दोस्रो पुस्तक किन फ्लप ? (निबन्ध)

दिनेश गौतम
कुमार नगरकोटीले उनको एक पुस्तकमा लेखेका छन्, ‘प्रायः लेखकले आफ्नो दोस्रो पुस्तकमा किन आत्महत्या गर्छ ?’ आफ्नो प्रश्नको जवाफमा भने उनी आफै मौन छन् । यसको कारण उनका आफ्नै पुस्तकहरू हुन सक्छन्, उनका हरेक पुस्तकहरू ‘एभरेज’ छन् । न ‘हिट’ न ‘फ्लप’, बलिउडमा अक्षयकुमार अभिनित सिनेमा जस्तो ।
पहिलो पुस्तकले अकल्पनीय सफलता हासिल गर्दै गर्दा सोही लेखकले लेखेको दोस्रो पुस्तक ‘सुपर फ्लप’ हुन्छ । भइरहेको नै छ, त्यस्तै र यसबीचमा बजारमा अहिले एउटा पुस्तकको कांग्रेसको महाधिवेशन र नयाँ शक्ति बराबर वा त्योभन्दा बढी चर्चा छ, बुद्धिसागरको ‘फिरफिरे’ । यस पुस्तकका लेखक ‘सुपरहिट’ होलान् ‘कर्नाली ब्लुज’ जस्तै ? प्रश्न अनुत्तरित छ । भर्खर त पुस्तक बजारमा आएको छ, नतिजा हेर्ने बाँकी छ ।
तत्कालीन कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले देश द्वन्द्वकै अवस्थाबाट गुज्रिरहेको बेला सोही विषयलाई मुख्य कथा बनाएर लेखेको पुस्तक ‘पल्पसा क्याफे’ ले नेपाली साहित्यको बजारमा एउटा जागरण ल्याइदियो । आख्यान पनि पाठकहरूको पहिलो र आकर्षक रोजाइ हुन सक्दछन् भन्ने कुरा यस पुस्तकले प्रमाणित गरिदियो र यो पनि थप प्रमाणित गरिदियो कि पत्रकारहरू आख्यानमा आएमा भइ नै रहेका घटनाहरूलाई व्याख्या गर्नमा ‘खप्पिस’ हुन्छन्, जसरी वाग्लेले ‘पल्पसा क्याफे’मा गरेका छन् । आजसम्म ‘पल्पसा क्याफे’ नेपाली, अङ्ग्रेजी, फ्रेन्च र कोरियन भाषामा प्रकाशित भइसकेको छ । अझैं पनि यसको प्रभाव रोकिएको छैन, छ निरन्तर–निरन्तर ।
२०६० सालमा प्रकाशनमा आएको एउटा पुस्तकको यति विघ्न चर्चा भइरहँदा त्यसको तीन चार वर्षपछि निस्केको उनको अर्काे पुस्तक ‘मयुर टाइम्स’ को लगभग शून्य छ । चर्चा हुन्छ त केबल यो पुस्तक किन ‘सुपरफ्ल्प’ भयो भन्ने विषयमा । वाग्ले स्वयम् सक्रिय रहेको क्षेत्र पत्रकारिताको क्षेत्रमा आधारित भइ दुई महिला पत्रकारको कथालाई उपन्यासको रूपमा ल्याएका भए पनि वाग्लेको पुस्तक किन आम पाठक र समीक्षकको नजरमा कमजोर सावित भयो ? किन यो पुस्तक दोस्रो पुस्तकको असफलता कुरा उठ्ने वित्तिकै पहिलो उदाहरण
बन्छ ? आखिर के पुगेन ‘मयुर टाइम्स’ मा जुन पल्पसा क्याफेमा थियो ?
अमर न्यौपानेले ‘पानीको घाम’ लेखेका थिए पहिलोपटक तर यसको त्यति चर्चा भएन । तर जब उनले त्यसपछि बालविधवाको एउटा कथालाई उपन्यासको रूपमा ल्याए, तब बन्यो चर्चित उपन्यास ‘सेतो धर्ती’ । यसको चर्चा त स्वभाविक नै थियो नै, यस पुस्तकले त्यतिबेला चर्चाको शिखर चुम्न सफल भयो जतिबेला यसले नेपालको सबैभन्दा प्रतिष्ठित मानिने मदन पुरस्कार पायो । के भन्न सकिन्छ भने यस पुस्तक पढेका अधिंकाश पाठकहरू पुरस्कार पाएपछि मात्रै पढेका हुन् । पुरस्कार पाएपछि मात्रै यो पुस्तक चर्चित भएको हो ।
त्यसपछि अमर न्यौपानेले ‘करोडौं कस्तुरी’
लेखे । ‘हरेक मानिसमा केही न केही प्रतिभा, क्षमता हुन्छ र त्यसको समयमै उपयोग गर्न सकेमा व्यक्ति सफल बन्न सक्दछ’ भन्ने आशयमा लेखिएको यो पुस्तकले पुस्तक बजारमा आउनुअघि जति चर्चा पाएको थियो, पुस्तक बजारमा आइसकेपछि सबै
हरायो । पुस्तकको चर्चा सेलायो । ‘करोडौं कस्तुरी’को पनि ‘मयुर टाइम्स’को जस्तै अवस्था भो । आफ्नो दोस्रो पुस्तकमा नारायण वाग्ले जस्तै गरी अमर न्यौपाने पनि ‘चिप्लिए’ ।
कर्णालीको कालिकोट र कैलालीको कथा लिएर ‘कर्णाली ब्लुज’ लेखेका बुद्धिसागर सुपरहिट भए, आफ्नो पहिलो पुस्तककै कारण । बुद्धिसागर त्यसपछि चर्चित लेखक भए, युवाहरूको प्रियः लेखक भए । ‘कर्नाली ब्लुज’ हरेकको रोजाइको पुस्तक बन्यो । सबैलाई यही पुस्तक पढ्न सिफारिस गर्न थाले र अहिले पनि यो क्रम जारी नै छ । उनको दोस्रो पुस्तक (लेखक स्वयम्का अनुसार तेस्रो उपन्यास) बजारमा आएको छ, ‘फिरफिरे’ ।
के ‘फिरफिरे’ पनि ‘मयुर टाइम्स’ वा ‘करोडौं कस्तुरी’ कै अवस्थामा पुग्ला ? वा अब दोस्रो पुस्तक पनि सुपरहिट हुन्छ भनेर उदाहरण दिँदा ‘फिरफिरे’को उदाहरण दिन सकिएला ? नतिजा हेर्ने बाँकी छ ।
पहिलो पुस्तक पढिसकेपछि जो सुकै पाठक उक्त लेखकको दोस्रो पुस्तकमा बढी अपेक्षा गर्दछ । तर पहिलो पुस्तक बराबर वा त्यो भन्दा कम प्रभाव पार्न सक्ने गरी दोस्रो पु्स्तक आएमा त्यो दोस्रो पुस्तकप्रति पाठकमा एकदम नकारात्मक धारणा उत्पन्न हुन्छ । मेरो विचारमा यहाँ भएको त्यही हो । ‘मयुर टाइम्स’ र ‘करोडौं कस्तुरी’ले ‘पल्पसा क्याफे’ र ‘सेतो धर्ती’सँग हार्न परेको भन्दा पनि जित्न नसकेका हुन । जित्न सक्नु आवश्यक थियो, सकेनन् ।
र अन्तिममा ‘फिरफिरे’ले अबदेखि पहिलो चर्चित पुस्तकमा टिप्पणी गर्न नपर्ने गरी इतिहास रचोस्, शुभकामना ।
प्रकाशित मितिः   १६ माघ २०७२, शनिबार ११:१६