सुर्खेतमा विद्यार्थी भर्ना अभियानः हातहातमा पुस्तक, नयाँलाई फूलमाला

सुर्खेत, ४ वैशाख ।
सुर्खेतका बालबालिकाले विद्यालयमा भर्ना हुने बित्तिकै सबैले हातहातमा पाठ्यपुस्तक समेत पाउने भएका छन् । भर्ना अभियानलाई प्रभावकारी र सार्थक बनाउनका लागि भर्नासँगै विद्यार्थीलाई पाठ्यपुस्तक समेत उपलब्ध गराइने भएको हो । जिल्ला शिक्षा कार्यालय सुर्खेतको संयोजनमा जिल्ला भरीका सबै सामुदायिक विद्यालयमा आइतवारदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।
भर्ना अभियान पूर्ण रूपमा पढाइ बन्द गरी आठ गतेसम्म सञ्चालन हुनेछ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय क्षेत्रमा ल्याउनका लागि प्रभावकारी रूपमा नयाँ तरिकाले भर्ना अभियानलाई सफल पारिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अभियानभर नयाँ भर्ना हुने आउने विद्यार्थीलाई फूलमालासहित स्वागत गर्ने गरिएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए । बालबलिकालाई विद्यालयप्रति रुचि जगाउनको लागि विद्यालयका शिक्षकहरूले फूलमालासहित स्वागत गर्ने गरेको अधिकारी शाहको भनाइ छ ।
भर्ना अभियान सञ्चालनमा रहे पनि १० गतेदेखि पढाइ पनि सुरु गरिने छ । यसपटकको विद्यालय भर्ना अभियान अन्तर्गत बालबालिकालाई भर्ना मात्र गर्ने नभइ वास्तविक रूपमा विद्यालय बाहिर कति बालबालिका रहेका छन् भन्ने कुराको समेत अध्ययन गरिने शाहले उल्लेख गरे । ‘भर्ना कार्यक्रम अन्तर्गत हामीले विद्यार्थीलाई शिक्षकद्वारा फूलमालासहित स्वागत गर्ने गरेका छौं,’ उनले भने, ‘यति मात्र नभइ विद्यालयभन्दा बाहिर खासमा कति बालबालिका रहेका छन् । उनीहरूको अध्ययन समेत गरिनेछ ।’
बालबालिका विद्यालयमा आउन नसक्नुको कारण पत्ता लगाइ उनीहरूको सहयोगका लागि अर्को अभियान समेत सञ्चालन गरिने तयारी जिल्ला शिक्षा कार्यालयले गरेको छ । वैशाख २५ सम्म पढाइका साथै चल्ने भर्ना अभियानमा अभिभावकहरूलाई पनि सचेत गराइने भएको छ । विद्यालयमा नपठाउनुले बालबालिकाको भविष्यमा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असरका बारेमा जानकारी गराइ विद्यालयमा बालबच्चा पठाउने प्ररित गरिने जिल्ला शिक्षा अधिकारी शाहको भनाइ छ । ‘हामीले शिक्षकहरू परिचालन गरी अभिभावकलाई समेत सचेत गराउने छौं,’ उनले भने, ‘जसले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउनमा सहयोग गर्नेछ ।’
यस्तै, आर्थिक अभावका कारण विद्यालयमा आउन नसकेका बालबालिकाका बारेमा अध्ययन गरी उनीहरूलाई विद्यालयसम्म ल्याउनको लागि सहयोगको व्यवस्थापन समेत गरिनेछ । भर्ना अभियानमा तथ्यांक संकलन गरिसकेपछि जिल्लामा दातृ निकायहरूसँग वैशाख अन्तिम साता बसेर आर्थिक अभावका कारण विद्यालयमा आउन नसकेका बालबालिकाको लागि सहयोग जुटाइने जिल्ला
शिक्षा अधिकारी शाहले जानकारी दिए । गत वर्षको तथ्यांक अनुसार सुर्खेत जिल्लामा एक सय ७१ जना बालबालिका विद्यालयको पहुँचमा आउन सकेका छैनन् । जसमा एकसय जना छात्र र ७१ जना छात्रा रहेका छन् । यसवर्ष उनीहरूको बारेमा अध्ययन गरी विभिन्न प्रोत्साहन प्रदान गरेर भए पनि उनीहरूलाई विद्यालयमा ल्याउने तयारी भइरहेको छ । यस्तै, बालविवाह गरी विद्यालय छोडेका विद्यार्थीहरूको प्रोफाइल बनाएर उनीहरूको पढाइ अगाडि बढाउनको लागि जिशिकाले आवश्यक पहल समेत थाल्ने अधिकारी शाहले बताए ।
जिशिकाको तथ्यांक अनुसार पूर्व प्राथमिक तह (शिशु) कक्षादेखि १२ कक्षासम्म जिल्लामा जम्मा एकलाख १३ हजार तीन सय ११ विद्यार्थी रहेका छन् । सबै विद्यार्थीलाई एकैपटक पाठ्यपुस्तक प्रदानका लागि भर्नाका साथै उपलब्ध गराउने तयारी भइरहेको छ । वैशाख पाँच गते विश्व पाठ्यपुस्तक दिवस समेत परेकोले उक्त अवसरमा पाठ्यपुस्तक वितरण गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । फागुनको महिनामा नै सबै विद्यालयलाई जिशिकाले पाठ्यपुस्तक खरिदको लागि रकम उपलब्ध गराइसकेको थियो । कुनै पनि विद्यालयबाट पुस्तक नपाएको गुनासो नआएको अधिकारी शाहले बताए ।
पुस्तक व्यवसायीहरूले पनि पर्याप्त पुस्तक रहेको जानकारी दिएकोले यसवर्ष विद्यार्थीले पढाइसँगै सबै पाठ्यपुस्तक पाउने उनले जनाए । ‘फागुनको महिनामा नै विद्यालयले पुस्तक किन्नको लागि रकम लगेका छन्,’ उनले भने, ‘वैशाख १० बाट पढाइ सुरु हुन्छ, त्यसैले पुस्तक नपाए विद्यार्थीले कसरी पढ्छन्, सबैलाई भर्नासँगै पुस्तक बाँड्न समेत निर्देशन दिइसकेको छ ।’ कुनै विद्यालयबाट पढाइ अगावै पुस्तक दिँदा च्यातिने डर रहेको बताए पनि विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउन निर्देशन दिएको अधिकारी शाहले जानकारी दिए । भर्ना अभियानभित्रै सबै विद्यार्थीको हात–हातमा पुस्तक पाइनेमा विश्वस्त रहन जिल्ला शिक्षा कार्यालयले आश्वासन दिएको छ ।
निजी विद्यालयले तोकेको शुल्क भन्दा बढी लिएमा कारबाही समेत गर्ने कार्यालयले जनाएको छ । जिल्लामा अधिकांश (घ) श्रेणीका विद्यालयहरू भएकोले उनीहरूका लागि शुल्क तोकिएको बताइको छ । तोकेको शुल्क भन्दा बढी लगेको पाइमा पहिलो पटक चेतावनी दिने र यदि चेतावनीलाई अटेर गरेमा अनुमति रद्द गर्ने सम्मको कारबाही गर्ने जिल्ला शिक्षा अधिकारी शाहले बताए । तर (ग) श्रेणीकोले (घ) भन्दा २५ प्रतिशत बढी, (ग) भन्दा (ख)ले २५ प्रतिशत र (ख) श्रेणीको भन्दा (क) श्रेणीको विद्यालयले २५ प्रतिशत बढी शुल्क लिन पाउने प्रावधान रहेको छ । सेवा सुविधाका आधारमा निजी विद्यालयहरूले अतिरिक्त शुल्क लिन पाउने व्यवस्था रहेको छ ।

प्रकाशित मितिः   ५ बैशाख २०७४, मंगलवार १२:३५