शिक्षण अस्पताल
शिक्षण अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गर्न लागिएको हो । पाँच वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शैय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । तर निर्माणको काम भने अघि बढ्न सकेको थिएन । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अघि नबढेको हो । चालु आर्थिक वर्षबाट अस्पताल निर्माणको काम थालिने भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारले अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेसँगै अस्पताल निर्माणको काम अघि बढाउन लागिएको हो । सरकारले चालु आर्थिक वर्षमा अस्पताल निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको छ ।
यो वर्षदेखि अस्पताल निर्माणको काम सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । केही महिना अघि मात्र नयाँ डिपीआर निर्माण गरिएको छ । डिपीआर अनुसार एक अर्ब ७२ करोड लागत अनुमान रहेको छ । संघीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको अस्पताल निर्माणको योजना यो वर्षदेखि कार्यान्वयनमा जान लागेको हो । डिपीआर संशोधन गरेर तयार पारिएकाले लागत अनुमान पनि बढेको छ । यसअघि बनेको डिपीआर अस्पतालको भवन निर्माणका लागि मात्र तयार पारिएको थियो । उक्त डिपीआरमा भवन निर्माणका लागि ९० करोडको लागत अनुमान छ । नयाँ निर्माण गरिएको डिपीआरमा अस्पतालका लागि निर्माण गरिने सम्पूर्ण संरचनाको लागत अनुमान तयार पारिएको छ । अस्पताल निर्माणका लागि गतवर्ष सरकारले बजेट नै विनियोजन गरेको थिएन । जसले गर्दा निर्माणको काम सुरु हुन सकेको थिएन । यो वर्ष सरकारले बजेट विनियोजन गरेसँगै निर्माणको काम थालिने भएको छ ।
शिक्षण अस्पतालको सेवा १५ शैय्याको अस्पतालबाट सुरु गरिने भएको छ । एक सय शैय्याको अस्पतालका संरचना निर्माण नहुनञ्जेलसम्म १५ शैय्याको अस्पतालबाट सेवा सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । अहिले राकमकर्णाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शैय्याको अस्पताल बनाइँदै छ । अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आठबिस नगरपालिकाले नागरिकलाई स्तरीय सेवा प्रदान गर्नका लागि १५ शैय्याबाट शिक्षण अस्पतालको सेवा सुरु गर्न लागेका हुन् । एक सय शैय्याका अन्य संरचना निर्माण नहुँदासम्म १५ शैय्याबाट सेवा सुरु गर्नेगरी प्रक्रिया अघि बढाइएको छ । प्रतिष्ठानबाट जनशक्ति परिचालन गरेर सेवा दिन लागिएको छ ।
प्रकाशित मितिः ११ कार्तिक २०८१, आईतवार ०६:०३
सम्पादकीय ।