले उनलाई थप मानसिक तनाव दिइरहेको अन्य सहकर्मी महिला प्रहरीले बताएका छन् । आफूहरू डीएसपीको व्यवहारबाट हैरान भएको भन्दै उनीहरूले यो घटनामा दोषीलाई बचाउन संगठनको माथिल्लो निकायले नै प्रयास गरिरहेको गुनासो गरे । पदीय आचरण विपरित दुव्र्यवहार गर्ने डीएसपीलाई सजाय हुनुपर्ने उनीहरूको माग छ । आरोप लागेका डीएसपी रजौरले भने यो अनावश्यक हल्ला मात्र भएको बताउँदै आएका छन् ।

प्रकाशित मितिः   ४ बैशाख २०७४, सोमबार १५:४६