बहिनीमार्फत् जोडिएको सम्बन्ध

जीवन तब सुखी हुन्छ जब दुःख सुखमा साथ दिने साथी भेटिन्छ । भनिन्छ नि, ‘श्रीमान् श्रीमती एक रथका दुई प्राङग्रा जस्तै हुन् ।’ रथ चल्नको लागि दुई वटै पाङ्ग्रा चाहिन्छ । तर, एक मात्र पाङ्ग्राले रथ चल्न सक्दैन । त्यसैगरी जीवन पूरा गर्नको लागि जीवनको कुनै मोडमा जीवन साथीको आवश्यकता खट्किने गर्छ । यस्तै आवश्यकता रमेशकुमार सापकोटालाई पनि खट्किन थालेको थियो । बहिनी (मामाकी छोरी) की साथीलाई उनले पहिलो भेटमा नै मन पराई सकेका थिए । भेटघाट बहिनी मार्फत् त हुन्थ्यो तर, बोलचाल भने भएको थिएन । 
पिता दुर्गाप्रसाद सापकोटा र माता मनीकला सापकोटाको कोखबाट २०३६ सालमा सुर्खेत साटाखानीमा जन्मिएका रमेश सापकोटाको बाल्यकाल मामा घरमा नै बितेको थियो । कक्षा एकदेखि नै उनी मामाघर करैखोलामा बसेर पढेका थिए । घरबाट विद्यालय जान टाढा भएकाले उनी मामाघरमा बसेर पढेका थिए । उनी कक्षा ६ जन उच्च माविमा पढेका थिए । कक्षा ७ र ८ संस्कृत तथा साधारण उच्च माविमा पढाइ गदागर्दै उनी दाङ तुल्सीपुरमा मितेरी मामाघरमा बसेर आफ्नो पढाइ अगाडि बढाएका थिए । उनले भने, ‘मेरो एसएलसी परीक्षा दिनको लािग सुर्खेतमा वातावरण नमिलेपछि म दाङ मामाघरमा बसेर एसएलसी दिएको थिएँ ।’ 
उनी बाल्यकालमा अलि चकचके स्वभावका थिए । अरु भन्दा अलि बढी नै बोल्ने उनको बानी थियो । उनले भने, ‘म बाल्यकालमा अलि बढी नै बोल्ने गर्थें ।’ केही नयाँ कुरा सिक्न र बुझ्नको लागि उनी सानै देखि अघि नै थिए । मनमा कुरा राख्ने उनको स्वभाव भने थिएन । साथीहरूसँग उनी खुवै मिलनसार थिए । 
उनी भर्खर एसएलसी दिएर बसेका थिए । उनको ठूलोबाबाको गाडी भएका कारण उनी खाली समयलाई सदुपयोग गर्नको लािग गाडीमा लागे । उनलाई थाहा थिएन कि समयको सदुपयोगको लागि रोजेको काम नै भविष्यको लागि अघि बढ्ने बाटो हो । उनले भने, ‘एसएलसी दिएपछिको तीन महिनाको समयलाई सदुपयोग गर्दा गर्दै भविष्यको अघि बढ्ने बाटो नै बनिदियो ।’ उनले भविष्यमा गाडीमा नै लाग्छु भन्ने सोच बनाएका थिएनन् । उनको सपना त धेरै पढेर आर्मी वा प्रहरीमा जागिर खाने थियो । तर, जीवनको गोरेटोमा मान्छे हिँड्दै जाँदा बाटो कता मोडिदिन्छ कसैलाई थाहा हुँदैन । सापकोटालाई पनि आफ्नो भविष्यको बारेमा केही थाहा थिएन । उनको सपना एकातिर थियो अनि काम अर्काेतिर तर, सोचेको जस्तो सबै कुरा पूरा हुँदैन । जिन्दगीको बाटो कता मोडिन्छ त्यो समयले बताउने गर्छ । जुन सापकोटाको जीवनको बाटो पनि अन्तैतिर मोडिएको थियो । 
ठूलोबुबाको गाडीमा काम गर्दा गर्दै उनको ध्यान पनि गाडीमा नै गयो । विस्तारै उनले आफ्नो भविष्य नै गाडीमा देखेर मेहेनतका साथ लागे । गाडीमा काम गदा गर्दै उनी आज एउटा जिम्मेवारी पदमा बसेर काम गर्ने मौका समेत पाएका छन् । काँक्रेविहार यातायात व्यवसायी संघको सचिव पदमा रहेर उनले काम गरिरहेका छन् । जुन काममा लाग्यो मान्छे त्यो काममा मेहेनत र लगनशील भएर लाग्यो भने मेहेनतको फल पनि मिठो नै पाइन्छ भन्ने उदाहरण सापकोटा बनेका 
छन् । 
उनी दाङमा बसेर पढ्दा पढ्दै कसैलाई मन पराएका थिए । मन पराए पनि आफ्नो मनको कुरा राख्न उनलाई असहज भएको थियो । उनले मन पराएको केटी अरु कोही नभएर उनको मामाको छोरीको साथी सुनिता थिइन् । एक दिन उनले आफूमा हिम्मत जुटाएर सुनितालाई प्रेम प्रस्ताव राखे तर, सुनिताले स्वीकार गरिनन् । उनले साथीको दाइ भए पनि राम्रोसँग नचिनेर कसरी प्रेम प्रस्ताव स्वीकार गर्नु भन्ने ठानेर नै होला उनले सापकोटाको प्रेम प्रस्ताव अस्वीकार गरिन् । तर, सापकोटाले भने हार मानेनन् । सापकोटाको एकोहोरो प्रयास आखिरमा सफल भएर नै छाड्यो । धेरै समयपछि सुनिताले उनको प्रेम प्रस्ताव स्वीकार गरिन् । उनीहरूको प्रेम राम्रोसँग झागिन नपाउँदै सापकोटाले घरमा विहेको कुरा चलाए । आमाको साथमा उनी सुनिताको हात माग्न दाङ गए । एकअर्काेको प्रेमलाई उनीहरूले विहेमा परिणत गर्ने निर्णयअनुसार परिवारको सहमतिमा उनीहरूको २०६६ साल मंसिर १० गते मागी विवाह भयो । एकअर्काेमा प्रेम भए पनि उनीहरूले परिवारको सल्लाहमा नै मागी विवाह गरेका थिए । 
विवाह पछिका दिनमा सुनिता सुर्खेत आइन् । पिता बुद्धिराम उपाध्याय र माता सूर्यकुमारी उपाध्यायको कोखबाट २०३८ सालमा दाङमा जन्मिएकी सुनिता बाल्यकालमा शान्त स्वभावकी थिइन् । साथीसंगीसँग मिलनसार स्वभाव उनको 
थियो । उनले एसएलसी सम्मको पढाइ चरकमटिया दाङबाट पूरा गरेकी थिइन् । उच्च शिक्षा पढ्नको लागि सल्यान बसेर उनले स्नातकसम्मको पढाइ पूरा गरेकी थिइन् । भौगोलिक हिसाबमा हेर्ने हो भने सुर्खेत र दाङ उस्तै–उस्तै छ । तर, दुवै जिल्ल्लाको रहन सहन, रीतिरिवाज, संस्कार भने फरक फरक नै छ । सुनितालाई विवाह पछिका दिनमा सुर्खेतको माहोलमा र घरपरिवारसँग घुलमिल हुन धेरै समय लागेन । एउटा छोरी भइसकेपछि माइतीमा बस्दा र बुहारी हुँदाको अनुभव सुनाउँदै सुनिताले भनिन्, ‘छोरी हुनुमा र बुहारी हुनुमा आकाश पातलको फरक छ ।’ छोरी हुँदा माइतीमा बाबुआमाको माया ममतामा हुर्किन र आफूलाई लागेको कुरा गर्न पाइने, जान मन लागेको ठाउँमा जान पाइने, तर बुहारी भइसकेपछि सबै कुरा फरक हुन्छ । कुनै पनि काम गर्दा श्रीमान् तथा घरपरिवारको सल्लाह लिनुपर्ने, बाहिर कतै जानुपर्दा सोध्नुपर्ने जान नदिए जान्छु भनेर कर गर्न नमिल्ने, घरपरिवारको मन जित्नु पर्ने, सबैसँग सम्बन्ध राम्रो बनाउनुपर्ने जस्ता चुनौतीहरूलाई पार गर्नुपर्छ हरेक छोरीहरूले । सुनिताले पनि यस्तै अनुभव पाइन् छोरी हुनमा र बुहारी हुनुमा । उनले भनिन्, ‘छोरी भएर बाबुआमाको माया ममतामा बसेको मान्छे बुहारी भएर अर्काेको घर, मान्छे सबैलाई आफ्नो बनाउन गाह्रो नै हुन्छ ।’ विवाहपछिका दिनमा सबै–सबै छोरीलाई बुझेका घरहरू परिवारका मिल्छन् र सुनितालाई जस्तो । सुनितालाई बुझ्ने र सबैले माया गर्ने घरपरिवार मिलेकै कारण उनी छोटो समयमा नै घरपरिवारसँग नजिक हुन सकिन् । 
विवाह पछि यो जोडीबीचमा केही समय भने खटपट नै भइरह्यो । उनीहरू भन्छन्, ‘केही समय अगाडिसम्म हामी बीचमा अलि बढी नै झगडा हुने गथ्र्यो, तर पछिल्लो समय भने झगडा भएको छैन ।’ हुन त श्रीमान् श्रीमती भएपछि सामान्य रूपमा झगडा हुनु स्वभाविकै पनि हो । सुनिता कहिले काहीं अलि बढी नै रिसाउँछिन् । हुन पनि घरदेखि साथमा रहेका एक छोरा एक छोरीको हेरचाह  सबै सुनिताले नै गर्नुपर्ने भएकाले होला अलि बढी नै रिसाउने । सापकोटा बिहानदेखि साँझसम्म कार्यालयकै काममा व्यस्त हुने गर्छन् । घरमा सघाउने उनलाई फुर्सद नै हुँदैन । एकआपसको झगडालाई ठूलो रूप भने बनाउनु हुँदैन । कहिले काहीं सानो आगोको झिल्कोले पूरा गाउँ सखाप पारे जस्तै कहिले काहींको सानो झगडाका कारण पूरै परिवारको सम्बन्ध नै सकिन सक्छ । त्यसैले जोडीको झगडालाई ठूलो रूप बनाउन नहुने यो जोडीको भनाइ छ । एकआपसमा जति नै झगडा गरे पनि आखिरमा श्रीमान् श्रीमती भनेका एक रथका दुई पाङ्ग्रा हुन् भनेझैं यो जोडी पनि एकअर्काेको प्रशंसा खुवै गर्छन् । सुनितालाई सापकोटाको आफू जति रिसाए पनि नरिसाउने बानी मन पर्ने गर्छ । सापकोटालाई भनेको काम र आवश्यकता परेको चिज जुनसुकै समयमा पनि ल्याइदिने सुनिताको बानी मन पर्ने गर्छ । त्यस्तै सापकोटालाई सुनिताको आफूले भनेको मान्ने बानी मनपर्ने गर्छ । उनले भने, ‘म धेरै बाहिरको काममा व्यस्त हुने गर्छु, घरमा चाहेर पनि सघाउन पाउँदिन धेरै दिनसम्म पनि बाहिर बस्नुपर्ने हुन्छ यस्तो अवस्थामा पनि मलाई र मेरो कामलाई बुझ्छिन् त्यही बानी मन पर्ने गर्छ ।’ 
यो जोडीका अनुसार दाम्पत्य जीवन सफल हुनको लागि एकअर्काेमा विश्वास हुन जरुरी छ । उनीहरू भन्छन्, ‘जब एकअर्काेमा विश्वास हुँदैन तब सम्बन्ध पनि दिगो हुन सक्दैन ।’ एकअर्काेबीचमा विश्वास सँगसँगै एकअर्काेको भावनाको कदर र सम्मान पनि गर्न जान्नु पर्दछ । तब मात्र दाम्पत्य जीवनलाई सफल र दिगोपना दिन 
सकिन्छ । उनीहरूका अनुसार विवाह र प्रेम उस्तै–उस्तै हुन् । प्रेमविना विवाह सम्भव छैन र विवाह विनाको प्रेमको पनि अतित्व रहदैन त्यसैले विवाह र प्रेम एकअर्काेको परिपूरक जस्तै हुन् । उनीहरू नवविवाहित जोडीलाई पहिला एकअर्काेबीचमा विश्वास कायम गर्न आग्रह गर्छन् ।
प्रकाशित मितिः   १६ माघ २०७२, शनिबार ११:२६